एम्बुलेन्स सहयोग

आदर्श अनलाइन, बागलुङ
आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ ।

व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई काठमाडौँमा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो । नेपाली कांग्रेस बागलुङ–२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताउनुभयो ।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो । रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो ।

रु ४० लाख मूल्य पर्ने एम्बुलेन्स रु ११ लाख ५७ हजारमा खरिद गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । “पश्चिम बागलुङको निसी, भुजी र तमानखोला क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन समस्या थियो”, अध्यक्ष कुँवरले भन्नुभयो, “अब सहज र प्रभावकारीरूपमा एम्बुलेन्स सेवा शुरु गर्छौँ ।”

ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए । नयाँ एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थाले नै गर्नेछ । आजसम्म एम्बुलेन्स बुर्तिबाङ आइपुग्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *