सम्पादकीय
नेपालमा राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा व्यंग्य गरिन्छ । यसले विगतको राजनीतिक पात्र र प्रवृत्तिलाई पनि प्रतिनिधित्व गर्दैन, आजको समयलाई पनि व्यंग्य गरिरहेको छ । कारण नेपाली राजनीतिका घटनाक्रमले राजनीतिले ‘फोहोरी खेल’ पनि यसलाई बल पु¥याउँदै आइरहेको छ । र त नेपाली जनतामा राजनीति प्रति ठुलो आकर्षण, विश्वास र भरोसा छैन । युवा पुस्तामा त राजनीति प्रति तीब्र बितृष्णा र घृणा छ । यही बिद्यमान अवस्थाका बीच मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । देशमा तीन तहको सरकार बन्यो । यसले नेपालको अस्थिर, अस्वस्थ र अदुरदर्शी राजनीतिलाई सही ट्रयाकमा ल्याउने अपेक्षा गरिएको थियो । बिडम्बना भन्नुपर्छ–यो अपेक्षा, विश्वास र भरोसामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले फेरी राजनीति ‘फोहोरी खेल’ हो भन्ने कुरा स्थापित गरिदिएको छ ।
झण्डै दुई तिहाईको सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुखद विभाजन भएको छ । तीन वर्ष अघि चुनावी तालमेल गरेर पार्टी एकता गरेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता सत्ता सञ्चालनको जनादेश पाएको दुई वर्ष बाँकी छँदै टुक्रिएको घटनाले देश तरंगित छ । यस्तो दुखद पार्टी विभाजनमा नेकपा भित्र ठुलो सैद्वान्तिक, बैचारिक र राजनीतिक कारण छैन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल बीचको व्यक्तिगत टकराव, पूर्वाग्रह, कुण्ठा र लहडले देश फेरी अस्थिरताको भूमरीमा पुगेको छ । अब नेकपामा एक भएर अघि बढ्न थालेका नेता, कार्यकर्ताका बीचमा हानाहान, तानातान, कित्ताकाटको अवस्था सिर्जना भएको छ । हिजो सम्म श्रद्धेय नेता मानेका पात्रहरु एकाएक घृणित पात्रको रुपमा दव्रित भएका छन् । यो केन्द्रमा मात्र होइन, कित्ताकाटको अवस्था प्रदेश र जिल्ला स्तरमा पनि तिब्र बन्न थालेको छ । नेकपा विभाजन भएसँगै बागलुङमा नेता कार्यकर्ताबीच जोड घटाउ सुरु भएको छ । को केपी ओली पक्ष र को प्रचण्ड माधव नेपाल पक्ष भन्ने प्रश्नले नेकपाका नेता कार्यकर्ता आजित बनिरहेका छन् ।
हुन त नेपालमा पार्टी फुटको घटना यो नयाँ होइन । प्रायशः सत्ता र शक्तिमा हुँदा पार्टी विभाजन भएका दर्जनौ उदाहरण र इतिहास हाम्रा बीचमा छन् । चाहे लामो समय सत्ता बागडोरको अनुभव सँगालेको नेपाली कांग्रेस होस् या समाजवादी पार्टी होस् या साझा विवेकशील पार्टी होस् या र राप्रपा नेपाल होस् । अधिकांश पार्टी विभाजनको शिकार बनेका छन् । यसमा विदेशी चलखेल र षड्यन्त्र त एक कारक हुन सक्छ । मुख्यतः नेताहरुकै अनेक स्वार्थका कारण पार्टी विभाजन र देशको भविष्य अन्यौल र अनिश्चितता तर्फ उन्मुख हुने गरेको छ । यसमा गलत कदम भए पनि आफ्नो इमान,विवेक, चेतना गुमाएर आफ्नो निकट भए खराब भए पनि समर्थन गर्ने र अरुको भए असल सत्कर्म भए पनि बिरोध गर्ने र खेद्ने प्रवृत्ति बिद्यमान छ । यो हाम्रो देशको सबैभन्दा ठुलो खतरानक प्रवृत्ति हो । अतः अन्त्यहिन राजनीतिको ‘फोहोरी खेल’ सदाका लागि रोक्न नागरिक, नेता, कार्यकर्ताले अब आफ्नो विवेक गुमाउनु हुँदैन ।