सुगम तर्फ दाैडिँदै तमानखोला

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला जिल्ला सदरमुकामदेखि दुरको गाउँ । भौगोलिक बनावटका हिसाबले दुर्गम ठाउँ । दुर्गमताकै कारण यो क्षेत्रले विकास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतमा निकै पिछडिएको उपेक्षित भएको वर्षौदेखि नमिठो अनुभव र पीडा भोगिरह्यो ।

तर, देश नयाँ संघीय अभ्यासमा गएसँगै तमानखोला गाउँपालिकाका बासिन्दाले दुर्गमको परिचय र पीडाहरु कम हुँदै गएको अनुभूति गर्न थालेका छन् । अहिले गाउँपालिकाका अधिकांश गाउँ र टोल टोलमा मोटरबाटो पुगेको छ । खानेपानी, स्वास्थ्य, शिक्षामा पनि उल्लेख्य पहुँच पुगेको छ । केही वर्ष अगाडी सम्म मोटर गाडी नदेखेका बुढापाकाले आफ्नै घर अगाडी दैनिक गाडी गुडिरहेको देख्ने अवसर पाएका छन् ।

तमानखोला गाउँपालिका वडा नम्बर २ की दिलकुमारी रसाइली अहिले ७० वर्ष पार गरेर ७१ वर्षमा लाग्नुभयो । उहाँले आफ्नो जीवनकालको करिब ६५ वर्ष मोटर गाडी देख्नु भएको थिएन । केही समय अगाडी मात्रै पहिलो पटक गाउँमै गाडी देखेको बताउनुहुन्छ । अहिले आफ्नै घरै अगाडी गाडी गुड्दा उहाँ दंग हुनुहुन्छ । आँगनको डिलमै बसेर उहाँ सधै गाडी गुडेको नियाल्नु हुन्छ । ‘पहिले त मलाई यो गाडी के हो भन्ने थाहा नै थिएन, कसै–कसैले भनेको सुनेको थिएँ तर देखेको थिएन,’ दिलकुमारी हाँस्दै भन्नुभयो ‘अहिले यही घरकै छेउमा आउँछ, सधै देख्न पाएको छु, रमाइलो लाग्छ ।’

गाउँ मोटरबाटो नआउँदा बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गरेको नमिठो अनुभव सुनाउनु भयो । रसाइलीले समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा बाटोमै धेरैले ज्यान गुमाएको स्मरण गर्दै आजभोली २/४ घण्टामै अस्पताल पु¥याउन सकिने बताउनुभयो ।

‘पहिले त कति दुःख थियो, कसैलाई दुःख बिमार लाग्दा १/२ दिन डोकोमा बोकेर अस्पताल पु¥याउनु पथ्र्यो, समयमै अस्पताल पु¥याउन नसक्दा धेरैले बाटोमै ज्यान गुमाउँथे,’ उहाँले भन्नुभयो ‘अहिले त बिरामी हुँदा साथ अस्पताल पुगिन्छ, समस्या छैन, अझै यही तल पनि अस्पताल बनेको छ, सानोतिनो बिरामी पर्दा एकै छिनमा हिँडेर पनि पुग्न सकिन्छ ।’

तमानखोला गाउँपालिका वडा नम्बर–१ का तुलबहादुर छन्त्यालले गाउँमा स्थानीय सरकार गठन भएपछि धेरै परिवर्तन आएको बताउनु हुन्छ । उहाँले गाउँहरु मोटरबाटोले जोडिनुका साथै बिजुली बत्तीले गाउँनै झिलिमिली भएको, स्वास्थ्य र शिक्षाको पहुँच पनि पुगेको बताउनुभयो ।

‘हामीले हाम्रै पालामा यस्तो विकास होला भनेको सोँचेकै थिएनौँ, यो निकै अचम्मको भयो, पहिले त अँध्यारोमा बस्नु पथ्र्यो, तलतल बजारमा बिजुली बत्ती बल्दा हामीले हाम्रो गाउँमा पनि बल्छ भन्ने त कल्पना पनि गरेका थिएनौँ, तर यति छिटै गाउँमा बिजुली बलिसक्यो,’ छन्त्यालले भन्नुभयो ‘हाम्रा पालामा गाउँ स्कुल भन्ने थिएन, त्यही भएर पढ्न नि पाएनौँ, अहिले त जताततै स्कुलै स्कुल छन् ।’

छन्त्यालले गाउँमा मोटरबाटो नआउँदा राशन तेलको जोहो गर्नका लागि हप्तौँ दिन यात्रा गर्नु परेको सम्झिँदै अहिले घर–घरमा पसल संचालन हुन थालेको बताउँनुहुन्छ ।

हप्तौँ दिन लगाएर चामल नुन तेल बुटवलबाट बोकेका बुढापाका गाउँमा मस्तै छन् । अहिले घर नजिकै पसलै पसल देख्दा ठुलो परिवर्तन आएको उनीहरु बताउँछन् ।

‘पहिले हामी हप्तौँ दिन लगाएर बटौली गएर नुन, चामल बोकेर ल्याउँथ्यौँ, धेरै दुःख पायौँ त्यस बखत, अहिले त गाउँमै थुप्रै पसल खुलेका छन्, गाउँमै गाडी आउँछ,’ स्थानीय छन्त्यालले भन्नुभयो ‘गाउँमा गाडी आएपछि धेरै सुबिस्ता भएको छ, उतिबेला त घोडा हुनेले घोडामा सामान ल्याउँथे, नहुने त आफै बोकेर ल्याउने गथ्र्यौ ।’

छन्त्यालले लामो समय टुकी र दियालोको भरमा रात बिताएको अनुभव सुनाउँदै अहिले बिजुली बत्तीले गाउँ घर झलमल्ल भएको बताउनुभयो । उहाँले मट्टितेल किन्नका लागि समेत घण्टौँ लगाएर पसलमा जानु परेको स्मरण गर्नुभयो ।

‘हामीले त धेरै लामो समयपछि बिजुली बालेका हौँ, तल–तल बजारमा झलल बिजुली बलेको देख्दा पनि निकै रमाइलो लाग्थ्यो, अहिले त जताततै झिलिमिली छ,’ छन्त्यालले भन्नुभयो, ‘माथी लेकलेकमा पनि बिजुली बल्छ अहिले त, पहिले हामीले बालेका टुकी, दियालो त कता हराइसक्यो ।’

तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानीका प्रेम छन्त्यालले गाउँमा धेरै परिवर्तन आएको बताउनुभयो । नागरिकता बनाउन तथा घर जग्गाको काम गर्नका लागि हप्ता दिन हिँडेर बागलुङ आउने परेको भन्दै अहिले एकै दिनमा हुने बताउनुभयो ।

‘उतिबेला त मोटर गाडी केही थिएन, हिँड्दै बागलुङ जानुपथ्र्यो, ३/४ दिन भन्दा बढी समय लगाएर पुग्ने गरिन्थ्यो । अहिले घर अगाडी गाडी आउँछ, बिहान चढ्यो भने दिउँसो पुगिन्छ, साँझ सम्म फर्किन्छ,’ उहाँले भन्नुभयो ‘उतिबेला निकै दुःख भयो हामी नर्जाखानीका जनतालाई ।’

उहाँले खानेपानीको समस्या समेत समाधान हुँदै गएको बताउनुभयो । केही वर्ष अगाडीसम्म गाउँमा खानेपानीको निकै समस्या भएकोमा अहिले घर–घरमा धारा निर्माण भएको बताउनुभयो । खानी बोक्नकै लागि घण्टौ लाइन बस्नु पर्ने समस्या अहिले हटेको उहाँको भनाई छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनताले अनुभूति हुने गरी काम गरिरहेको बताउनुभयो । उहाँले सुरुवाती चरणमा जनताको आधारभूत आवश्यकतालाई प्राथमितामा राखेका काम भइरहेको बताउनुभयो ।

‘हामी निर्वाचित भएर आएपछि त्यति धेरै काम त गर्न सकेका छैन । जनताको आधारभूत आवश्यकतालाई प्राथमिताका राखेर काम गरिरहेका छौँ,’ अध्यक्ष बुढाले भन्नुभयो, ‘करिब–करिब सबै वडामा केही मात्रामा भए पनि जनतालाई विकासको महुशुस हुने काम गरेका छौँ ।’

उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, यातायात लगायत सबै किसिमका विकासका पूर्वाधार निर्माणको चरणमा रहेको र केही पुरा भएको बताउनुभयो । अध्यक्ष बुढाले शिक्षा र स्वास्थ्यमा बढी प्राथमिकता दिएको जानकारी दिनुभयो ।

‘हामीले शिक्षा र स्वास्थ्यलाई महत्वका साथ जोड दिएका छौँ, यो सँगै अरु पर्यटनलाई पनि अगाडी लैजाने तरिकाले काम गरेका छौँ,’ उहाँले भन्नुभयो ‘हरेक वर्ष फरक फरक क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्ने योजनामा छौँ, हामीलाई लाग्छ–जनताले थोरै भए पनि विकासको अनुभूति गरेका छन् ।’

गाउँपालिकाले सबै वडाको सबै टोल–टोलमा मोटरबाटो पु¥याएको भन्दै विद्यालय भवन निमार्ण,स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र स्वास्थ्य परामर्श केन्द्रलाई व्यवस्थित बनाउने तर्फ बिशेष महत्व दिएको छ ।

‘गाउँपालिकाले बिशेष गरी शिक्षा र स्वास्थ्यलाई व्यवस्थित गराउने चरणमा छ, सबै विद्यलायमा गुणस्तरिय शिक्षा प्रदानका लागि भवन निर्माणदेखि अन्य व्यवस्थापन भइराखेको छ भने स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र स्वास्थ्य परामर्श केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन र औषधी व्यस्थापनको काम भएको छ,’ अध्यक्ष बुढाले भन्नुभयो ‘हामीले अब सडक स्तरोन्नती र पर्यटन विकासमा पनि जोड दिन थालेका छौँ ।’

किसान, गरिब, दलित, महिला, बालबालिका तथा सबै लक्षित वर्गका लागि विभिन्न किसिका कार्यक्रम ल्याइएको भन्दै यसबाट उनीहरुको व्यक्तिगत तथा आर्थिक विकास हुने अपेक्षा राखेको अध्यक्ष बुढाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *