सहकारी बैंकको सातै प्रदेशका एकाई साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको मत्वपूर्र्ण योगदान रहेको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट सोमबार उद्घाटन पछि यस्तो बताउनु भएको हो ।

जनतासंग भएको निष्क्रय पूँजिलाई परिचालन गर्ने देखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान छ, मन्त्री थापा मगरले भन्नुभयो,–अब सहकारीहरुले संकलन गरेको पूँजिलाई उत्पादनमुखी कार्यमा लगाउनु पर्छ ।

अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेको समेत गुनासो आएको प्रसंग कोट्याउदै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सकेमा वास्तविक किसानको घर घरमा पुग्ने उहाँको धारणा थियो ।

गण्डकी प्रदेश सरकारले उत्पादन क्षेत्रमा काम गर्ने किसानहरुका लागि सहयोगको कार्यक्रम बनाएको छ,, मन्त्री थापा मगरले भन्नुभयो –सहकारी बैंक र अन्य सहकारीहरुसंग मिलेर सरकारका योजना कार्यन्वयन गर्न प्रदेश सरकार तयार छ ।

आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि राज्यको प्रमुख सहयोगी संस्थाका रुपमा सहकारी क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा मन्त्री थापा मगरको जोड थियो । कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालन र बैंकका संचालक पार्वती थापा मगरको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो ।
सहकारी बैंकले मंसिर २३ गतेदेखि सञ्चालन गरेको प्रदेश स्तरीय एकाई सभा गण्डकी प्रदेशको कार्यक्रमसंगै सकिएको छ । ७ वटै एकाईसभाबाट छनोट भएका एकाई प्रतिनिधिहरुको सभा पुस ३ गतेका लागि आयोजना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट घोषणा
राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा घोषणा भएको छ । बैंकको १७ वार्षिक साधारणसभा अन्तरगत सोमबार सम्पन्न गण्डकी प्रदेश स्तरीय एकाई सभामा बागलुङ शाखालाई उत्कष्ट घोषणा गरिएको हो । ४४ वटा शाखा मध्ये यस वर्ष बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा चयन भएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सरिता भट्टराईले जानकारी दिनुभयो ।

२०६५ सालमा बैंकको दोस्रो शाखाका रुपमा स्थापना भएको बागलुङ शाखामा धौलागिरी क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सहकारीहरुले कारोबार गर्दै आएका छन् ।

यस्तै बैंकले प्रदान गर्ने पुरस्कार अन्तर्गत बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारीहरु मध्ये गण्डकी प्रदेशको पोखरास्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ ।

बैंकले प्रदेश स्तरमा २ वटा संस्थालाई पुरस्कृत गर्दै आएको छ । गण्डकी प्रदेशबाट वचत तथा ऋण विधामा नवलपरासी (सुस्तापूर्व) को देवचुलीस्थित परोपकार वचत तथा ऋण सहकारी संस्था र अन्य विधामा कास्कीको पोखरास्थित काहुँदेउराली बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका छन् ।

बैंकले शाखा स्तरमा प्रदान गर्ने उत्कृष्ट र नियमिततर्फ कावासोती शाखाबाट किसान बचत तथा ऋण सहकारी संस्था गौडाकोट र महाराजा वचत तथा ऋण सहकारी संस्था कावासोती, दमौली शाखाबाट तिनखोले वचत तथा ऋण सहकारी संस्था र मादीसेती वचत तथा ऋण सहकारी संस्था, पोखरा शाखाबाट अलकापुर वचत तथा ऋण सहकारी संस्था र लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्था, वालिङ शाखाबाट शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था र बागलुङ शाखाबाट बागलुङ बहुउद्देश्यीय सहकारी संस्था र बागलुङ दुग्ध उत्पादक सहकारी संघ पुरस्कृत हुने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *