कोरोना रोकथाममा जनप्रतिनिधि: जो सेवामै संक्रमित बने

सिर्जना पन्त, बागलुङ

सामान्यतः वडा सदस्यको भुमिकालाई नेपाली समाजमा गौण ठानिन्छ । तर, वडा सदस्यले आफ्नो भुमिका स्थापित गर्न सके चौतर्फी वाहवाही कमाउने अवसर पनि हुँदोरहेछ । यसको एक उदाहरण हुन् बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सुर्य लामिछाने ।

कोरोना भाइरस (कोभिड–१९) को गत वर्ष चैत्र दोस्रो सातादेखि भयावह सुरु भयो । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि देश लकडाउन घोषणा ग¥यो । विश्वभर महामारीको रुप लिएको कोरोना रोक्न सरकारले लकडाउन घोषणा गर्दा बागलुङ जिल्लामा जम्मा दुई जना मात्र कोरोना संक्रमित थिए ।

नेपालमा राजधानी बाहिर चैत्र १४ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत ३४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यस लगत्तै चैत्र १५ गते नेपालको पाँचौ कोरोना संक्रमितको रुपमा बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टी भयो ।

चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमानमा नेपाल आएकी कोरोना संक्रमित युवतीको कन्ट्याक्ट ट्रेसिङमा परेपछि चैत ११ गते धौलागिरी अस्पताल बागलुङमा स्वाब संकलन गरिएको थियो । उनीसँगै बेल्जियमबाट बागलुङ सम्म सँगै आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्ध नेपालको छैठौं कोरोना संक्रमणको शिकार भइन् । उनलाई चैत्र १७ गते कोरोना संक्रमण पुष्टी भएको थियो । यस बखत बागलुङ नाम धेरैका लागि आतंक र भयावहको बिषय बन्यो ।

विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसका संक्रमित बागलुङ जिल्लामै भेटिए पछि संक्रमितलाई आइसोलेसन सम्म ल्याउन र उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न सरकार र सरोकारवालालाई हम्मे हम्मे प¥यो ।

सरकारले लकडाउन घोषणा गरे सँगै जिल्लाका स्थानीय तहले क्वारेन्टिन निर्माणलाई तिव्रता दिए । वैदेशिक रोजगारीबाट फर्किएका, लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थान तथा भारतबाट पैदल यात्रा गरेर जिल्ला भित्रिएकालाई राखेर स्वाब संकलन गर्न बागलुङ नगरपालिकाले जिल्लामै पहिलो पटक रामरेखा आधारभुत विद्यालयमा २० शैयाको क्वारेन्टिन निर्माण ग¥यो ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राखेर कोरोना परीक्षण गर्नुपर्ने भए पछि जिल्लाका १० स्थानीय तहमा १ सय ६६ वेडको क्वारेन्टिन निर्माण गरियो । क्वारेन्टिन निर्माण गरेपनि व्यवस्थापन भने स्थानीय तहलाई निकै चुनौती पूर्ण बन्यो ।

सेना, प्रहरी र स्थानीयको सहकार्यमा क्वारेन्टिनमा रहेकाहरुलाई खाना खुवाउने प्रबन्ध मिलाएको भए पनि दिन प्रतिदिन गुनासो बढ्न थाल्यो । जिल्लाका अन्य स्थानीय तहका नागरिक, बागलुङ हुँदै देशका अन्य जिल्लामा जाने नागरिकहरु समेत बागलुङ बजारमा अलपत्र पर्न थालेपछि बागलुङ नगरपालिकालाई चुनौती थपियो ।

क्वारेन्टिनमा बसेकाहरुको दिन प्रतिदिन बढिरहेको गुनासो र जिल्ला भित्रिनेहरुको व्यवस्थापनमा तिव्र समस्या देखिन थालेपछि बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य समेत रहेका ३८ वर्षीय सुर्य लामिछाने मानवीय र सामाजिक दायित्व सम्झेर अग्रसर हुनुभयो ।

जनप्रतिनिधिको नाताले हरेक दिन क्वारेन्टिनमा बसेकाहरुको अवस्था बुझन जाने गरेका लामिछाने क्वारेन्टिनमा रहेकाहरुले समयमा खाना, खाजा र पानी नपाएको, शौचालय सरसफाई सम्बन्धी दिन प्रतिदिन गुनासो गर्न थालेपछि त्यसको व्यवस्थापनमा अहोरात्र खटेर काम गर्नुभयो । ‘क्वारेन्टिन भने पछि डराउने अवस्था बिद्यमान थियो तर, मैले अन्य ३ जना साथीहरुको सहयोग लिएर खाना बनाउने र खुवाउने काम ग¥यौ,’ लामिछाने भन्नुहुन्छ ‘धेरैमा ७७ देखि थोरैमा ५ जना सम्मलाई खाना खुवायौ ।’

कोरोना संक्रमणको उच्च जोखिममा भएकाहरुसँग रहेर काम गर्न लामिछानेलाई बागलुङ नगरपालिकाको कार्यालय र वडा कार्यालयले बिशेष जिम्मेवारी दिएका भने होइनन् । क्वारेन्टिनमा चुस्त व्यवस्थापन नदेखिए पछि लामिछानेले सामाजिक दुरी कायम गर्दै संक्रमणको उच्च जोखिममा भएकाहरुको सेवा गर्नु जिम्मेवारी ठानेर आफै काम गर्नुभएको हो ।

जिल्लाको जैमिनी, गलकोट, ढोरपाटन पुग्नुपर्ने मात्र होइन । रुकुमको लागि पैदल यात्रा गर्दै बागलुङमा अलपत्र परेकाहरुलाई मध्यरात सम्म पनि उद्धार गरेर क्वारेन्टिनमा व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाको खर्चमा लामिछानेले जेठ देखि असोज महिना सम्म क्वारेन्टिनमा रहेकालाई खाना, खाजा र पानी खुवाउने मात्र होइन, स्वास्थ्यकर्मीसँग कन्ट्याक्ट ट्रेसिङमा हिँडेका लामिछानेले निशुल्क मनोपरामर्शको समेत पहल गर्नुभयो । क्वारेन्टिनमा बसेकाले कोरोना परीक्षणको लागि स्वाब दिए देखि रिपोर्ट नआउँदा सम्म बेहोर्ने तनाव व्यवस्थापनको लागि योगा र व्यायामको समेत व्यवस्थापन गर्नुभयो ।

लामिछाने बागलुङको कोरोना रोकथाम तथा व्यवस्थापन सँगै क्वारेन्टिन व्यवस्थापनमा उत्कृष्ट रहेको भन्दै बागलुङ जेसिसले ‘जेसिस युवा सम्मान २०७७’ बाट समेत उहाँलाई सम्मान ग¥यो ।
खाना बनाउँदा समस्या नभए पनि खाना, पानी र खाजा लिएर क्वारेन्टिन पुग्दा भने लामिछानेलाई सुरु–सुरुमा डर लाग्ने गरेको थियो । श्रीमती स्वास्थ्यकर्मी भएर पनि आफुलाई सहयोग र हौसला मिलेको लामिछानेको अनुभव छ । उहाँका श्रीमती लक्ष्मी लामिछाने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा अनमीको रुपमा कार्यरत हुनुहुन्छ । श्रीमती समेत नगरपालिकाको तर्फबाट क्वारेन्टिनमा रहेकाहरुको हेरचाहमा खटिएको भएर आफुलाई काम गर्न थप सहज भएको लामिछाने बताउनुहुन्छ ।

संक्रमणको उच्च जोखिममा रहेकाहरु सँग बसेर काम गर्दा आफुलाई पनि कुनै न कुनै दिन कोरोना लाग्छ भन्ने लामिछानेलाई यो काम गर्ने निर्णय गर्दा नै लागिसकेको थियो । ‘सामाजिक दुरी कायम गर्दै सतकर्ता अपनाउने हो, कोरोना लागिहाले पनि छिट्टै निको हुन्छ भन्ने मनस्थितिमा थिए,’ लामिछाने भन्नुहुन्छ ‘यो रोगको औषधीनै उच्च मनोवल रहेछ ।’

जेठ महिनाबाट सुरु भएको लामिछानेको क्वारेन्टिन व्यवस्थापन यात्रा असोज १० गते सम्म निरन्तर चलिरहेको थियो । कोरोना रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा खटिदा खटिदै लामिछानेलाई असोज २४ गते कोरोना संक्रमण पुष्टी भयो । त्यस यता लामिछाने क्वारेन्टिन जानुभएको छैन ।
रुघा, खोकी र एक्कासी ज्वरो आएपछि असोज १८ गते लामिछानेले धौलागिरी अस्पताल बागलुङमा स्वाब दिनुभएको थियो । कोरोनाको लक्षण देखिए पछि परिवारका अन्य सदस्यबाट छुट्टै बसेका लामिछानेको असोज २० गते कोरोना पोजेटिभ देखियो । लामिछानेको कन्ट्याक्ट ट्रेसिङमा परेका उहाँकी श्रीमती र २ छोरीलाई पनि कोरोना पोजेटिभ देखियो ।

कोरोना सुन्दा र भोग्दा धेरै फरक भएको लामिछानेको आइसोलेशन अनुभव छ । रुघा, खोकी र ज्वरो मात्र होइन । लामिछानेलाई स्वास प्रस्वासमा समेत समस्या देखिएपछि एक हप्ता धौलागिरी अस्पतालको आइसोलेसनमा अक्सिजन दिएर राखियो । २१ दिनसम्म अस्पताल बसेका लामिछानेले छोरीको जन्मदिन र यो वर्षको दशै पनि आइसोलेसनमै मनाउनुभयो । परिवार सहित कात्तिक १४ गते स्वाबको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए पनि शारिरीक रुपमा तन्दुरुस्त भने लामिछाने अहिले सम्म हुनुभएको छैन । लामिछानेलाई अहिले पनि समय समयमा टाउको दुख्ने, शरिर कमजोर भएर हिँड्डुल गर्न मन नलाग्ने, सुतिरहुँ जस्तो हुने, काम गर्न जाँगर नलाग्ने भइरहेको छ ।

तर पनि आफुले जोखिमका बीच संकटमा सेवा गर्न पाएको गर्व लागेको वडा सदस्य लामिछाने बताउँनुहुन्छ । अबका दिनमा पनि स्वास्थ्य सचेतता र सुरक्षा अपनाएर समर्पित हुने उहाँको भनाई छ ।

बागलुङमा हाल सम्म ७ सय ९८ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ६ सय ६७ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा अहिले पनि १ सय २३ जना संक्रिय संक्रमित छन् । ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । ‘यतिवेला क्वारेन्टिनमा दुई जना मात्र हुनुहुन्छ,’ लामिछानेले भन्नुभयो ‘तर पनि कोरोना रोकथाम तथा व्यवस्थापन थप जटिल बनेको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *