कास्कीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी

आदर्श अनलाइन, पोखरा
कास्कीमा पछिल्लो समय सडक दुर्घटनामा ज्यान गुमाउनेमा बढी मोटरसाइकल चालक छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४३ छ । जसमध्ये १५ जना सवार यात्रु, ७ जना पैदल यात्रु, २० जना चालक र १ जना सह–चालक रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने २० जना चालकमा १७ जना मोटरसाइकल चालक हुन् ।

मोटरसाइकल दुर्घटनामा सवार ८ यात्रुको ज्यान गएको छ भने मोटरसाइकलको ठक्करबाट ४ पैदल यात्रुको ज्यान गएको छ । १४ जना पैदल यात्रु घाइते भएका छन् भने ३५ चालक मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।

त्यस्तै निजी ४ पांग्रे सवारी दुर्घटनामा अघिल्लो वर्ष ७ जनाको ज्यान गएको छ । गाडीमा सवार ६ जनाले ज्यान गुमाएका छन् भने २ पैदल यात्रुको गाडीको ठक्कर बाट ज्यान गएको छ ।

सार्वजनिक सवारी साधनतर्फ सवार यात्रु १ जनाको ज्यान गएको छ भने सवारीसाधनको ठक्करबाट १ जना पैदल यात्रुको ज्यान गएको छ । सार्वजनिक सवारी साधन दुर्घटनाको हिसाबमा अन्य सवारी साधनभन्दा न्यून देखिन्छ ।

गत आर्थिक वर्षमा विदेशी नियोग र संस्थान र सरकारी सवारी साधन दुर्घटनामा १ जना चालक घाइते भएका छन् ।

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा जम्मा ५५ सवार यात्रु घाइते भएका थिए । सवार यात्रुमध्ये ज्यान गुमाउनेको संख्या १५ रहेको छ । त्यस्तै पैदल यात्रुमा ७ जनाले ज्यान गुमाएका छन् । २१ जना पैदल यात्रु घाइते भएका छन् भने ४६ जना चालक घाइते भएका छन् ।

सरकारले पछिल्लो समय जारी गरेको देशव्यापी लकडाउनले गत चैतदेखि असारसम्म दुर्घटना कम भएको पाइएको छ । यस आर्थिक वर्ष २०७७/७८ साउनदेखि कार्तिकसम्म जम्मा १७ मोटरसाइकल दुर्घटना भएका छन् । जसमध्ये ६ सवारी चालकले ज्यान गुमाएका छन् ।

मोटरसाइकल दुर्घटनामा २ मोटरसाइकल चालक घाइते तथा २ सवार निधन, १ पैदल यात्रुको निधन तथा १ पैदल यात्रु घाइते भएका छन् ।

यता यस आर्थिक वर्षमा निजी सवारी दुर्घटनामा २ जना चालकले ज्यान गुमाएका छन् भने १ जना सवारको ज्यान गएको छ । सार्वजनिक सवारी साधन दुर्घटनामा भने यस आर्थिक वर्षको कार्तिकको तथ्यांकसम्म शून्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *