गण्डकी प्रदेशमा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम सुरु गरेको छ ।

गण्डकी प्रदेशका बागलुङ, गोरखा, तनहुँ,कास्की र लमजुङमा शहीद, अपांगता भएका,बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुर्नस्थापना कार्यक्रम सुरु गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । यो कार्यक्रम अनुसार, बागलुङमा गोलभेडा खेती र बाख्रा पालनका लागि तालिम तथा बीउ पुँजि प्रदान गरिनेछ । यसका बारेमा मन्त्रालयले आइतबार बागलुङका सरकारी निकाय, राजनीति दल, सामाजिक संघ संस्थाका प्रमुख सँग अन्र्तक्रिया गरेको छ ।

द्वन्द्वपीडित व्यक्ति तथा परिवारलाई राहत तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत गोलभेडा खेती तर्फ ३० र बाख्रापालन तर्फ ३० जनालाई तालिमका साथै प्रति व्यक्ति गोलभेडा खेतीका लागि ३० हजार र बाख्रापालनका लागि १५ हजार रुपैयाँ बीउ पुँजि प्रदान गरिने मन्त्रालयका उपसचिव काशिराज गैरेले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि ३० दिनको म्याद राखेर आवेदन माग गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरीबहादुर चुमानले जनयुद्ध र बिभिन्न आन्दोलनमा प्रभावित भएका व्यक्ति र परिवारका लागि राज्यले निरन्तर रुपमा सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभयो । ‘शहीद तथा बेपत्ता परिवारलाई नेपाल सरकारले १० लाखका दरले रकम प्रदान गरिसकेको छ, यद्यपी यसलाई किस्ता किस्तामा नदिई एकमुष्ठ दिएको भए कुनै ठुलै योजना र काममा लगानी गर्न सक्थे होलान्,’ मन्त्री चुमानले भन्नुभयो,‘ द्वन्द्वपीडित घाइते अपांगता भएकाहरुका हकमा पनि गृहमन्त्रालयले अहिले सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने नीति लिएको छ, प्रदेश सरकारले सीपमूलक कार्यक्रम सुरु गरेका छौ,आगामी दिनमा यसलाई अझ बजेट बढाएर व्यवस्थित गर्दै लैजानेछौ ।’

कार्यक्रममा नेपाली काँग्रेसका सभापति दिपेन्द्र थापा, राजमो जिल्ला सचिव धर्म कुवर, जनता समाजवादी पार्टीका संयोजक चित्र सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम राम्रो भए पनि बजेटको आकार सानो र प्रक्रियागत झण्झट बढी भएकाले यसलाई परिमार्जन गर्न आग्रह गरेका थिए । उनीहरुले यो कार्यक्रममा स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मुलुकमा व्यवस्था परिवर्तन भए पनि द्वन्द्वपीडितहरुको समस्या बल्झिरहेको समयमा प्रदेश सरकारका तर्फबाट सीपमूलक कार्यक्रम आउनु सकरात्मक रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *