नेकपासँग लाज पनि नलजाओस्

सम्पादकीय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला जटिल संकटमा छ । तीन वर्ष अघिको निर्वाचनमा बाम गठबन्धन बनाएर चुनावी नतिजा समेत आफ्नो पक्षमा पार्न सफल तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रले अन्ततः पार्टी एकीकरण पनि गरे । चुनावी एकता गर्दा बामपन्थी जनमतको एजेण्डा थियो तर, यसरी पार्टी एकता गर्दा जीतको ‘सेन्टिमेन्ट’ले बढी काम ग¥यो । पार्टी एकताका लागि सैद्धान्तिक, वैचारिक कुराहरु ओझेलमा परे । दुई पार्टीको बागडोर सम्हालिरहेका तत्कालिन एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र एकिकृत माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोल्ड निर्णय नै काफी बन्यो । प्रयाप्त छलफल, बहस बिना केही हतारमा गरिएको एकताकै कारण आज अनेकन बिषय उठेको छ र फेरी पार्टी नजुट्दै फुट्ने हो की भन्ने संशय पैदा भएको छ ।

अहिले नेकपा भित्रको विवाद तल्लो तह सम्म भुसको आगो जसरी फैलिन थालेको छ । पार्टी एकिकरण पूर्वका दुई पार्टीका बीचमा होइन, तत्कालिन एमालेका बरिष्ठ नेताहरु सहित माओवादी अध्यक्ष प्रचण्डको समूह एकातिर छ भने अर्को तर्फ तत्कालिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूह छ । यी दुई समूहबीच अहिले शितयुद्ध चलिरहेको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठहरु नेकपा सचिवालय बैठक आव्हान गरिरहेका छन् भने केपी ओली पटक पटक बैठकमै नजाने गरेका छन् । गए पनि केही कुरा राखेर बाहिरिने गरिरहेका छन् । यसले के संकेत गर्छ भने दुई समूहबीच विवाद चुँलिदो, दुरी बढ्दो छ । त्यसैले अहिले दुवै पक्षका नेताहरु आ–आफ्ना पक्षको समर्थन गर्दै अर्को पक्षलाई तथानाम गाली गर्न व्यस्त छन् । सामाजिक सञ्जाल त केही महिना यता प्रदुषित बनिरहेको छ । दुई समूहका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप देख्दा यस्तो लाग्छ की अब दुई पार्टी एक हुने सम्भावना सकिएको छ । र भोलीका दिनमा एकै पार्टीमा सँगै यात्रा गर्नुपर्छ भन्ने दीर्घकालिन सोच सम्भावनाको चरम खडेरी छ ।

पार्टी भित्र बेला–बेला विवाद र बहस हुनु कुनै नौलो बिषय र घटना रहेन । तर, अहिले जुन ढंगले नेकपा भित्र विवाद बढ्दो छ । यो पार्टी प्रणाली भन्दा पनि व्यक्ति, हठ, कुण्ठा, आग्रह पुर्वाग्रहबाट बढी प्रभावित भए जस्तो देखिन्छ । फलस्वरुप स्वश्थ बहस भन्दा पनि एकआपसमा निषेध गर्ने तर्फ नेकपाको राजनीति केन्द्रित हुन थालेको छ । जिल्ला जिल्लामा हुन थालेका गुटगत भेलाहरुले पनि यसलाई बल दिन्छ । अब शीर्ष नेताहरुका बीचमा संवाद, सहमति र सहकार्य होइन, जीत हारको सवाल हुन थालेको छ । विवाद कति ‘शत्रुतापूर्ण’ अवस्थामा पुगेको छ भन्ने दुई अध्यक्षको प्रतिवेदनमा उल्लेख भएका निकृष्ट आरोप प्रत्यारोपले प्रष्ट गर्छ । तर, दुवै अध्यक्ष र विवादको अग्रभागमा देखिएका शीर्ष नेताहरुले के बुझ्न जरुरी छ भने अहिलेको बहुमत अफाव सिद्ध गर्नका लागि जनताले कदापी दिएका हैनन् । कोरोना महामारीका बेला नेकपाको झगडाको हिसाव किताव जनताले राखिरहेकै छन् । तर, दशकौं राजनीति गरेका नेताहरुले यसको कति हेक्का नराखी लोक लाज समेत लजाउने गरी विवादमा उत्रिनु बिडम्बना हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *