आप्रवासन दिवस:‘समाधान खोज्न विदेशिएका आँफै समस्या नबनुन्’

कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिसस प्रमुख राजेन्द्र ढुंगाना ।

सन्दर्भः बागलुङमा आप्रवासन दिवस

आदर्श अनलाइन, बागलुङ

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बागलुङमा शुक्रबार सुरक्षित आप्रवासनका बिषयमा अन्र्तक्रिया गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौता अनुसार सामी हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय पालिकाको नेतृत्व र बिवाइसी बागलुङको पहल तथा व्यवस्थापनमा जिल्लामा सञ्चालित सामी परियोजना मार्फत आयोजित अन्र्तक्रिया कार्यक्रमका सहभागीले सके सम्म रोजगार सिर्जना गरेर देशमै राख्न प्रयत्न गर्नुपर्ने र जानै पर्ने बाध्यात्मक अवस्थामा पनि बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरुले व्यक्तिगत र पारिवारिक समस्या समाधान गर्ने सोच र सपना सहित परदेशिएकाहरु आफै समस्या बनेर आएको उल्लेख गर्दै अब सरकार, सरोकारवाला र सम्बन्धित नागरिक सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले नेपालीको श्रम बेचे पनि यथोचित मूल्यका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । विदेश गएकाहरुले पठाएको रेमिट्यान्स उत्पादनमूलक कार्यमा लगानी हुन नसकेकाले तीन तहको सरकारले ठोस नीति, कार्यक्रम र योजना ल्याउनुपर्ने उहाँको भनाई छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले विदेशबाट आउने कमाई (रेमिट्यान्स) सँगै विदेश जाँदा गरेको लगानी, त्यसको ब्याज र दुःख पनि हिसाब गर्न आवश्यक रहेको बताउनुभयो । बिदेशबाट आएको विप्रेषणको जम्मा दुई प्रतिशत मात्र उत्पादनमूलक कार्यमा लगानी भएको तथ्यांक रहेकाले यसले दीगो आर्थिक विकास हुने भ्रमबाट सबै मुक्त हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थराज गौतम, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा,अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुसुम बुढा, पत्रकार तारानाथ आचार्य लगायतले आप्रवासनका बिषयमा आफ्ना धारणा तथा सुझाव राख्नुभएको थियो । कार्यक्रममा सुरक्षित अप्रवासन परियोजनाका जिल्ला संयोजक मिनप्रसाद उपाध्यायले जिल्लामा सञ्चालित सामी परियोजना,यसले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयनाथ गौतमको स्वागत मन्तव्य र नवीन शिशिर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *