सरोजराज पन्त
यातायात भन्नाले कुनै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने माध्यम वा साधनलाई बुझिन्छ । यातायातका विभिन्न मार्गहरू रहेका छन, जस्तै हवाई, रेल, सडक, डोरी, रज्जु मार्ग आदिबाट सामान ढुवानी र यात्रा गर्नु हो । हाम्रो देश भूपरिबेस्ठिक राष्ट्र हो । त्यसैले पानी यातायात प्रयोग गर्न असम्भव रहेको छ । नेपाल हिमाली देश भएकोले रेल यातायात सन्चालन सामान्य रूपमा सम्भब देखिदैन र निर्माण कार्य धेरै महँगो देखिन्छ ।
हवार्ई यातायात प्रयोग भएको छ तर यो सामान्य नेपाली नागरिकहरूको लागि सहज पहँुच नरहेको अबस्था छ । सडक यातायात सस्तो र सजिलो यातायातको साधन भएकोले नेपालका अधिकांश मानिसहरू सडक यातायातमा निर्भर छन् । हाम्रो देशको प्रत्येक नागरिकले प्रयोग गर्ने सडक यातायातको ठूलो महत्व छ । यातायात देश विकासको लागि महत्वपूर्ण छ किनकि यसले बस्तु तथा सेवा आदानप्रदान गर्न, यातायातले आर्थिक बृद्धि गर्न सक्षम बनाएको छ ।
नेपाल जस्तो भौगोलिक बिबिधता रहेको मुलुकमा सडक यातायात नेपालीहरुकालागि विकल्पबिहिन बनेको छ भन्दा अत्युतिm नहोला । रेल मार्गको विस्तार र सन्चालन नभएको, जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम बनेको छ । यद्यपि सडक यातायात असुरक्षित बन्दै गईरहेकोले सडक दुर्घटना दिनहुँ बढी रहेको छ । दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु, अपांङ्ग भएर बांच्न बिबश हुनुका पछाडि धेरै कारणहरु रहेका छन । अहिले दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनुले धनको क्षति त्यतीकै छ भने यसबाट व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षति भईरहेको छ ।
सडक यातायातलाई सही तरिकाले ब्यबस्थापन गर्न सकेको खण्डमा यसका अनेकौ फाइदाहरु रहेका छन जसमा रेलवे भन्दा कम लगानीमा सडकहरूनिमार्ण हुने पुँजीको बचत हुन,े सडक यातायात ढोका ढोका सेवा प्रदान गर्ने भएकाले लाभदायक छ, सडक यातायात धेरै व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगार प्रदान गरेको छ । उद्योगधन्दा सन्चालनमा र सामानको उत्पादनमा सहयोगी बनेको छ ।
सडक यातायात अनिवार्य आवश्यकता भएपनि यसका फाइदामात्र नभइ बेफाइदाहरु पनि रहेका छन । अहिले नेपालमा लगातार सडक दुर्घटनाहरू बढी रहेको छ, जसबाट धेरै धनजनको क्षति भएको छ । साघुरा, घुमाउरा सडकहरू अधिकांश सडकहरू खराब अवस्थामा छन् र अपर्याप्त छन् । मोटर यातायातमा भारी करको बोझ रहेको छ । समयमा सडकहरूको मर्मतसम्भार नहुनु ,पेट्रोल र डिजेलको बढ्दो लागतका भएका कारण सडक यातायात महँगो बनेको छ । सडक यातायातका कारण परनिर्भरता बढेको छ । सबारी साधन, पेट्रोल र डिजेलको सरिदमा बर्षेनि अरबौ रुपैया बिदेशीएको छ ।
नेपालमा सडक दुर्घटनाको यस्तो अवस्थामा हुनुमा एक पक्षले अर्कालाई दोषारोपण गरि आफनो दोष अर्काको टाउकोमा थुपार्ने प्रवृत्ति बढी रहेको पाइन्छ । यसको लागि सडक दुर्घटनाका कारण, प्रभाव र यससँग सम्बद्धपक्षहरु के–के हुन्,न्युनीकरणका लागि कसले तत्काल ,के गर्नु पर्छ, कसरी गर्नु पर्छ, नीतिगत र व्यबहारिक रुपमा के के मा समयानुकुल परिवर्तन हुन आवश्यक छ भन्ने बारेमा सरोकारवाला र सम्पुर्ण जनतामा ध्यान आकृष्ट हुन जरुरी भएकोले यो लेख तयार पारिएको छ ।
दुर्घटना भनेको कुनै पनि आकस्मिक, कल्पना भन्दा बाहिरको वा नसोचेको घटना हो, जसले धनजनको हानि वा क्षति गराउँदछ । यसैगरी दुर्घटनालाई एक्कासी वा अपर्झट आइपर्ने कष्टपूर्ण र अशुभ घटनाको रुपमा लिइन्छ । दुर्घटना काबु बाहिरको घटना हो भनिए पनि मानवीय, यान्त्रिक, भौतिक, भौगोलिक कारण वा बेवास्ता, उपेक्षा, लापरबाही र दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीका कारणले हुने गर्दछ । सडक दुर्घटनामा बर्षेनि हजारौ जनाले ज्यान गुमाउने गरेको अबस्था छ ।
नेपालमा सडक दुर्घटनाका बिभिन्न कारणहरूरहेका छन । जसमा बढदो दुईपाग्रे साधन, यातायातका साधनको आयात, अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यवहारिक नहुनु, सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरु थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नु पर्ने , निजी सवारी साधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रीत भित्रिनाले सडकमा भिड सिर्जना हुनु, सडक विस्तारमा सुस्तता, कच्ची सडक बढी हुनु, अबैज्ञानिक सवारी दर्ता र रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु, सडक विकासले विनास ल्याउनु, गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गर्व मान्नु, सडक अतिक्रमण हुनु, सडकमै हाट बजार लगाउने, घर टहरा बनाउने, पसलहरु थाप्ने, सडक अवरुद्ध हुने गरी निर्माण सामग्रीहरु थुपार्ने, कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, पशु पंक्षी छाडा छोड्ने, सडकमै पराल,घाँस आदि सुकाउने, जथाभावि सवारी पार्किङ गर्ने, सडक विस्तार कार्य सुस्त हुनु, पहाड र हिमालमा जथाभाबी सडकहरु बनाउनु, सडक भत्किनु, खाल्डा पर्नु, साईड दिनै नमिल्ने सांघुरा सडक, खोला तथा खहरेमा पुलहरु नहुनु, भएमा पनि एकतर्फि खालका हुनु, पानी जम्ने सडक, बाढी बग्ने खोलाबाट सडक बनाइनु, हिलाम्मे धानखेत बीचमा सडक सडक बनाइनु, कतै आफनो जग्गा जोगाउन त कतै, आफनो जग्गामा बाटो पर्ने गरी सडक बनाइनु, चट्टाने गग्रेटोकोबाटो, धुलाम्मे बाटो, लामो रुटमा एक जनामात्र चालक हुनु, पुराना सवारी साधनहरु हुनु, प्राविधिक तथा यान्त्रिक परिक्षण नहुनु, मापसे परिक्षण ब्यबस्थित रुपमा नहुनु, सहचालकबाट भन्दा अनुभवका आधारमा मिस्त्रिबाट चालक बन्नु, जिर्ण सडक, जिर्ण सवारी साधन, क्षमता भन्दा बढी यात्रु र लोड राख्नु दुर्घटनाका कारणहरु बनेका छन ।
यसैगरी तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन सम्बन्धित चेतना नभएका अपरिपक्क चालकहरु कार्यथलमा हुनु, चेतना अभाव, कुदिरहेको सवारीलाई रोक्नु, अटेर गरि सडक पार गर्न खोज्नु, झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा गर्नु, प्राविधिक परिक्षण नगरी राजनीतिक होडबाजीमा सडक खन्नु, ट्राफिक जाम, ट्राफिक र ट्राफिक प्रहरी बीच समन्वयको अभाव, ट्राफिक नियमको पालना नर्गनु, मुस्कान सहितको सेवा व्यबहारमा लागु नहुनु आदि कारणहरु रहेका छन ।
दुर्घटनाको दोष चालक र सडकलाई दिने तर कुनै पनि दुर्घटनाको वैज्ञानिक अनुसन्धान अहिलेसम्म भएको पाइदैन । ट्राफिक नियम र ट्राफिक प्रहरीलाई नटेर्नुले दुर्घटना बढी रहेकोले सडक दुर्घटना कम गर्न अबिलम्ब प्रयास गर्न जरुरी छ । यसका लागि सवारी चालक तालिम केन्द्रको स्थापना गरी तालिम दिनु पर्ने, सडक सुरक्षा बारे जनचेतना फैलाउन बर्षेनि हाजिरी जवाफ, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, बत्तृत्वकला जस्ता कार्यक्रमहरु गरिनु पर्ने, पैदल यात्री र सडक प्रयोगकर्तालाई सडक शिक्षा दिइनु पर्ने, चालक अनुमतिपत्रका लागि न्युनतम एसइइ योग्यता र उमेर अनिवार्य गरिनु पर्ने, सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षालाई कडाई गरिनु पर्ने, सडक र आसपासमा हाट बजार नराख्ने, सडक आसपास मदिरा सेवन, विक्रिवितरण प्रतिवन्ध गर्नु पर्ने, मापसे परिक्षणमा कडाई गरिनु पर्ने, अव्यबस्थित बस्ती, सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनु पर्ने, सडक वा सडक छेउमा निर्माण सामग्री थुपार्ने, सवारी पार्किङ गर्ने मानिसलाई कारबाही गर्नु पर्ने, सिट र क्षमता भन्दा बढी यात्रु बोक्ने सबारी साधनलाई कडा कारबाही गरिनु पर्ने, सवारी साधनको जाँच तथा गति नाप्ने उपकरणको व्यवस्था गर्नु पर्ने, पहाडी क्षेत्रका सांघुरा तथा कच्ची सडकमा फोर ह्विल अनिवार्य गरिनु पर्ने, अनुमति दिदा रुट तथा सवारी क्षमता अनुसार दिईनु पर्ने, समय समयमा सडकको प्राविधिक परिक्षण गर्नु पर्ने, सडकलाई बलियो र फराकिलो बनाउनु पर्ने, पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउनु पर्ने, पार्किङमा मात्र यात्रु चढाउने ओराल्ने गर्नु पर्ने, सडक आसपासका घुम्तीहरु, ढाटहरु, जिकज्याकहरु हटाईनु पर्ने, छाडा र घरपालुवा चौपाया सडकमा छाड्ने धनीलाई कारवाही गर्नु पर्ने, बालबालिकाहरुलाई सडकमा खेल्न, साईकल चलाउन निषेध गरिनु पर्ने, सडक छेउमा राखिएका विज्ञापनका होर्डिङबोर्डहरुलाई तत्काल हटाईनु पर्ने, सवारी चालकहरुको निशुल्क आँखा र स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्नु पर्ने, दुर्घटनाका दोषी चालक, गाडी धनी, पैदल यात्रीलाई कसुर अनुसार न्यायोचित कारवाहीको व्यवस्था गर्नु पर्ने, दुर्घटना पछि दुर्घटनाको बैज्ञानिक, निश्पक्ष, पूर्वाग्रह रहित अनुसन्धान गरि क्रमश दुर्घटना कम गर्न पहल गर्नु पर्ने, दुर्घटना उद्धार समिति र घाईतेको तत्काल उपचारका लागि उपचार केन्द्रको व्यवस्था गरिनु पर्ने, सार्वजनिक यातायातलाई व्यबस्थित गर्न बैज्ञानिक कानूनी व्यवस्था गर्नु पर्ने आदि रहेका छन ।
नेपालमा सडक दुर्घटना बढदै जानुुमा एकले अर्कोलाई दोषारोपण गर्ने गरेको पाइन्छ तर सबै पक्ष जिम्मेवार हुन सकेको अबस्था छैन । पालमा सडक दुर्घटना हुनुमा कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु न्यायोचित हुदैन । सडक दुर्घटना कम गर्न निजी, सार्वजनिक सवारी चालक, पैदल यात्री सबै सजग र सचेत बन्न जरुरी छ । एक पक्षले अर्को पक्षलाई लगाउने आरोप प्रत्यारोपमा अलमलिनु भन्दा सडकको भौतिक पुर्वाधार राम्रो बनाउन आबश्यक छ । यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुले आपसी समन्वय गरी यातायात प्रणालीका सिद्धान्त अनुरुप ज्ञान, सीप र व्यबहारमा उर्तान सकेको खण्डमा र साझा प्रयासहरूबाट समस्या समाधान गर्न सकिन्छ । मानवीय, यान्त्रीक, भौतिक वा भौगोलिक आदि समस्या के हो , तिनको कारण र प्रभाव बिश्लेषण गरी कार्य सम्पादन गर्न सकेमा मात्र सडक दुर्घटनाको समस्या कम गर्न सकिन्छ । यसैगरी चालक अनुमतिपत्र सैद्धान्तिक,प्रयोगात्मक, व्यबहारिक ज्ञान,सीप र क्षमतामा निपुर्ण भएपछिमात्र प्रदान गर्नु पर्ने देखिन्छ । ट्राफिक प्रहरीलाई समय सापेक्ष रुपमा सबल, सक्षम बनाउने, सडकमा ट्राफिक बत्ति राख्ने र समयानुकुल बैज्ञानिक यातायात कानून बनाएर व्यवस्थित रुपमा कार्यान्वयन गर्नु पर्ने आबश्यकता टडगारो बनेको छ ।