सरोजराज पन्त
२१औँ शताब्दिमा समानता, समन्यायका कुरा हुनु, हिंसा बिहिन समाजको बहस हुनु पर्ने माग एकातिर छ भने अर्कोतिर आज पनि महिलाहरु पुरुषबाट हिंसामा परेका बिषयहरु समय समयमा चर्चामा आउने गरेका छन । नेपाली समाजमा महिला हिंसा सँगसँगै पुरुष हिँसा पनि दिनहँु बढिरहेको बिषय स्पष्ट रुपमा बाहिर आउदैन र पिडितले बाहिर ल्याए सामाजिक प्रतिष्ठामा आच आउने डरत्रासका कारण दबाएर राखेको पाइन्छ । यसरी पुरुष हिंसाका घटना र समस्याहरु ज्यादै कममात्रामा प्रकाशमा आएका छन ।
समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन सोच, संस्कार, विभेद, लैङ्गिक असमानता, परनिर्भरता, अशिक्षा, गरिबी, सामाजिक विभेद, हत्या, बलात्कार, यौन दुव्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार र परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने–गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गर्ने आदि घटनाहरु भइरहेका छन् ।
नर र नारी एक रथका दुई पाङग्राको वकालत गर्ने नेपाली समाज आजसम्म पनि पुरुष प्रधान नै मानिन्छ यद्यपि देश र समाजमा पुरुष हिंसाको कुरा गर्दा आश्चर्य लाग्न सदक्छ । पितृसत्तात्मक नेपाली समाजमा पुरुषको हरेक क्षेत्रमा बर्जश्व रहेको छ कसरी पुरुष हिंसा हुनसक्छ ? यो बिषयमा कसैले विश्वास गर्न सक्दैन । नेपाली समाजको गहन अध्ययनगर्दा लुकेर रहेको तितो यथार्थ पुरुष हिंसा र यसबाट सिर्जित अनेकौ समस्याहरु रहेका छन । तर यो वास्तविकतालाई धेरैले पत्याउन र स्विकार्न कठिन रहेको पाइन्छ ।
पुरुष हिंसा बाहिर ल्याउन नचाहनुका पछाडि धेरै कारणहरु रहेका छन् । ती कारणहरु मध्ये पुरुष हिंसालाई बढवा दिनमा पुरुष भित्रै रहेको पुरुषवादी पुरातन सोच प्रमुख रहेको छ । पीडित स्वयंले आफू पुरुष भएर एउटी नारीबाट भोग्नु परेका पिडा, दुःख, अन्याय, अत्याचार सहेर बस्नु परेकोमा आफैलाई खेद ठान्ने गर्दछ र पुरुष हिंसाका समस्या आफै लुकाउन खोज्दछ । यदि परिवार, समाज र साथीभाइले केही गरी थाहा पाए भने नामर्दसँगै अरु के के भन्लान, समाजमा मेरो हैसियत के होला, कति लज्जित बन्नु पर्ला भन्ने संकोच र डरले गर्दा चुपचाप बस्ने गरेको पाइन्छ । यही कारणले गर्दा अहिले पुरुष हिंसासँगै पुरुषको अपत्यारिदो आत्महत्या दर बढिरहेको छ ।
हिंसामा परि आत्महत्या गरेपनि समाजले अनेकौ प्रश्नहरु उठाइदिन्छ र यथार्थ थाह भएपछि नामर्दको उपमा दिने गर्दछ । नेपाली समाजमा केही महिलाले पुरुषबाट हुने हिंसाका समस्या र घटनाहरु लुकाउने गरेको पाइन्छ यद्यपि तुलनात्मक रुपमा महिलाले भन्दा पुरुषले हिंसाका समस्याहरु लुकाउने गरेको पाइन्छ । एउटा पुरुष महिला हिंसाबाट ग्रसित भएर बस्नु परे पनि दबाएर, लुकाएर राख्नु अर्को समस्या हो ।
सशोधित मुलुकी ऐनले महिलासँगै पुरुषलाई पनि सम्बन्ध विच्छेदको हक प्रदान गरेको छ । तथापि महिलाले भन्दा पुरुषले सम्बन्ध बिछेदको लागि कममात्रामा निबेदन दिन आउने गरेको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने पुरुषबाट महिलाहरू मात्र हिंसा, अन्याय र अत्याचारमा परेका छैनन्, पुरुषहरूपनि महिलाबाट हिंसामा परिरहेका छन् तर आफुले भोगेका मानसिक, पारिवारिक हिंसा पुरुषले महिलाले जस्तै सहज रुपमा पुरुषले देखाएको पाइदैन ।
मानसिक, शारिरीक, सामाजिक, नैतिक, मनोवैज्ञानिक आदि असरको कारण मानिसले अन्तिम विकल्प आत्महत्यालाई लिने गरेको पाइन्छ । आत्महत्या महिला वा पुरुष मध्ये कसले बढी गर्दछन् भन्ने कुरा समाज, सामाजिक मूल्य मान्यता, सामाजिक रहन सहन, जीवन शैली, आर्थिक अवस्था, लैङिक अवस्था, पारिवारिक संरचना, व्यवहार आदिमा भर पर्दछ यद्यपि महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको समग्र तथ्याङ्क छ । पुरुषले दुःख पीडा, कष्ट अरुलाई व्यक्त गर्न नचाहनुले वा कम व्यतm गर्ने भएकोले महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । आत्महत्याको प्रयास गर्नेमा भने पुरुषको भन्दा महिलाहरुको संख्या बढी देखिन्छ । हाम्रो देशमा आत्महत्याका समस्याहरु एक पछि अर्को गर्दै थपिदै गएका छन् ।
यसको अर्थ महिला हिंसामा परेका छैनन भन्ने होइन कि शारीरिक हिंसामा महिला बढी पर्ने गरेका र मानसिक हिंसामा पुरुष बढी पर्ने गरेका छन् । नेपाली समाजमा एउटा नारीले जसरी सहज रुपमा खुलेर दुःख साटासाट गर्न, रोएर दुःख बिसाउन सक्दछिन् तर एउटा पुरुषले आफूलाई श्रीमतीबाट भएको हिंसा खुलेर व्यक्त गर्न, दुःख साटासाट गर्न, रोएर दुःख बिसाउन, रुन कराउन सक्दैन । यसमा पनि सामाजिक मुल्य मान्यता र परम्पराको दोष रहेको छ किनकि सानैदेखि रुन त छोराको आँखामा आँसु सुहाउँदैन भनी सिकाउने यही समाज हो । आजसम्म पनि एउटा पुरुष आफू कुनै नारीद्वारा बलात्कृत भएको उजुरी पत्याउन सक्दैन र विश्वास मान्दैन ।
घरपरिवारमा सामान्य झैझगडा हुनु सामान्य नै हो । त्यसैले बुढाबुढीको झगडा परालको आगो भनिन्छ यसैकारणले हा कि घरमा श्रीमानलाई तथानाम गाली गलौज गर्ने, झाडुले हान्ने, रक्सी पिए कुकुरको मुत पिएर आइस भनी हिंसा गरेको पाइन्छ । अहिले विवाह जुन एक जुनिमा एक पटक गर्ने पवित्र सामाजिक बन्धन हो भनिए पनि यसलाई कमाई खाने भाँडोको बनाएको देखिन्छ । कतिपय महिलाहरूले घर, जग्गा, जमिन, गर गहना सकेर गई, सर्वस्व लुटेर गएका छन ।
हिंसाको मामला, यसको प्रवृत्ति र वर्तमान समाजको बिश्लेषणगर्दा आजकल ग्रामीण भेगका सोझा सिधा गरिब निरक्षर, सामाजिक बन्धनमा बाँधिएका, हक अधिकारबारे ज्ञान कम भएका, श्रीमानको कमाईको भरमा बाच्नुपर्ने महिलाहरू पुरुषबाट पिडित छन भने शहर बजारका शिक्षित, चेतनशील, धनाढ्य, आफनो कमाइमा रमाउने सक्षम महिलाहरूबाट पुरुष हिंसामा परेका छन् ।
यसरी दिनहँु भित्रभित्रै बढीरहेको हिंसा समयमा नै नियन्त्रण गर्न नसके निकट भविश्यमै नेपाली समाजमा पुरुष हिंसाले प्रश्रय पाइ रहने छ भने अनियन्त्रीत, बसाइ सराईले ग्रामीण क्षेत्रमा पनि महिला हिंसालेसँगै पुरुष हिंसाले प्रश्रय पाई सताइ रहने अवस्था छ । घर परिवारको खुशीका लागि विदेशीने पुरुषले ज्यान बाजी थापेर रगतसँग साटेर पठाएको रेमिटान्स यश आराम, प्रेमभोग र यौन लिलाको लागि खर्चिदै गएको देखिन्छ । श्रीमतीलाई सर्बश्व सम्झी दुःखजीलोमा कमाएर पठाएर धन सम्पति बर्षो पछि घर फर्किदा सबै धन सम्पति कुम्लाएर नाबालक छोराछोरीलाई चटक्क छाडेर जाने श्रीमतीले दिने हिंसामा परि थप पिडित बन्ने देखिन्छ ।
यसैगरी समाजमा आत्महत्याका केन्द्रविन्दुमा लामो समय सम्म परिवारबाट अलग भएर वसेका समन्याय, समान अवसर प्राप्त नगरेका, असमान ज्याला, असुविधा, वढ्दो प्रदुषण, नैराश्यता, अस्वस्थ प्रतिस्पर्धा, समन्वयको अभाव आत्मसम्मानमा आँच आउने खतरा भएका, सामाजिक प्रतिष्ठा गुम्ने खतरा भएका वा बढेका, अनावश्यक दवाव वा तनाव भएका ,पारिवारिक बिचलन, यौन समस्यामा रहेका जस्ता कारण आज हाम्रो समाज र देशमा आत्महत्या बढ्दै गएको छ । बेलैमा यो समस्याको समाधानका लागि उचित प्रयास नगरिए देशमा भयावह स्थिति आउन सक्ने खतरा बढ्दै गएको छ ।
अहिले समाजमा पुरुष हिंसा बढी रहेको अवस्था छ । तरपनि पुरुष हिंसाबारेमा नत कलम चलेका छन नत आबाज उठन सकेका छन केबल महिलाबाट हुने हिंसा सहेर बस्न विवश छन । परिवर्तित समाजमा महिला हिंसाका आवाजहरूमात्र होइन पुरुष हिंसाबारेमा पनि आवाज उठाउन जरुरी छ । जीवनरथ हाँक्ने महिला पुरुष अनिवार्य दुई पाङ्ग्रा भएकोले नर र नारीले एक अर्कोमाथि पुर्ण विश्वास गरी अगाध माया दिएर सुख दुःखमा हातेमालो गर्ने र क्षणिक स्वार्थमा नरमाउने हो भनेमात्र महिला र पुरुष हिंसाको अन्त्य गर्न सकिन्छ । कुनै पनि हिंसा न्यूनीकरण गर्न परिवार र समाजको महत्वपुर्ण भुमिका रहन्छ । जबसम्म सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र सवल हुँदैनन् तबसम्म यस्ता सामाजिक समस्याहरु न्यूनीकरण गर्न सम्भव नहुने भएकोले बिद्यमान हिंसा, अन्याय, अत्याचारको निराकरणका लागि आपसी विस्वास, सामाजिक सद्भाव, सम्मान र एकता बलियो बनाएर अगाडि बढन सकेमामात्र महिला पुरुष हिंसाको अन्त्य गर्न सम्भव छ ।