कोरोना खोप, अनिश्चितता र सचेतता

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को करिब एक वर्षदेखि भयावह कायमै छ । संक्रमण भयावहको केही महिनामै रोकथाम, नियन्त्रण हुने अपेक्षा गरिए पनि नेपाल सहित विश्वभर पूर्ण विश्वस्त हुने गरी न रोकथाम हुन सक्यो, न नियन्त्रण । यो नियन्त्रण भयो भनिएका चीनको बुहान सहित अरु थुप्रै स्थानमा फेरी संक्रमण देखियो । जसका कारण आज विश्व समुदाय आजित बनिरहेको छ । नेपालमा पनि गत वर्षको चैत्रदेखि सुरु भएको कोरोना भयावह कायमै छ । यो आजको दिनमा पनि भित्रभित्रै फैलिने दर बढ्दो छ । परीक्षणको दायरा साँघुरो बनाइदैछ । यसकारण संख्यामा विगतको जस्तो नभए पनि कोभिड संक्रमण रोकिएको छैन, यसबाट आजको दिनमा पनि ठुलो संख्यामा नागरिक प्रभावित भइरहेका छन् । र कोरोनाबाट भाग्दै, जोगिदै आफ्नो नियमित दैनिकीमा फर्किने प्रयास गरिरहेका छन् ।

कोरोना बिरुद्ध खोपको अहिले ठुलो चर्चा छ । बिभिन्न देशले यसको परीक्षण समेत गरिसकेका छन् । र उत्पादनमा लागिरहेको समाचार सार्वजनिक भइरहेको छ । खोपलाई चिकित्सा विज्ञानमा सबैभन्दा भरपर्दाे मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरूको भनाइमा विभिन्न रोगविरुद्ध निर्मित खोपले हरेक वर्ष २० देखि ३० लाख मानिसको मृत्यु रोक्छन् । हालसम्म २० भन्दा बढी प्राणघातक रोग फैलिन नदिन खोप नै अचुक औषधि बनेको छ । सामान्य अवस्थामा खोप निर्माण, उत्पादन र ढुवानीका लागि पाँचदेखि १० वर्ष लाग्छ । कोरोना भाइरसविरुद्धको खोप छोटो समय अवधिकै बीच विश्व समुदायममा पु¥याउन पहल भइरहेको छ । तर, हाम्रो जस्तो विकासोन्मुख देशमा आउन कति समय लाग्ला ? यो प्रश्न एकातिर छ भने अर्को संशय कोरोना भाइरसविरुद्धको खोपले मानव शरीरलाई बचाउन सक्ने क्षमता र प्रयोगका लागि कति सुरक्षित भन्ने विषय अनुसन्धानकै चरणमा छ । न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन् । मानव शरीरमा परीक्षण सकिएका सात वटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन् । अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् ।

कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प भएको वैज्ञानिक र चिकित्सक बिज्ञहरु बताइरहेका छन् । अहिले चर्चा भइरहेको खोप हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका पनि छैनन् । यद्यपी खोप निर्माणमा लागिपरेका देश र कम्पनीहरूले सन् २०२० अन्त्यसम्ममा खोप उपलब्ध हुने दाबी गर्दै आएका छन् । संसारभर खोप पु¥याउने दायित्व रहेको डब्लुएचओले भने सन् २०२१ को मध्यभन्दा अगाडि खोप सर्वसुलभ हुने सम्भावना कमजोर देखिएको बताइरहेको छ । युरोपमा धेरै चर्चा कमाएको फाइजर र बायोन्टेकले निर्माण गरेको खोपले ९० प्रतिशत मानिसलाई कोभिड–१९ हुनबाट बचाउने दाबी ती कम्पनीको छ । कोरोनाबाट आक्रान्त विश्वभरका मानव समुदाय यतिखेर खोपको व्यग्र प्रतीक्षामा छन् । यो अनिश्चितता कायम रहिरहँदा अहिले जे जसरी नियमित दैनिकी चहल पहल चल्न थालेको छ । यसले संक्रमणको जोखिमलाई बढावा दिने नै छ । अतः खोप नआउञ्जेल स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामै सचेततापूर्वक कदम चाल्नुपर्छ । सेनिटाइजर र ‘मास्क’ नलगाई हिँड्डुल गर्ने दिन नआउँदा सम्म कसैले पनि लापरवाही गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *