आदर्श अनलाइन,बागलुङ
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त बताउनुभएको छ ।
गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि आज उहाँले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्नुपर्ने बताउनुभयो ।
“खोप आएर कोभिड व्यवस्थापन हुनासाथ विदेशी पर्यटक घुम्नका लागि नेपाल आउन चाहन्छन्, त्यो अवसर छोपौँ, पूर्वाधार बनाऔँ”, मन्त्री लम्सालले भन्नुभयो । मन्त्री लम्सालले बागलुङको पर्यटनले फड्को मार्ने गरी योजना अघि बढाइने पनि बताउनुभयो ।
उहाँले सहस्रधारा झरना र ऐतिहासिक गलकोट दरबारसमेत अवलोकन गर्नुभएको थियो । मन्त्री लम्सालले आजै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गर्नुभएको छ । वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो ।