लाल थापा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यत्तिकै सानो दुःखले बनेको पार्टी होइन । झण्डै ७ दशक लामो इतिहास, विभिन्न खालका आन्दोलन, तिनका तितामिठा अनुभव, लाखौंलाख कार्यकर्ताको त्याग, संघर्ष र बलिदान अनि सामुहिक नेतृत्वको साझा पहल र प्रयत्नको समष्टी नै आजको नेकपा हो । नेकपाले सिंगो मुलुकको नेतृत्व गरेको मात्र छैन, विश्वभरका कम्युनिष्ट पार्टीका लागि प्रेरणा समेत बनेको छ । हामीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकता पछि नेकपा बनायौं । पार्टी एकतालाई श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक र २००७ सालदेखि सुरू भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो भन्यौं । नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिवद्धता र राष्ट्र पुर्ननिर्माण गर्ने संकल्पको द्योतकको रूपमा एकतालाई अथ्र्यायौं । सुरूमा हामी उत्साहित पनि भयौं, अहिले पार्टीमा केही समस्याहरू निश्चितै रूपमा देखा परेका छन्,जसले त्यत्तिकै घोर निराशा छाएको पनि छ ।
घटना, जीवनजगत र विषयबस्तुलाई बुझ्ने सन्दर्भमा हामी भौतिकवादी र द्वन्द्ववादी हुनु पर्छ । विचार, पार्टी, नेतृत्वलाई पनि गति मै बुझ्नुपर्छ । सन्दर्भ, विषयवस्तु र परिस्थितिमा आएका बदलावसँगै हाम्रो विचार र दृष्टिकोणलाई परिष्कृत गर्नु पर्छ । नेतृत्वलाई कि त सर्वकालिक र सर्वमान्य ठान्ने कि त सदा अवज्ञा गरिरहने, घटना र परिस्थिति बदलिरहने तर हाम्रा हेराई उहीँ र उस्तै रहिरहने हुँदा हामीले आजको स्थितिलाई सही रूपमा बुझ्न, ग्रहण गर्न सक्दैनौं । आज भिन्न प्रकारले देखा परेका समस्याको सामना गर्न विगतका सबै खाले आग्रह र पूर्वाग्रहबाट माथि उठेर भिन्न प्रकारले नै सोच्न सक्नु पर्छ ।
केही भने जस्तो हुँदा मात्ति हाल्ने र छलफल विवाद हुँदा साथ आत्ति हाल्ने खालको स्थिति पार्टी भित्र हुनु हँुदैन । तर, छलफललाई कता केन्द्रित गर्ने भन्ने सवाल महत्वपूर्ण हो । छलफल कति स्वस्थकर छ भन्ने हो । छलफलको केन्द्र भागमा पार्टी निर्माणका प्रश्नहरू छन् कि व्यक्तिगत टिका टिप्पणीका विषयहरू छन् भन्ने हो । कस्तो कम्युनिष्ट पार्टी बनाउने, कुन विधि र पद्धतिमा रहेर पार्टी सञ्चालन गर्दा जनमानसमा पार्टीको सान र गरिमा बढ्छ भनेर छलफल गर्दा ठीक ठाउँमा पुगिन्छ ।
तर, नेताका अनुहार हेरेर कसैलाई बोक्ने र कसैलाई ठोक्ने खालको उदण्ड, उश्छृखल खालका विवादमा अल्झिरहने हो भने त्यसले न पार्टी न कुनै नेता, कसैको भलो गर्दैन । हाम्रो आफ्ना बैचारिक प्रस्तावना छन्, राजनैतिक उद्देश्यहरू छन्, मार्गदर्शक सिद्धान्त छ, तिनका आलोकमा आजको पार्टीलाई हेरौं । हामीले खोजेको कम्युनिष्ट पार्टी कस्तो हो, कस्तो छ र कस्तो बनाउनु पर्छ भनेर छलफल गरौं । कस्तो नेता, कस्तो कार्यकर्ता र कस्तो संगठन भएको पार्टीले समाजवादको यात्रामा सही नेतृत्व गर्न सक्छ भनेर घनिभूत संवाद गरौं । कम्युनिष्ट सरकारका गति र मतिबारे बहस गरौं ।
र अब कसरी अगाडि बढ्ने हो ? सही निष्कर्ष निकालौं । तब यही बहस भनौं या विवाद विचार, योजना र कार्यक्रमले सुसज्जित पार्टी निर्माणका लागि कोशेढुङ्गा सावित हुन सक्छ । अन्यथा पार्टीको कार्यकर्ता कम, नेताविशेषको भक्त बढी हुने, पार्टीलाई नचिन्ने गुटको भरिया भएर तथानाम विवाद गर्दै जाने हो भने पार्टीलाई अन्तर्ध्वंश तर्फ लैजान सक्छ । छलफल गर्दा विवाद हुन्छ यसर्थ सबै चुपचाप बसौं भन्ने मान्यता बोकिरहने हो भने पनि पार्टीलाई जीवन्त र निरन्तर अद्यावधिक गर्न सकिँदैन, त्यस्तो पार्टी झनै भित्र भित्र कुहेको वाहिरबाट हेर्दा मात्रै राम्रो देखिने हुन्छ ।
निश्चय नै यतिवेला पार्टी जीवनमा थुप्रै समस्या देखा परेका छन्, कमिटी प्रणालीलाई बलियो गरि स्थापित गर्न सकिएको छैन, संस्थागत मूल्य मान्यता कमजोर भएका छन्, सामूहिक जीवनपद्धतिलाई व्यक्तिवादिताले विस्थापन गर्न खोजिरहेको छ । आम रूपमा नेता, कार्यकर्ता पंक्तिमा सिर्जनशीलता मर्दैछ । आलोचनात्मक चेतना कमजोर हुँदैछ । सत्ताको सहवासमा तत्कालका लाभलाई ठूलो देख्ने तर हामी आफैले किटान गरेको लक्ष्य, उद्देश्यका प्रति बेखबर रहने, आफ्ना जिम्मेवारीमा खरो उत्रिन थोरै पनि पहल नलिने तर नेता र नेतृत्वलाई व्यक्तिगत रूपमा निन्दा गर्न जति पनि जाँगर चलाउने प्रवृत्ति धेरै हानिकारक छ । पार्टी चाहिने भनेको सरकारमा पुग्नको लागि हो, सरकारमा पुग्ने भनेको शासन गर्नका लागि हो, शासन गर्ने भनेको मन पर्नेहरूको स्वार्थको रक्षा गर्दै मन नपर्ने कार्यकर्ताको शोषण गरिरहने हो भने जस्तो स्थिति आम रूपमा देखा पर्दैछ । नेता र कार्यकर्ताहरूको विचमा निम्नपुँजीवादी शैली हावी हुँदैछ । कम्युनिष्ट आचरण र क्रान्तिकारी नैतिकतामाथि प्रश्नहरू उब्जिएका छन्, पार्टीमा असल कार्यकर्ता उत्पादन गर्न सकिएको छैन । राजनैतिक भावनाले प्रेरित असल कार्यकर्ता बन्नमा भन्दा नेता विशेषको व्यक्तिगत मान्छे बन्नमा होडवाजी छ । पार्टी बन्दैछ कि भत्कदैछ भन्नेमा चिन्तन गर्नु भन्दा नेताको फेरो समाएर नगरा या दुन्दुभि बजाउनमा रमाइलो मान्ने प्रवृति देखा पर्दैछ । यी लक्षणहरू देखा पर्नु पार्टी माथि संकटहरू मडारिदैछन् भन्ने हो । यस खालका विकारहरूको निर्मम समिक्षा गर्दै सही उपचार खोज्नु पर्छ ।
छलफल पनि विधिसम्मत सञ्चालन गर्नुपर्छ । हाम्रा लोकतान्त्रिक अभ्यास र संरचनाहरू कमजोर हुँदा छलफल र बहसहरू बैठक, भेला, अन्तरक्रियामा होइन । सामाजिक सञ्जालमा छताछुल्ल पोखिएका छन् । पार्टी नेताका विशेषः हितालु हुन चाहेका तर राजनैतिक वैचारिक रूपमा पार्टीमा आबद्ध नभएका नेताका कार्यकर्ता पंक्तिको पल्टन तयार गरेर अभद्र वाकयुद्ध गरेकै छन् । नेता कहलिएकाहरूले पनि आफ्ना सिमा र मर्यादा विर्सिएर शब्दवाणहरू प्रहार गरिरहेका छन् । यसरी हेर्दा पार्टीको विवादले महासंकट निम्त्याएको हो कि भन्ने देखिन्छ । तर, हामी यस अर्थमा आशावादी छौं कि यो पार्टीमा बहुसख्यक असल कार्यकर्ता छन्, जसले नेताका लाभहानीका लागि गृहयुद्ध गर्दैनन् । बरू पार्टीका रक्षा र विकासका लागि सचेत पहल लिन सक्छन् । उनीहरूकै सचेत पहलकदमीमा पार्टी विकसित हुँदै अघि बढ्नेछ । विवाद हुँदैमा पार्टी फुट्छ भन्ने कुरा हौवा मात्रै हो । पार्टी फुट्दैन भन्नेमा हामी सतप्रतिशत ढुक्क छौं, कदमकदाचित फुटेछ भने पनि कुनै राजनैतिक औचित्य विना नेताको चित्त नपरेर हुने फुटमा कोही असल कार्यकर्ता बन्धित हुने छैनन् ।
पार्टी भित्र छलफल, वादविवाद र संवाद हुनुलाई पार्टी निर्माणको गतिशिलतामा बुझ्ने हो भने स्वभाविकै मान्नु पर्छ । पार्टीभित्र एकआपसमा माझिन, कमीकमजोरीलाई चिन्न र नयाँ संभावनालाई पहिचान गर्न सामुहिक विवेक र चेतनाबाट हुने बहस, छलफल अपरिहार्य हुन्छ । समाजवाद उन्मुख यात्रालाई अगुवाई गर्ने हाम्रो जस्तो सत्तासिन कम्युनिष्ट पार्टीका लागि त यस्ता छलफल र बहसले झनै ठूलो अर्थ लाग्छ । बौद्धिक छलफल, विमर्श मार्फत पार्टी पंक्तिलाई आस्था र निष्ठाले अभिप्रेरित गर्दै हाम्रा उद्देश्यमा केन्द्रित गरिरहन सकिएन भने त्यहाँ पार्टीको आत्मालाई बचाउन निकै कष्ट साध्य हुन्छ । पार्टीको एकतामा पछि जनतामा सिर्जित उभारलाई संगठित गर्नुपर्नेमा यति लामो समयसम्म पार्टीलाई निस्कृय राख्नु भनेको कुनै अर्थमा क्षम्य हुन सक्दैन । त्यसको निर्मम समिक्षा गर्नुपर्छ । हामी सिंगो मुलुकलाई नयाँ दिशामा परिलक्षित गर्न सक्ने, सरकारलाई ठीक ढंगले दिशानिर्देश गर्न सक्ने बलियो, सामथ्र्यवान र सुसंगठित पार्टीको परिकल्पना गरिरहेका छौं ।
तर,पार्टीलाई निरन्तर निरिह र लाचार छायाँ बनाइएको छ । पार्टीलाई सरकार र पार्टीका नेतृत्वका शक्ति सामु कमजोर सावित गरेर कम्युनिष्ट पार्टी बनाउन सकिँदैन । हाम्रो पार्टी भित्र देखा परेका बहसहरू कुन नेता रोज्ने, कसलाई फाल्ने र ल्याउनेमा होइन, कसले कुन पद प्राप्ति गर्ने भन्ने पनि होइन । यो राजनैतिक र वैचारिक सवाल नै हो । पदीय भागवण्डाको रूपमा या नेताका निजी झैझगडाका रूपमा बुझ्ने या बुझाउन खोज्ने शिलशिलाले छलफललाई अत्यन्तै अस्वस्थ बनाइरहेको छ । पार्टी र सरकारको सम्बन्धलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्छ । पार्टीको सर्वोच्चता र सरकारको श्रेष्ठतालाई स्थापित गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न सकिन्छ । पार्टीभित्र देखा परेका सबै खालका विसंगतिको निर्मम समिक्षा हुनुपर्छ र निदान खोजिनुपर्छ । पार्टीलाई विचार, विधि, पद्धतिको जगमा नै एकताबद्ध गर्नुपर्छ । योगदानका आधारमा कार्यकताको मुल्यांकन र योग्यताका आधारमा जिम्मेवारीको परिपाटीलाई संस्थागत गर्नुपर्छ । कार्यकर्ताको बीचमा नेताका ढोके, पाले बनेर पुरस्कृत हुने होइन, पार्टीमा गरेको कामका आधारमा सम्मानित भइन्छ भन्ने मान्यतालाई पुनःपुष्टि गर्नु पर्छ । यो भद्धा पुँजिवादको दुश्चक्रबाट कसरी बाहिर निस्केर समाजवादको तयारी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ । यस प्रकारका विषय राजनैतिक र वैचारिक मुद्धा नै हुन् । यसर्थ पार्टी एकतालाई अक्षुण्ण राख्न, भावनात्मक एकतालाई बलियो बनाउन, परिवर्तनका कार्यसूचि र क्रान्तिकारी भावनाबाट पार्टीलाई निर्देशित गर्दै पार्टीलाई नयाँ उचाईबाट सुसंगठित,सुव्यवस्थित र सुदृढ गर्न यी छलफल र बहसले सकारात्मक योगदान पु¥याउने छन् ।