एचआईभी, असुरक्षा र अबको बाटो

सम्पादकीय
विश्व एड्स दिवस, कोरोना कहरका बीच मंगलबार मनाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना सहित सिमित संख्या र सचेतनामूलक सन्देश प्रवाह गर्ने गरी यसपटक दिवस मनाइयो । सार्वजनिक स्थल, सडकमा न त पहिले जस्तो ¥याली भयो, न त कुनै समारोह । हुन त विगतमा मनाइने गरिएको दिवसका बारेमा पनि अनेकौं टीका टिप्पणी हुन्थे । दिवस केवल औपचारिकतामा सिमित भएका अनगिन्ती गुनासा र आलोचना आउँथे । केही कार्यक्रम नगरे पनि केही गरेन भन्ने र केही गरे पनि फेरी औपचारिकतामा सिमित भयो भन्ने आलोचनाबाट आयोजक आजित थिए । यद्यपी, केही नहुनु भन्दा सचेतना, सन्देशका हिसावले केही हुनु सकरात्मक कुरा हो । अहिले कोरोना भयावहका बीच पनि बागलुङ लगायतका बिभिन्न स्थानमा विश्व एड्स दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम भएका छन् ।

एचआईभी एड्स कुनै बेला निकै भयावहको रोग थियो । यो रोग भने पछि मानिसहरु तर्सिन्थे । यो रोग लागेकालाई सामाजिक बहिष्कारदेखि गाउँ निकाला सम्मका घटनाहरु भए । जसका कारण एचआईभी संक्रमित भएकाहरु समाजमा रोग लुकाएर बाँच्न बिबश भए । जसका कारण आजको दिन सम्म पनि सहज रुपमा खुल्न सकेका छैनन् । नेपालमा हाल सम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको अनुमान छ । १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर छन् । सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआईभी संक्रमितको मृत्यु भएको तथ्यांक छ । ३० जना एचआईभी संक्रमित त कोरोना भाइरसबाट संक्रमित भएका छन् । बागलुङमा खुलेर आएका संक्रमित संख्या ४ सय ७ पुगेका छन् । जसमध्ये १ सय ६४ जनाले धौलागिरी अस्पतालको एआरटी सेन्टरबाट नियमित औषधी सेवन गरिरहेका छन् । अन्यले पर्वत र म्याग्दीबाट सेवा लिइरहेका छन् ।

एचआईभी संक्रमित भएकाहरु पनि रोग जितेर समाजमा उदाहरणीय काम गरिरहेका छन् । उनीहरु अरु स्वस्थ व्यक्ति जस्तै अनुकरणीय जीवन बाँचिरहेका छन् । जसले गर्दा संक्रमितहरु क्रमशः खुल्ने क्रम बढ्दो छ । धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर र यसका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संंस्थाबीचको प्रभावकारी समन्वय तथा सचेतनामूलक कार्यक्रम पश्चात अहिले एचआईभी संक्रमित खुल्ने र उनीहरुलाई परामर्श, परीक्षण,औषधी उपचार प्रदान गर्न थाले पछि यो क्रम बढेको छ । एचआईभी संक्रमणको कारण ८० प्रतिशत भन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमित भएको अध्ययनले देखाएको छ । सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने बारे सरकार बेखबर छ । ती संक्रमितले समेत कति रोग फैलाए ? र अब कति फैलाउने हुन् ? यो पाटो सरकार र सरोकारवाला गम्भीर देखिएको छैन । अब समाजले एचआईभी संक्रमितहरुलाई घृणा र अपमान होइन । माया र सद्भाव दर्शाएर खुल्ने बातावरण बनाउनु पर्छ । सरकारले यसका लागि आवश्यक पहल र भुमिका निर्वाह गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *