समाज रुपान्तरणमा युवाको भूमिका

कृषिता अधिकारी (निशा)
साँच्चै नै इतिहासकाल देखि विभिन्न चरणहरु पार गर्दै समाज निर्माण भएको हो । व्यक्ति व्यक्ति मिलेर नै समुदाय बनेको हो । यो समुदाय अर्थात समाजमा त्यस पश्चात मात्रै सामाजिक मूल्य मान्यता, चालचलन, रितिथिति,संस्कार सुरुवात भएका हुन् । एउटा व्यक्ति शिक्षित भयो भने परिवार, समाज शिक्षित बन्छ भन्ने मान्यता छ । समाजहरु शिक्षित बने भने सिंगो देश नै शिक्षित बन्ने अवस्था बन्दछ । त्यही शिक्षा, चेतना र जागरणको जगमा बल्ल विकासले गति लिन्छ । यदि कुनै पनि परिवारमा शिक्षा चेतनाको कमी छ, उसले कसरी परिवार र समाजलाई चेतनशील बनाउँछ ? एउटा परिवारमा शिक्षित र चेतनशील मान्छे भयो भने उसले परिवारलाई चेतनशील र संस्कारी बनाउँछ ? यसैगरी हामी र हाम्रो समाजलाई पनि शिक्षित र चेतनशील मानिसको आवश्यकता पर्दछ । जुन वर्तमान समयमा हराउँदै गइरहेको अवस्था छ । किनकी समाज परिवर्तन गर्नका लागि बालक युवा देखि लिएर सबै वर्गहरुको उत्तिकै भूमिका रहन्छ । तर, आजभोली हाम्रो समाज एकदमै असन्तुलित र द्वन्द्वात्मक भइरहेको छ । जसले गर्दा सामाजिक मूल्य मान्यता र सँस्कार हराउँदै गएको छ ।

समयसंगै परिवर्तनका स्वरुप बदलिएका छन् । हिजो देशका अधिकांश जिल्ला गाउँ ठाउँहरुमा बत्ती थिएन । यातायात सेवा सुविधा अस्पतालहरुको अभाव थियोे । गाउँका युवावर्ग वनपाखा दाउरा घाँस गर्दथे । गाउँमा केही प¥यो भने साथ र सहयोगमा जुट्ने गर्दथे । अर्मपर्म, एैचोपैचो रोधी क्लब जस्ता अभियानमा जुट्ने गर्दथे । आफ्नै स्वदेशमा कृषि कार्य गरेर पौरखी गर्दथे । तर, बिडम्बना समय कति छिट्टै फन्को मारिसकेछ है । आज गाउँमा वृद्धवृद्धा, मजदुर, गरिब, किसान तथा अपांगता भएको व्यक्ति मात्रै भेटिन्छन् । हिजोको रमणीय मनमोहक त्यो हाम्रो गाउँ आज उजाड अनि शुन्य हुन थालेको छ । गाउँका घरहरु रित्तिएका छन्, वर्षाैदेखि जिर्ण बनेका छन् त कतै बनझाडीहरुले भरिएका छन् । साँच्चै नै विरक्त लाग्छ कस्ता थियो ? कस्तो बन्यो हाम्रो गाउँ समाज अनि हाम्रो देश ? बुद्ध जन्मेको देश नेपाल आज फेरी अशान्त, अस्थिर बन्न थालेको छ । साँच्चै नै नेपाल आमा रोएकी छन्, सुन्दर शान्त देशमा आज बलात्कार, हत्या, हिंसा भ्रष्ट्राचारले लिप्त भएको छ भने समाज परिवर्तन गर्ने वा भनौ देश विकास गर्ने आजका सशक्त युवा विदेशिन पुगेका छन् ।

खाडी मुलुकमा भए पनि पसिना बगाइरहेका छन् तर स्वदेशमा पौरखी बन्न चाहदैनन् वा भनौ बाध्यता विवशताले रुमलिएका छन् त कतै रहरै रहरले विदेशिन पुगेका छन् । कारण स्वदेशमा रोजगारको अभाव त कतै स्वदेशी आम्दानीले जीवन नचल्ने धारणा यिनै धारणाले जन्माउँछ । आधुनिक जिवनशैली, सुख सुविधा अनि शहरीकरण सबै युवा वर्ग विदेशिने अनि गाउँमा को बस्ने अनि कसरी समाज परिवर्तन हुने त पढे लेखेका विद्दान् वर्गहरु पनि गाउँमा वस्न छाडिसके । गाउँका खेतबारी समेत बाझै रहन थालेका छन् । आजभोली पहिलाको जस्तो दुःख गर्न छाडिसकेका छन् । अधिकांश गाउँका घर परिवार रेमिट्यान्समा निर्भर हुन थालेका छन् भने वैदेशिक रोजगार प्रति आकर्षण बढिरहेको छ ।

जसले गर्दा हाम्रो समाज नकरात्मकता तर्फ उन्मुख हुँदैछ । समाजमा विभिन्न विसंगति बिकृति फैलन थालेको छ । कतिपय अवस्थामा अन्धविश्वास, छुवाछुत जातिय प्रथाले जरा गाडेको अवस्था छ । वास्तवमा अहिलेको वर्तमान परिस्थितिलाई हेर्ने हो भने हामी र हाम्रो समाज अनि देशलाई युवा वर्गको आवश्यता छ । किनकी हामीले हाम्रो समाज तथा देश परिवर्तन हामी आफैले गर्नुपर्छ । हामी कृषि प्रधान देशमा छौ, स्वदेशमै केही गरेर स्वाबलम्बी भएर बाँच्न सिकौ । आफ्नो गाउँको जग्गा बाझै राखेर जग्गा धितो राखेर ठूला ठूला भविष्य सजाउदै विदेशिन पुग्छौ तर बिडम्बना ती सपना सपनामै सिमित रहेको हामीले प्रत्यक्ष देखेका छौ र भोगेका छौ ।

अहिलेको परिस्थिति कस्तो बन्दैछ भने युवा वर्ग जति विदेशीने देशमा बलात्कार, हत्या, हिंसा भष्ट्राचार,कालोबजारी हाम्रो समाजमा बढ्दो क्रममा छ । कतिपय अवस्थामा वैदेशिक रोजगारमा जानेहरूको घर परिवार बिग्रेको अवस्था छ । गाउँमा जथाभावी सडक निर्माण कार्य भइरहेका छन् भने देशमा अनेक क्रियाकलाप भइरहेको अवस्था छ । आज हाम्रो समाजमा जातीय द्वन्द्व सामाजिक, स्तरिकरण राजनैतिक द्वन्द्व, साँस्कृतिक द्वन्द तथा आपराधिक गतिविधि बढ्न थालेका छन् । साँच्चै नै एकपटक सोचौ त, हामी आम जनता धर्मको नाममा एक अर्कामा लड्छौ । जातीयताका नाममा लड्छौ त कतै राजनीतिक पार्टीका नाममा लड्छौ । ऊ त्यो पार्टी, म यो पार्टी । ऊ त्यो जातको, म ठुलो जातको । ऊ त्यो धर्मको म यो धर्मको । आखिर जुन धर्म, जुन पार्टी, जुन जात भए पनि हामी समाजमा सहकार्य गरेर नै बस्ने हो । हामी राजनीतिका लागि लड्छौ, छिमेकी बीच द्वन्द्व सृजना गर्छाैं तर हामीलाई दुःख आपतमा समाज चाहिन्छ । तीनै छिमेकी चाहिन्छ । कुनै पनि दुःख आपत विपतमा समाजनै सबै भन्दो ठुलो विश्वास र भरोसा हुन् ।

हामी एकजुट नभए सम्म हाम्रो समाज र देश रुपान्तरण हुन सक्दैन । वास्तवमा हाम्रो समाज र देशलाई युवा जनशक्तिको आवश्यकता छ । हामी किन लहैलहैमा लाग्ने ? हाम्रो देश आफै निर्माण गरौ न । आज राजनीतिक स्थिरता तर्फ देश उन्मुख भयो भन्ने बेला फेरी नागरिक सडकमा उत्रिने अवस्था बिडम्बनापूर्ण छ ।

हामीले २ सय ४० वर्ष राजतन्त्र पनि देखेकै होइनौ र ? खै के परिवर्तन भएको थियोे र ? हामीले कस्तो परिवर्तन चाहेका छौ ? हाम्रो समाजमा महिला हिंसा, बलात्कार,भष्ट्राचार भइरहेका छन् । यसको जिम्मेवार को त ? सरकार ! सरकारले यो गरेन त्यो गरेन, देशमा हिंसात्मक घटना भइरहे भन्छौ । हामी जनता जता बाजा बज्यो, उतै ताली बजाउने पात्र मात्रै हो ? वास्तवमा हामी जनतामा पनि कमजोरी छ र गैरजिम्मेवार पनि छौ । किनकी हामीमा जनचेतना नै छैन । गलत काम हामी गर्छौ अनि दोष लगाउँछौ सरकारलाई । हो सरकारले अझै पनि भ्रष्ट्राचार, बलात्कार जस्ता जति पनि घटनाहरु छन् । त्यसलाई नियन्त्रण गर्नै सकेन । नेपालमा कानुनको कायान्वयन फितलो भयो तर हाम्रो पनि त केही जिम्मेवारी दायित्व हुन्छ नि होइन र ?

यहाँ सडकदेखि सदनसम्म भ्रष्ट्राचार छ । हरेक आम जनतादेखि लिएर उच्च व्यक्तित्वसम्म गैरजिम्मेवार देखिन्छन् । सामान्य जागिर खान देखि लिएर ठुलाठुला काम हामी पावर (फोर्स) लगाउँछौ । अनि कसरी त देशमा विकास हुने ? खै हाम्रो स्वाभिमान र इमान्दारिता ? हामीले हाम्रो समाज गाउँ–ठाउँ परिवर्तन गर्ने सामान्य सडक योजना निर्माण गर्दा त इमान्दारिता देखाउन सक्दैनौ । अनि सुशासन र समृद्धि कसरी आउँछ ? हामीले बुझ्नुपर्छ, परिवर्तन आफै आउँदैन । यसका लागि हामी सकारात्मक र स्वाभिमामी बनौ । आफ्नै देशमा इमानका साथ पौरखी बनौ । परिवर्तनको सुरुवात आफु , परिवार र समाजबाटै गरौ अनि बन्नेछ हामीले चाहेको सुखी नेपाली र समृद्ध देश नेपाल ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *