ठेकेदारको प्रतिबद्धतापछि लोकमार्गको बागलुङ खण्डले गति लियो

खेमराज गौतम, बागलुङ
लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तिब्रता पाएको छ । सम्र्पक विहिन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ महिना भित्रै कालोपत्रे गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । सम्पर्कमा आएका ठेकदराले लिखित प्रतिबद्धता जनाएलगत्तै लोकमार्गको बागलुङ सदरमुकाम देखि घोडाबाँधे खण्डले गति लिएको छ ।

लोकमार्गको बागलुङ बजारको उपल्ला चौर देखि अछेत बिहुँ सम्मको १३ किलोमिटरमा १५० मिटर चट्टान कटिङको काम बाँकी रहेको थियो भने बिहुँदेखि घोडाबाधे खण्डको १२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि कच्चापदार्थको अभावमा काम अगाडी बढ्न सेकेको थिएन । अहिले दुबै खण्डमा निर्माणले तिब्रता पाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

अहिले बागलुङ देखि अछेते बिहुँ खण्डमा पर्ने बागलुङ नगरपालिका–३ खहरेको भीर कटानको काम भइरहेको र बिहुँ देखि घोडाबाधे खण्डमा क्रसर सञ्चालन थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिनुभयो । “उपल्लो खण्डमा कच्चा पदार्थको अभाव थियो, त्यसको समाधान भएको छ, तल्लो खण्डको मुख्य समस्याका रुपमा रहको खहरेको चट्टान अहिले धमाधम कटान भइरहेको छ” मरासीनीले भन्नुभयो “ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रेका लागि काम शुरुभएको छ ।”

मरासीनीका अनुसार तल्लो खण्डमा खानेपानीको पाइप हटाउने र घरको मुआव्जा दिने कार्य अगाडी बढ्न बाँकी रहेको छ । लोकमार्गको टाउको दुखाईको रुपमा रहेको बोक्सेखाल्टोमा ग्याविन चिन्न समेत थालिएको छ ।

१५० मिटर लामो चट्टान कटान ५० प्रतिशत सकिएको छ लोकमार्ग आयोजना बागलुङ घोडाबाँधे खण्डका इन्चार्ज इन्जिनियिर उज्जल शर्माले जानकारी दिनुभयो । “खहरेको भीरमा जम्मा ३.५ मिटर सडकमा सवारी आउजाउ गरिरहका थिए” शर्माले भन्नुभयो “अहिले ९ मिटर चौडा बनाउने गरी धमाधम सडक कटान भइरहेको छ, १० देखि १५ दिनमा सबै चट्टान कटान गरेर सकिन्छ ।” शर्माका अनुसार उपल्लो खण्डलाई आवश्यक कच्चा पदार्थ गलकोट नगरपालिका–१ चौराह स्थित सामुदायिक वनबाट प्रति ट्रिपर एक हजा २०० मा खरिद गर्ने सम्झौता भएपछि उपल्लोखण्डमा ४० जना कामदार नाली निर्माणमा खटिएका छन् । यस्तै तल्लो खण्डमा ६० जना कामदार नाली तथा ग्याविन जाली निर्माणमा खटिएको शर्माको भनाई रहेको छ ।

ठेक्का सम्mभौता भएको पाँच वर्ष वित्नै लागदा समेत कालोपत्रे हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता भएपनि म्याद सकिने समयमा निर्माणले तिब्रता पाउदा केही आश पलाएको छ । ट्रयाक खोलेको २० वर्ष बितिसक्दा समेत कालोपत्रे नभएकोमा यहाँका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेताहरुले चर्को आलोचना समेत खेप्दै आएका छन् ।

कुल १ हजार ७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ । बागलुङको लाईफलाईनको रुपमा जोडिएको सडक मध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौर देखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । पाँच वर्ष वित्नै लाग्दा आयोजनाको जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगती भएको भएको छ ।

लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । सदरमुकाम देखि बिहुँ सम्मको खण्डमो ठेक्का अवधी यही माघ १२ र बिहुँदेखि घोडाबाधे खण्डको ठेक्का मिति माघ ९ गते सकिदैछ । दुबै निर्माण कम्पनीलाई अन्तिम पटक ६ महिनाको म्याद थप्ने आयोजनाको तयारी रहेको छ । ठेकेदार कम्पनीले मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा लिखित रुपमै २०७८ जेठ महिना भित्रै सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपछि लोकमार्ग निर्माणले तिब्रता पाएको हो । सदरमुकाम देखि बिहुँ खण्डमा सम्बन्धीत निकायले पाइप र घर हटाएमा जेठ भित्रै सडक कालोपत्रे गरी आयोजनालाई बुझाउने भारत÷सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले बताउनुभयो । उहाँले अब लोकमार्गको काम नरोकिने भन्दै लोकमार्गको अवरोध हटाउन सबैलाई पहल गर्न आग्रह समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *