ठेकदार सा’प ! अब धोका नहोस्

सम्पादकीय
पुष्पलाल मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाले अनगिन्ती गाउँहरुलाई सुगम बनाएको छ । सुगम मात्रै होइन, सम्भावना र अवसर समेत भित्राइरहेको छ । मध्यपहाडी लोकमार्गको लाभ लिने जिल्लामा धौलागिरीका बागलुङ र पर्वत जिल्ला पर्दछन् । पर्वतमा अहिले धमाधम काम भइरहेका छन् । लोकमार्ग चौडा, स्तरोन्नति र कालोपत्रे गर्ने कार्य तिव्र गतिमा छ । बागलुङ खण्डको काम भने निराशाजनक अवस्थामा छ । त्यो पनि बागलुङ बजार (सदरमुकाम)आसपासकै खण्डको प्रगति उदेक लाग्दो देखिन्छ । दुई खण्डमा निर्माण ठेक्का गरिएको लोकमार्गको दुवै खण्ड अब कहिले निर्माण सम्पन्न हुन्छ ? लामो समयदेखि अलपत्र र अन्यौलग्रस्त भएकाले अझै अनिश्चितताको भूमरीमा छ ।

यद्यपी लामो समयको निराशा, गुनासा र चौतर्फी आलोचनाका बीच मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डको अलपत्र काम अघि बढाउने झिनो आशा पुनः जागृत भएको छ । आइतबार मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि र सरोकारवालाबीचको छलफलको निर्णय सकरात्मक छ । छलफलमा लोकमार्ग निर्माणको जिम्मेवारी पाएको बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको ठेकेदार कम्पनी भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाही र उपल्लो खण्डको ठेकेदार कम्पनी एमपी एसिएफ इसिसी जेभीका आधिकारिक प्रतिनिधि सुर्यबहादुर खड्काले अबको ६ महिना भित्रै अर्थात आगामी जेष्ठ महिना भित्रै कालोपत्रेको काम सक्ने लिखित प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्ग आयोजनाको बागलुङ खण्डको कामका लागि यो ठुलै निर्णय हो । यद्यपी, यही निर्णका आधारमा धेरै खुसी र उत्साहित हुन भने जरुरी छैन । निर्माण कम्पनीहरुले यसअघि पनि पटक पटक मौखिक प्रतिवद्धता जनाएर, केही कामदार मात्र फिल्डमा राखेर गुमनाम बनेको धेरै घटना र परिदृश्य छन् । जसले बागलुङ जिल्लाबासीलाई विश्वस्त बन्ने आधार छैन । यो किन पनि छैन भने लोकमार्ग निर्माणमा ठेकेदार कम्पनी मात्रै दोषी छैन । ठेकेदार कम्पनीले वर्षौदेखि बेवास्ता या समयमा काम नगर्दा पनि यथोचित समयमै जिम्मेवार र जवाफदेही बनाउने निकाय मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय पनि यो ढिलाईको हिस्सेदार हो । यसका साथै लोकमार्गमा रहेका खानेपानी पाइप, घर टहरा, पहिरो र सडक समथर बनाउँदाको माटो फाल्ने स्थान, ग्राभलका लागि कच्चा पदार्थ अभाव जस्ता समस्या पनि गम्भीर छन् ।

मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । तर, वर्षौदेखि सदरमुकाम सम्मुखमै जुन बेहाल देखिएको छ । त्यसले राष्ट्रिय गौरवको आयोजनाको यो हाल छ भने अरु आयोजना, योजनाको अवस्था के होला ? बुझ्न कठिन छैन । लोकमार्ग आयोजनामा यस्तो चरम लापरवाहीमा पनि हाम्रा सरकार, सांसद, जनप्रतिनिधि, कर्मचारीको कति मुकदर्शक हुन सक्दा रहेछन् ? या यदी मुकदर्शक भन्न मिल्दैन भने कति लाचार रहेछन् भनेर बुझ्न कुनै आइतवार पर्खिनु पर्दैन । जे होस्, ढिलै भए पनि मध्यपहाडी लोकमार्ग आयोजनामा नयाँ प्रमुखको आगमनसँगै कम्पनीका आधिकारिक प्रतिनिधिलाई पहिलो पटक जिल्ला झिकाएर सरोकारवालाका बीचमा छलफल चलाउनु सकरात्मक कदम हो । यसमा स्थानीय प्रशासनदेखि सम्बन्धित पालिका र अरु सरोकारवालाको सहजीकरण, सहयोग जरुरी छ । यही बेलामा लोकमार्गका बिद्यमान बाधा हटाएर काम गर्ने सहज बातावरण बनाउनुपर्छ । अब निर्माण कम्पनीलाई कुनै पनि बिषय र बाहनामा लोकमार्ग कालोपत्रे गर्ने कामबाट भाग्ने या पन्छिने छुट कदापी दिनुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *