पत्रकार महासंघ बागलुङको १२ औं साधारणसभाः १० बुँदे प्रस्ताव पारित

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १२ औं वार्षिक साधारणसभाबाट १० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

महासंघको नवनिर्मित भवनको उद्घाटन सहित मंगलबार सम्पन्न साधारणसभाले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारका लागि बनेको श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण सञ्चार माध्यमलाई आव्हान गरेको छ ।

श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनको अवस्थाको महासंघले अनुगमन गर्ने र कार्यान्वयन नभएको पाइएमा खबरदारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

कोरोना (कोभिड–१९) को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कामबाट निकाल्ने, तलव नदिने, कोरोनाको बहाना बनाएर विदा दिने जस्ता कार्यप्रति गंभिर ध्यानाकर्षण गर्दै कामबाट निकालिएका पत्रकारहरुलाई पुर्नबहाली गर्न, नियमित रुपमा तोकिएको तलव उपलब्ध गराउन साधारणसभाले माग गरेको छ ।

यसैगरी,स्थानीय पालिकाहरुले कोभिड–१९ बाट प्रभावित पत्रकारहरुको सुरक्षाका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्न, सूचनाको हक पूर्ण कार्यान्वयन गरी सञ्चारमाध्यमलाई आफ्नो कार्यालय तथा संघ संस्थाको सूचना उपलब्ध गराउन तथा त्रैमासिक रुपमा कार्यसम्पादनलाई सार्वजनिक गर्न, आफ्ना सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको क्षमता विकास, पेशागत सुरक्षाको आवश्यक व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

समाचारको विषयलाई लिएर पत्रकारहरुलाई डर धम्की दिने, प्रलोभन देखाउने, अनावश्यक लाञ्छना लगायत जस्ता कार्य नगर्न तथा समाचारप्रति कुनै गुनासो भएमा प्रक्रियागत ढंगले अगाडि बढ्न सरोकारवालालाई आग्रह गरिएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चार क्षेत्रका लागि दिने विज्ञापन नीतिलाई प्रभावकारी बनाई समानुपातिक रुपमा वितरण गर्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै दिने व्यवथा गर्न माग गरिएको छ ।

बागलुङको विकासको मेरुदण्डका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडावाँधे खण्ड आगामी जेठ भित्र सम्पन्न गर्ने गरी भएको निर्णय कार्यान्वयन गर्न तथा अन्य खण्डको स्तरोन्नति गर्न र कालीगण्डकी करिडोरको हस्तान्तरण भएको सडक खण्ड कालोपत्रे तथा अन्य खण्डको स्नरोन्नति समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराइएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण अभियानमा सहयोग गर्ने संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी, निजी तथा सहकारी कार्यालय संघ संस्था, व्यक्तिहरु लगायत महासंघमा आवद्ध सम्पूर्ण पत्रकारहरुमा धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

साथै,लोकतान्त्रिक आन्दोलन तथा प्रेस स्वतन्त्रताको अभियानमा आफ्नो जिवन उत्सर्ग गर्ने सम्पूर्ण पत्रकार तथा धौलागिरीको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’ का सम्पादक÷प्रकाशक ओमकार प्रसाद गौचन लगायत प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *