बागलुङमा बृहत प्रदर्शन र कार्यक्रम, कोरोना जोखिम सकिएकै हो ?

डम्मर बुढा मगर, बागलुङ
सदरमुकामको पछिल्ला कार्यक्रम, बिरोध प्रर्दशन र गतिविधिले कोरोना संक्रमणको जोखिम पूर्ण रुपमा हटे जस्तो आभाष हुन्छ । बजार दैनिक मानिसहरुको भीडभाड छ । नारा जुलुस उस्तै, न त्यहाँ सामाजिक दुरी छ, न अरु स्वास्थ्य सुरक्षा मापदण्डको पालना ।

यद्यपी सरकारले अझै पनि भीडभाड नगर्नु, स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्न निर्देशन दिइरहेको जिकिर गर्छ ।

लामो समयको कोरोना सकस बीच सदरमुकाममा विभिन्न दल तथा संघ संस्थाले खुलेरै खुला मञ्चमा कार्यक्रम गरेका छन् । कार्यक्रममा सहभागीले मास्क, सेनीटाइजर प्रयोग, सामाजिक दूरी कायम लगायत स्वास्थ्य मापदण्ड पालनामा पनि बेवास्ता गरेको देखिन्छ ।

पछिल्लो समय नेपाली काँग्रेसले सरकारको बिरुद्ध बृहत बिरोध प्रदर्शन ग¥यो । उक्त प्रदर्शनमा २ हजार बढी कार्यकर्ता सहभागी भएको कांग्रेस जिल्लासभापति दिपेन्द्र थापा दाबी गर्नुहुन्छ ।

त्यसलगत्तै स्वतन्त्र युवा मञ्चले राजतन्त्रको पक्षमा अझ ब्यापक जुलुस सहित प्रदर्शन गरेको छ । सरकारको गतिविधिका कारण सडकमै निस्केर बोल्नै पर्ने बाध्यताका कारण प्रदर्शन गरिएको मञ्चका अध्यक्ष सञ्जय खड्काले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले पनि यही बीचमा सरकारकै बिरोधमा ठुलै मोटरसाइकल ¥याली गरेको छ । उसो त नेपाल पत्रकार महासंघले पनि यसै साता आफ्नो नवनिर्मित भवन उद्घाटन र साधारणसभा सम्पन्न गरेको छ । मंसिर मसान्त सम्ममा साधारणसभा सम्पन्न गर्नैपर्ने बाध्यता र भवन निर्माण उद्घाटन पछि एक वर्षदेखि स्थगित भइरहेकाले अहिले उद्घाटन गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा केही अतिथि बाहेक अन्य सबै पत्रकारको उपस्थिति गराईएको उहाँको भनाई छ । यस्ता कार्यक्रममा जिल्लाका प्रहरी प्रशासनका प्रमुख समेत सहभागी भइरहेका छन् । अझै कतिपय ठुला भीडभाड हुने व्यवसाय बन्द गरिरहेको अवस्थामा सरकार र यसका निकायले की सबै खुल्ला या त निषेध भनिएका गतिविधि रोक्न सक्नुपर्ने नागरिक बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि विद्यालयहरु सम्बन्धित पालिकाले संचालन गर्न थालेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अन्य दैनिक क्रियाकलाप पनि अब सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।

‘जिल्लामा कोरोना संक्रमितको संख्या घटिरहेको छ, सक्रिय संक्रमित पनि कम भएका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले सुरक्षा मापदण्ड अपनाउनका लागि पनि निर्देशन दिई राखेका छौँ, सुरक्षित रुपमा क्रियाकलाप गर्न भनिरहेका छौँ ।’

२५ जनासम्म सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गर्न केन्द्रबाटै निर्देशन दिएको भन्दै त्यसभन्दा बढी सभा समारोह गर्न नपाइने प्रजिअ न्यौपानेले बताउनुभयो । सरकारको निर्देशनलाई जर्बजस्त या लापरबाही गरेर उल्लङ्घन गर्नेलाई कारवाही गरिने प्रशासनको चेतावनी छ । तर जिल्ला सदरमुकाममा हुने विभिन्न ¥याली, सभा, समारोह तथा विरोध प्रद्धर्शन हुँदा प्रशासनले केही गर्न सकेको छैन । उल्टै मुकदर्शक बनेको छ ।

स्वास्थ्य सुरुक्षा मापदण्ड नअपनाएकालाई सचेत बनाइएको उहाँको भनाई छ । आफ्नो स्वास्थ्य सँग जोडिएको संवेदनशील बिषय पनि प्रशासनले एकातिर खरबदारी गर्ने नागरिकले अर्को तिर लापरवाही गर्ने भइरहेको उहाँले बताउनुभयो ।

‘२५ जनासम्म जम्मा भएर कार्यक्रम गर्न पाइन्छ, त्यसभन्दा बढी जम्मा भएर भिडभाड गरेर गर्न पाइँदैन, अरु औपचारिक कार्यक्रम पनि त्यही अनुसार भएका छन्’ उहाँले भन्नुभयो ‘तर विभिन्न दलहरुले आफ्नै तरिकाले कार्यक्रम गरेका छन् । उहाँहरुलाई हामीले स्पष्ट भनेका छौँ तपाईहरुका कारणले जिल्लामा कोभिड बढ्न हुँदैन, उहाँहरुलाई पनि हामीले खबरदारी गरिराखेका छौँ ।’

प्रशासनले कार्यक्रम सुरक्षित रुपमा गर्न भने पनि जिल्लामा विभिन्न पार्टी र संघ संगठनले त्यसको ठाडो उल्लङ्घन गर्दै कार्यक्रम तथा विशाल ¥याली समेत गरेका छन् । अस्तव्यस्त रुपमा सुरक्षा मापदण्ड नअपनाई कार्यक्रम गर्दा समेत प्रशासनले केही गर्न नसकेको स्थानीयको गुनासो छ । प्रहरी प्रशासन राजनीतिक दबाबका कारण नियम उल्लङ्घन गर्नेलाई कारवाही गर्न नसकेको उनीहरुको आरोप छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कोरोना संक्रमणको जोखिम घट्यो भनेर हेलचक्राई गर्न नहुने बताउनुभयो । उहाँले कोभिडको लक्षण नदेखिपछि परीक्षण गर्नेको संख्या घटेको बताउनुभयो । ‘

कसैले पनि कोरोना संक्रमणको जोखिम घट्यो भनेर हेलचक्राई गर्नु हुँदैन, जसले हेलचक्राइ गर्छ, ऊ अवश्य संक्रमित नबन्ला भन्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘लक्षण नदेखिएपछि परीक्षण गराउनेको संख्या पनि कम भइरहेको छ, त्यसले गर्दा अलिकति जनमानसमा जोखिम कम भएको हो कि भन्ने हुन सक्छ तर कम भएको भने छैन ।’

उहाँले बाहिरी जिल्ला तथा विदेशबाट आउनेहरु पनि अहिले सिधै घरमा आउने तर सम्बिन्धत निकायलाई जानकारी नगराएको बताउनुभयो । उहाँले सतर्कता र स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्नु पर्नेमा जोड दिनुभयो ।

जिल्लामा अहिले ४६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार जिल्लामा ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस अनुसार, ८ सय ४० जना निको भएर घर फर्किसकेका छन् । संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लाभर १० हजार ४ सय ७८ जनमा पीसीआए परीक्षण गरिएको थियो भने २ हजार १ सय ५१ जनामा आरडीटी परीक्षण गरिएको थियो ।

सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिकाका भएका छन् भने सबैभन्दा कम निसीखोलाका भएका छन् । बागलुङ नगरपालिकाका ४ सय २९ जना संक्रमित भएका छन् भने निसीखोलाका १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

गलकोट नगरपालिकाका १ सय १९, ढोरपाटन नगरपालिकाका, ४० जना, जैमिनी नगरपालिकाका ४६ जना, काठेखोला गाउँपालिकाका ९२ जना, बडिगाड गाउँपालिकाका ४६ जना, तमानखोला गाउँपालिकाका २८ जना, ताराखोला गाउँपालिकाका २१ जना र बरेङ गाउँपालिकाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणबाट बागलुङ नगरपालिकाका ४ जना, गलकोट नगरपालिकार जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका १/१ जनाको मृत्यु भएको थियो । हाल बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका बाहेक अन्य सबै पालिका कोरोना संक्रमण मुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *