सम्पादकीय
पछिल्लो समय गाउँ–गाउँमा पनि व्यावसायिक सोच र अभ्यास देखिन थालेको छ । खासगरी विदेशबाट कोरोना कहरसँग घर फिर्ता भएकाहरु आफ्नै गाउँ ठाउँमा केही गरौ भन्ने सोचमा छन् । चाहे त्यो भारतबाट आएको ठुलो संख्याका नागरिक हुन् या खाडी लगायतका देशबाट फिर्ता आएका युवाहरु होउन् । विदेशको दुःख दोहो¥याइरहने पक्षमा देखिन्नन् । किनकी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले पनि भौतिक सुख,सम्पती केही होइनन् भन्ने मानव जगतलाई राम्ररी बोध गराएको छ । र त रेमिट्यान्सको लहडमा परदेशिएकाहरु र परदेशिन दबाब दिने अभिभावक र आफन्तहरु पनि आफ्नै माटोमा बस्न र रमाउन आकर्षित र प्रोत्साहित गर्ने अभियानमा छन् ।
उसो त विदेशबाट आउनेहरु मात्रै होइन । नेपालमै भएकाहरुमा पनि आफ्नै ठाउँमा नयाँ–नयाँ काम गर्ने योजना र अभ्यास थालनी भएको छ । बिशेषतः कोरोना कहर पछि शहर बजारमा रेमिट्यान्स मोहमा झरेकाहरु पनि गाउँ फिरेका छन् । बालबच्चा पढाउन सदरमुकाम आएका अधिकांश बुहारीहरु गाउँघरमै पढाउने र आफुले पनि केही काम गर्ने अभियानमा छन् । यस्तो प्रयास कतै आफु र आफ्नो परिवार आत्मनिर्भर बन्न बनाउनका लागि मात्रै पनि भएको छ भने कतै व्यावसायिक रुपमै आयआर्जनका लागि कृषि खेती, पशुपालन, अरु उत्पादनमूलक कार्यमा स्थानीय र महिलाहरु समेत अग्रसर हुन थालेका छन् । यसको पछिल्लो उदाहरण बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका महिलाहरु हुन् । यहाँका महिलाले त सामूहिक रुपमै व्यावसायिक तरकारी खेती गरिरहेका छन् । कुनै समय आफुले उत्पादन गरेको तरकारीले आफ्नै भान्छालाई पनि नपुग्ने अवस्था भोगका स्थानीय महिला अहिले आत्मनिर्भर बनेका छन् । आत्मनिर्भर मात्रै होइन, व्यावसायिक कृषकको परिचय समेत बनाउन थालेका छन् । दुदिलाभाटीका ८ जना महिलाले गाउँकै ३ जना पुरुषलाई सहभागी बनाएर मेलमिलाप एकीकृत कृषक समुह गठन गरेर ८ महिना अगाडी कृषि फार्म थालेका हुन् । उनीहरुले ३५ रोपनी जग्गामा सामुहिक तरकारी खेती गरेका छन् । गाँउकै सहकारीबाट १ लाख ४० हजार रुपैयाँ ऋण लिएर तरकारी खेती सुरु गरेको समूहले १ वर्षमै खर्च कटाएर ५ लाख आम्दानी गर्न सफल भएको छ । र अरु आम्दानी भएको रकम थप खेती विस्तारमा लगाएको छ ।
दुदिलाभाटीका महिलाहरुले गरेको प्रयास हाम्रा समाजका लागि सकरात्मक कदम हो । रेमिट्यान्स मोह र भौतिक विलासितामा रमाउने होडले गाउँ रित्तिन थालेका छन् । यस बेला गाउँमै बस्ने, बस्दा पनि उत्पादनमूलक कार्य गर्ने, त्यसबाट आयआर्जन कमाएर आफ्नो र परिवारको दैनिक आवश्यकता परिपुर्ति गर्ने विकल्प, सम्भावना र अवसरका लागि यस्ता सत्प्रयास जरुरी छ । यसले अर्को महत्वपूर्ण सन्देश र उत्प्रेरणा पनि के दिएको छ भने महिलाहरु कमजोर हुन्छन् या पुरुषका दास हुन् या आफै नेतृत्व र निर्णय गर्न सक्दैनन् भन्नेहरुका लागि पनि यो कर्मबाटै राम्रो जवाफ हो । अतः यस्ता सत्प्रयासहरुलाई स्थानीय सरकार, अरु सरोकारवाला निकाले पनि प्रर्वद्धन र प्रोत्साहित गर्नुपर्छ ।