बेमौसमी तरकारीबाट आकर्षक आम्दानी

आदर्श अनलाइन, बागलुङ
सुरुमा निर्वाहमुखी खेती गर्दै आउनुभएका काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुनको परिचय अहिले बदलिएको छ । लालकुमारी अब कृषक मात्र होइन, उहाँको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय बनेको छ ।

१४ वर्ष देखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाई दिदीबहिनीलाई समेत व्यवसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आउनुभएको छ । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठुलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको पुनको भनाई छ ।

४३ वर्षिया लालकुमारीले आफ्नो जग्गा जमिनका साथै केही जग्गा भाँडामा समेत लिएर २० रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । ‘हालै मात्र पाँच हजार केजी बेमौसमी रुपमा उत्पादित ब्रोकाउली बिक्री गरे, १४ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु,मैले मौसमी भन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु’ पुनले भन्नुभयो ‘मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्न तर्फ बढी अग्रसर भएको छु ।’ हालै मात्र तीन लाखको बेमौसमी ब्रोकाउली मात्रै बिक्री गरेको उहाँको भनाई छ ।

अहिले ५ सय बोट अकबरे खुर्सानी पनि उत्पादनको चरणमा छ । अकबरे हरियो खुर्सानी, अचार लगायतका परिकार बनाएर समेत बिक्री गर्दै आएको पुनको भनाई छ । वडा स्तरिय कृषि समितिको संयोजक समेत रहनुभएका लालकुमारीले आफुले मात्रै हैन,वडाका अन्य कृषकहरुलाई समेत कृषि पेशामा आत्मनिर्भर गराउने गरी योजना लिएर अगाडी बढेको उहाँ बताउँनुहुन्छ ।

‘मैले बेमौसमी तरकारी खेतीमा जोड दिएको छु,तिते करेलो, ब्रोकाउली, गोलभेँडा लगायतका तरकारी अहिले तयारीमा छ’ पुनले भन्नुभयो ‘कतै तरकारी नपाइने समयमा मेरोमा बारीभरी तरकारी हुन्छ, मुल्य पनि भनेको जति पाइन्छ, आम्दानी राम्रै हुन्छ ।’ २० रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएका पुनलाई उहाँका तीन छोरीले काममा सघाउदै आएका छन् ।

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएकाले उहाँले ज्याला, जग्गा भाँडा लगायतका खर्च कटाएर वार्षिक ६ लाख बचत गर्दै आएको बताउनुभयो । चार वर्षदेखि ऋषिका कृषि फर्म समेत दर्ता गरेर व्यावसायिक फर्म सञ्चालन गर्दै आउनुभएको छ । पुनको फर्ममा एक हाइटेक टनेल र चार वटा अस्थायी टनेल मार्फत बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँ कृषि ज्ञान केन्द्र पर्वतबाट उत्कृष्ट कृषकको रुपमा २०७५ सालमा १० हजार नगद सहित पुरस्कार समेत हुनुभएको थियो । कृषि ज्ञान केन्द्रबाट एक लाख ९० हजारको अनुदान समेत प्राप्त गरेको लालकुमारीले बताउनुभयो ।

१५ रोपनी जग्गा भाँडामा लिएर खेती गर्दै आउनुभएका उहाँले वार्षिक ५० हजार रुपैयाँ जग्गाको भाँडा मात्रै तिर्नुहुन्छ । थोपा सिञ्चाई प्रविधिको प्रयोग गर्दै आउनुभएका पुनले कृषिमा प्रविधिको प्रयोग संगै बेमौसमी तरकारी उत्पादनमा सहज भएको बताउनुभयो । अझै चार वटा टनेल थप्ने योजनामा रहेको पुनले बताउनुभयो । तरकारी उत्पादन गर्न सके बजारको चिन्ता नरहेको उहाँको अनुभव छ ।

आफ्नै अगुवाईमा कादेश कृषि सहकारी सञ्चालन, कृषि समूह दर्ता लगायतका कार्य गरेको उहाँको भनाई छ । बाँझो जग्गा उपयोग गरी महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको उहाँले बताउनुभयो । वार्षिक रुपमा लसुन, टमाटर, आलु, प्याज, बन्दा, काउली लगायतका तरकारी खेती समेत उहाँले गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *