आदर्श अनलाइन, पोखरा
अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुँदै आएको पोखरा सडक महोत्सव पुष १५ देखि हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने महोत्सव यस वर्ष ३ दिनसम्म आयोजना गर्न लागिएको हो । महोत्सवमा कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने बताइएको छ ।
बुधबार पोखरामा रेवानले गरेको पत्रकार सम्मेलनमा विषम परिस्थिति भए पनि महोत्सवलाई निरन्तर दिन लागिएको आयोजकले जानकारी दिएको छ । महोत्सव विगत २१ वर्षदेखि पोखराको लेकसाइडमा आयोजना हुँदै आएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै रेवानका अध्यक्ष लक्ष्मण बरालले कोभिड १९ को संक्रमणका कारण ९ महिनादेखि पर्यटनसँग सम्बन्धी कुनै गतिविधि हुन नसकेको कारण व्यवसाय चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन” अध्यक्ष बराल भन्नुहुन्छ । महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुने पनि उहाँको भनाइ छ । विगतका वर्षहरुमा महोत्सव ५ दिनसम्म आयोजना गरिन्थ्यो । तर यस वर्ष विभिन्न पक्षसँगको छलफल पश्चात स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय भएको उहाँले जानकारी दिनु भयो ।
२२ औं पोखरा सडक महोत्सवका संयोजक वसन्त गौतमले यस पटक तडकभडक र ठूलो तामझाम नगरिकन कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । संयोजक गौतमले भन्नुभयो “ महोत्सवबाट हामीले पोखरा खुल्लै छ र पर्यटन व्यवसायी पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुहुन्छ भन्ने सन्देश दिन खोजेका हौँ ।” महोत्सवको आयोजनाबाट सुस्ताएको पर्यटन क्षेत्रमा गतिशिलता दिइ व्यवसायीमा उत्साह थप्न सकिने विश्वास आयोजकको रहेको गौतमले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमूख पर्यटकीय क्षेत्रहरु खुल्ने जानकारी दिनु भयो । विहिबारबाट पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुल्ने र अन्य मन्दिर, गुफा र भ्यू टावर पनि क्रमशः खुलाउन सरोकारवाला सकारात्मक भएको परिषद् अध्यक्ष भट्टराईको भनाइ छ ।
त्यसैगरी रेवानका सल्लाहकार सुर्य भूजेलले सडक महोत्सवमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहने विश्वास व्यक्त गर्नु भयो । कोभिड संक्रमणका कारण ९ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरु महोत्सवका कारण उत्साहित भएको उहाँको भनाइ छ ।
रेवानका महासचिव विकास भट्टराईले संचालन गरेको कार्यक्रममा महोत्सवका सहसंयोजक तथा रेवानका सचिव भिष्म राज पौडेलले महोत्सवमा अपनाइने स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा प्रकाश पार्नु भएको थियो ।
यसवर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने, ३ बजेदेखि १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष नहुने भएको छ । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।