मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव, समयमै काम नहुँदा सेवाग्राही मर्कामा

कमल पौडेल, बडिगाड

मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभावहुँदा सेवा प्रवाहमा समस्या भएको छ। मालपोत अधिकृतसहित १२ जना कर्मचारीको दरवन्दि रहेको कार्यालयमा ८ जना कर्मचारीले काम चलाउनुपर्ने बाध्यता रहेको छ।

अनलाइन सिस्टम र हार्डकपि समेतमा काम गर्नुपर्ने तर दरबन्दि अनुसार कर्मचारी नहुँदा समस्या भएको मालपोत अधिकृत दिल बहादुर केसीले बताउनु भयाे। नायव सुब्बामा ३ जनाको दरबन्दि रहे पनि सबै पद रिक्त रहेको छ।

कम्प्युटर अपरेटरको दरबन्दि रहेपनि हालसम्म सो पद पनि रिक्त रहेको छ। हाल १ जना कार्यालय प्रमुख सहित ३ खरिदार, एक सह–लेखापाल र ३ कार्यालय सहयोगीको भरमा सवै सेवा चलिरहेको छ।

अर्कोतर्फ भाडाको भवनमा सञ्चालन भएको मालपोत कार्यालयमा अपाङ्गता भएका सेवाग्राही मर्कामा परेका छन्। मालपोत कार्यालय निजी भवनको तेश्रो तथा चौथो तलामा रहेको छ। जसको कारण अपाङगता भएकाहरुलाई समस्या छ।

मालपोत कार्यालयमा आर्थिक गतिविधि पारदर्शि नभएको भन्दै देशै भर बैंकिङ प्रणालीमा जाने भनेपनि बुर्तिबाङ मालपोत कार्यालयमा त्यो सम्भव भएको छैन। कर्मचारी तथा कार्यालय स्थानको समेत समस्या भएको कारण बैंकमा लगेर काउन्टर बनाउँदा जनतालाई सास्ती हुने, निजि घरमा बैंकको काउण्टर नआउने भएकोले थप समस्या भएको अधिकृत केसीले दाबी गर्नुभएको छ।

मालपोत अधिकृत केसिले भन्नुभयो–“जनतालाई दुःख नहोस् भनेर विहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गरिरहेका छौं, मुद्धा, निवेदन, सुचनाको काम त विहान वेलुका गरेर सक्छौं।” दैनिक २०/२५ जना बढि सेवाग्राहीले कार्यालयबाट सेवा लिँदै आएका छन्।

जग्गा रजिष्ट्रेसन पास गर्न बडिगाड गाउँपालिका २ बाट बुर्तिबाङ पुगेकी रुनमाया छन्त्यालले भन्नु भयो–“१० बजे अगाडि नै कार्यालय आएकी थिएँ तर हिँजोकै ५ जना रहेछन्, आज काम सकिएन फेरी भोली आउनुपर्ने भो”।

कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसिले भूमि व्यवस्था तथा अभिलेख विभाग संग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआइसकेकोले समस्या भैरहेको दाबी गर्नुभएको छ।

बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका जनताले मालपोत कार्यालय बुर्तिबाङबाट सेवा लिँदै आएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *