‘सामाजिक बहिष्करणको डरले खुलेनन् हिंसा पीडित’

आदर्श अनलाइन, बागलुङ

समाज र परिवारको कारणले हिंसा पीडित महिलाहरु अहिले पनि खुलेर न्यायको लागि बाहिर आउन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

बागलुङ नगरपालिकाको आयोजनामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

आफुमाथी भएको हिंसाको विरुद्धमा आवाज उठाउदा घर परिवारबाट मात्र नभएर समाजबाटै बहिस्कृत हुने र पुर्नस्थापनको विश्वासीलो आधार नभएकै कारण महिलाहरु हिंसा सहेर बस्न बाध्य भएको बताएका थिए ।

बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा र लैङगिक हिंसाबाट पीडितहरुको लागि सरकारले बलियो कानुन बनाएको भएपनि कार्यान्वयनको तहमा बसेकाहरुबाट सेवा प्रवाहमा कन्जुस्याई भएको उनीहरुको तर्क थियो ।

सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको भनाई सुन्नमा आएपनि अहिले सम्म सरकारको आभाष गर्न नपाएको भन्दै स्थानीय सरकारले पीडितलाई राहत र पुर्नस्थापना हुने गरि निर्णय गर्नुपर्ने सहभागीको जोड थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा न्यायीक समिति सदस्य लक्ष्मी बास्कोटाले बागलुङ नगरपालिकाद्वारा सञ्चालित अल्पकालिन महिला सेवा केन्द्र मार्फत महिलाहरुलाई कानुनी परामर्श सँगै छलफल र पुर्नस्थापना सम्मका काम गर्दै आएको बताउनुभयो । उहाँले सेवाकेन्द्रमा चालु आर्थिक वर्षको साउन देखी मंसिर २० गते सम्म १६ वटा उजुरी दर्ता भएको बताउनुभयो ।

उहाँले घरेलु हिंसाका ७ वटा, सम्बन्ध विच्छेदका ३ वटा, परिवारले वेवास्ता गरेको भन्दै २ वटा, दुव्र्यवहारका १ र बहुविवाहका ३ वटा उजुरी आएको बताउनुभयो । जसमध्ये ४ जनालाई निशुल्क कानुनी सहायता समितिमा सिफारिश गरेको, ४ वटा उजुरीमा मिलापत्र गरिएको, र १३ जनालाई आश्रय सहितको सेवा प्रदान गरिएको बताउनुभयो ।

सेवाकेन्द्र सञ्चालनको लागि आर्थिक वर्ष ०७७/०७८मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ बजेट प्राप्त भएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाका उपमेयर तथा न्यायीक समिति संयोजक सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डण्डपाणी शर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष तथा न्यायीक समिति सदस्य शिव सापकोटा, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य भविकला रोका, अन्तरपाटी महिला सञ्जालका अध्यक्ष कुशुम बुढा, नेपाल महिला संघ बागलुङको सचिव उषा पौडेल, जैमिनी नगरपालिकाको कार्यपालिका सदस्य रुद्रा केसी र अधिवक्ता लक्ष्मी जिसी कार्की लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाका रचना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *