गाउँभरी तामैतामा, अध्ययन र उत्खननको माग

डम्मर बुढा मगर, बागलुङ
उच्च पहाडी क्षेत्र । सम्भवतः बागलुङको सबै भन्दा उच्च स्थानमा रहेको गाउँ हो नर्जाखानी । तमानखोला गाउँपालिका वडा नम्बर–६ मा पर्ने यो गाउँमा तामाखानीको प्रचुर सम्भावना भएको स्थानीय बताउँछन् ।

गाउँ वरपर थुप्रै तामा उत्खननका लागि खनिएका खाडलहरु देखिन्छ । ती खाडल पुर्खाहरुले तामा निकाल्दा बनेको स्थानीय बताउँछन् । यस्ता खाडलहरु नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय ओमप्रसाद छन्त्याल बताउँनुहुन्छ । घर छेउ र बारीमा समेत तामा भेटिने उहाँको भनाई छ ।

‘यहाँ त पहिरो जाँदा पनि तामा भेटिन्छन्, जताततै तामाको खानीनै खानी छन्, जहाँ पनि पुर्खाहरुले उत्खनन गरेका ठाउँहरु भेटिन्छन्,’ छन्त्यालले भन्नुभयो ‘यहाँ भएका भीर पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।’

दशकौँ वर्ष अगाडी त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भएको छन्त्याल बताउनुहुन्छ । पुराना पाका स्थानीयका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो ।

‘हाम्रा बाउबाजेले भन्ने गर्नुहुन्थ्यो–छन्त्याल जातिहरु भीर–पहरामा गएर खानी उत्खनन गर्नु हुन्थ्यो रे, उहाँहरुले एउटा निगालोमा आगो बालेर सुरुङ भित्र पसेर घण्टौ पछि तामा निकाल्नु हुन्थ्यो रे,’ छन्त्यालले भन्नुभयो ‘बुढापाकाको कुरा सुन्दा यहाँ सबै जातिहरुले मिलेर आ–आफ्नो सीप र क्षमता अनुसार काम गरेको पाइन्छ ।’

खुङ्खानी,नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको अहिले खुबै खानीबाट खुङ्खानी भन्न थालिएको छन्त्यालको भनाई छ । ‘पुर्खाहरुले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे रे, अहिले आएर खुङ्खानी भन्न लागिएको पुरानो कथन छ,’ उहाँले भन्नुभयो ‘यो कुरामा हामीलाई पनि पुरा विश्वास छ ।’

तामा निकालेको ठाउँ बाहेक नर्जाखानी क्षेत्रमा तत्कालिन समयका नागरिकले बसोबास गरेको ठाउँहरुको भग्नावशेष लगायतका वस्तु भेटिने गरेको उहाँले बताउनुभयो । विष्णु आधारभूत विद्यालयमा प्रधानाध्यापक समेत रहनुभएका छन्त्यालले यस सम्बन्धी आफुले बुढापाकासँग धेरै बुझ्ने कोशिस गरेको बताउँनुभयो ।

तत्कालीन सरकारले अत्याधिक कर बढाए पछि स्थानीयले तिर्न नसक्दा तामा निकाल्न छोडेको छन्त्याल बताउँनुहुन्छ । राणा शासनका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको स्थानीयको भनाई छ ।

‘बुढापाकाले भने अनुसार तत्कालिन सरकारले स्थानीयले निकालेको तामा भन्दा बढी मूल्यको कर बुझाउन भने पछि पुर्खाहरुले तामा निकाल्न छोडेका रहेछन्,’ छन्त्यालले भन्नुभयो ‘उतिबेला अहिलेको जस्तो प्रबिधि थिएन, धेरै समय लगाएर तामा निकाल्ने गर्ने रहेछन्, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरे पछि छोडेको थिए रे, बुढापाकाहरुसँग बुझेको ।’

छन्त्यालले स्थानीय, प्रदेश सरकार र संघीय सरकारले तत्काल खानी उत्खन्न गरेर यस क्षेत्रका जनतालाई यहीबाट आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।

‘अहिलेको जमानामा नयाँ–नयाँ प्रबिधि छ, उति बेलाको समयमा त बाउबाजेले एउटा निगालोकै भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नु हुन्थ्यो भने अहिले त केही समस्या छैन,’ छन्त्यालले भन्नुभयो ‘सरकारले चाहाना देखाएर काम ग¥यो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए ।’

तमानखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुलबहादुर छन्त्यालले गाउँभरी तामाखानी रहेकाले प्रदेश र केन्द्र सरकारले यसको उत्खननमा ध्यान दिनुपर्ने बताउनुभयो । तामाखानीको बारेमा कार्यपालिकाको बैठकमा समय–समयमा छलफल भइरहेकाले तीनै तहका सरकार तदारुकताका साथ लागे रोजगार सिर्जना हुने र दुर्गम बस्तीका नागरिकले आयआर्जनको राम्रो अवसर प्राप्त गर्ने अध्यक्ष छन्त्यालको भनाई छ ।

‘गाउँको चारै तिर खानी नै खानी छन्, यहाँका जनताले चाहे अनुसारको विकासको अनुभूति गर्न सकिराखेका छैनन्,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ‘सबै तिरबाट पहल भयो र तामाखानी सञ्चालनमा आउन सके यहाँका जनताले विकासको स्वाद लिन धेरै समय कुर्नु पर्ने थिएन ।’

चारै तिर खानीहरु भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको उहाँको जिकिर छ । उहाँले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरुले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।

‘हाम्रा अग्रजले छन्त्यालहरुलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गर्थे, उनीहरुले माटो सुँघेर खानीहरु पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे,’ उहाँले भन्नुभयो ‘अहिलेको जस्तो प्रबिधि ऊ बेला भएको भए सायद यो ठाउँ अझैसम्म पनि विकास कुरेर, दुुर्गमताको परिचय बोकेर बस्नु पर्दैनथ्यो होला ।’

अध्यक्ष छन्त्यालले आफ्ना पुर्खाहरुले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्न समेत नजानेको बताउनुभयो ।

‘बुढापाकाले भने अनुसार हाम्रा पुर्खा बराजुहरुले खेतिपाती गर्न जान्दैनथे रे, उनीहरुलाई खानीमा गर्ने काम बाहेक अरु आउँदैनथ्यो भन्छन्, उनीहरुको आहार जंगलका पशुपंक्षी हुन्थे रे’ उहाँले भन्नुभयो ‘सरकारले बढी कर लिने आदेश दिएपछि खानीनै बन्द गरेर खेतिपातीमा लागेको बुढापाका सुनाउँथे ।’

गाउँमा पहिरो जाँदा पनि तामा भेटिने गरेको र तामाबाट विभिन्न सामग्रीहरु बनाउने गरेको स्थानीयले बताएका छन् । प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्नु पर्ने देखिएको छ ।

‘यहाँ त पहिरो जाँदा बारी खनजोत गर्दा पनि स्थानीयले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकुडा पनि बनाएका छन्,’ अध्यक्ष छन्त्यालले भन्नुभयो ‘गाउँमा महत्वपूर्ण चिजहरु हुँदा पनि हामीले त्यसको उत्खनन र प्रयोग गर्न सकेका छैनौ, सरकारले यसको बारेमा चासो देखाउने हो भने यहाँबाट पनि समृद्धि आउँछ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँपालिका भित्रै धेरै खानी रहेको र यसको परीक्षण गरिने तयारीमा रहेको बताउनुभयो । तमानखोलामा तामाखानी, फलामखानी र झल्कने ढुङ्गाखानी रहकाले यी सबै खानीहरुको बारेमा केन्द्र र प्रदेश सरकारसँग छलफल गर्ने उहाँको भनाई छ ।

‘तमानखोला गाउँपालिकाको अधिकांश ठाउँमा खानीहरु छन्, ती खानीहरुको अध्ययनका विज्ञ टोली ल्याउनका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गछौँ,’ अध्यक्ष बुढाले भन्नुभयो ‘विज्ञ टोलीको अध्ययन अवलोकन पछि नतिजा कस्तो हुन्छ ? त्यही अनुसार काम गर्ने योजनामा छौँ ।’

गाउँपालिका भित्र कति तामाखानी छन् भन्ने एकिन नभएको अध्यक्ष बुढा मगरले बताउनुभयो । ‘यहाँ कति तामाखानी छ भन्ने हामीलाई एकिन छैन, यसको विवरण संकलन गर्ने योजनामा छौँ, संकलन गरिसके पछि अनुसार योजना बनाए काम गर्नेछौँ’ उहाँले भन्नुभयो ‘तामाखानी मात्रै होइन यहाँ झल्किने ढुङ्गा र फलामखानी पनि छ, यी सबैको अध्ययन अनुसान्धान गर्न माथिल्लो निकायसँग समन्वय गछौँ ।’

अध्यक्ष बुढा मगरले तमानको परीक्षणका लागि स्याम्पल पठाउने बताउनुभयो । परीक्षण पछि कुन गुणस्तरको तामा छ, त्यसको एकिन गरेर गाउँपालिकाले आवश्यक कदम चाल्ने उहाँको भनाई छ ।

अध्यक्ष बुढा मगरले खानी उत्खनन थालेपछि तमानखोला गाउँपालिका क्षेत्र लगायतकाले ठुलो संख्यामा रोजगार पाउन सक्ने उहाँले बताउनुभयो । उहाँले यस क्षेत्रमा धेरै खानी भएको हुँदा खानी उत्खन्न पश्चात तमानखोलाबासीको दैनिकीसँगै जीवननै परिवर्तन हुने बताउनुभयो ।

‘गाउँपालिकामा यस्ता खानीहरु धेरै छन्, तिनीहरुको उत्खनन सुरु हुने हो भने धेरैले रोजगार पाउँछन्, तमानखोलाबासीले खानीबाटै आत्मनिर्भर बन्न सक्छन्’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘यसको लागि केन्द्र र प्रदेश सरकारले पनि चासो राख्नु छ, सक्रियताका साथ लाग्ने र उत्कृष्ट गुणस्तरको तामा भयो भने सिङ्गो मुलुकलाई नै ठूलो टेवा पुग्न सक्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *