शंखधर बहुमुखी सहकारीको १८ औं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ ।

नेवार समुदायको जीवनस्तर उकास्ने लक्ष्य र उद्देश्य अनुरुप स्थापना भएको शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको १८ औं वर्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार साधारण सभाको उद्घाटन गर्दै सहकारीका संरक्षक (पूर्व अध्यक्ष) परशुराम श्रेष्ठले सहकारीले रणनितीक योजना बनाएर काम गरेमात्र उद्देश्य प्राप्त गर्न सहज हुने बताउनुभयो ।

उहाँले एक व्यक्ति एक सहकारीको अवधारणा अगाडी आइरहेको समयमा निश्चित जात र भुगोललाई कार्यक्षेत्र बनाएर अगाडी बढेका सहकारीमा चुनौती थपिन सक्ने भन्दै युवा शेयर सदस्यलाई परिचालन गरेर अगाडी बढनुपर्ने बताउनुभयो । शेयर सदस्यको आर्थिक उन्नती, प्रगतिमा सहकारीले भुमिका खेल्नुपर्नेमा उहाँको विषेश जोड थियो ।

साधारण सभामा बोल्दै संस्थाका पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, सल्लाहकार महेशचन्द्र प्रधान, नेपाल भाषा मंक खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शैक्षिक र आर्थिक रुपमा पछाडि परेका सदस्यहरुको जीवनस्तर उकास्ने गरी सहकारीले कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो । उहाँहरुले संस्थाको उद्देश्य अनुसार बहुउद्देश्यीय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारण सभाको बन्द सत्रले संस्थाका अध्यक्ष रतन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम, सचिव युक्तजंग राजभण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को प्रगती प्रतिवेदन, कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को प्रस्तावित आय व्याय र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुदिप राजभण्डारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

५ सय १३ जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७६÷७७ को अन्त सम्म ८ करोड २ लाख ६० हजार ८ सय ९ रुपैयाँ निक्षेप, १ करोड ९६ लाख ३१ हजार ५ सय रुपैयाँ शेयर पूँजी र ६ करोड ५९ लाख १५ हजार १ रुपैयाँ कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले ७० वर्ष पुरा भएका ११ जना शेयर शेयर सदस्यलाई सम्मान सहित चाडबाड खर्च स्वरुप प्रतिव्यक्ति १ हजार रुपैयाँ उपलब्ध गराएको, शेयर सदस्यका एकाघरका सदस्यको निधन हुँदा उपलब्ध गराउँदै आएको ६ हजार रुपैयाँ १० जना सदस्यलाई हस्तान्तरण गरेको, शेयर सदस्यको निधन हुँदा उपलब्ध गराउँदै आएको १५ हजार रुपैयाँ ५ जना शेयर सदस्यको परिवारलाई हस्तान्तरण गरेको संस्थाका सचिव युक्तजंग राजभण्डारीले जानकारी दिनुभयो ।

साधारण सभाको अवसरमा संस्थाले नेपाल सम्वत् ११४१ को अवसरमा प्रकाशन गरेको क्यालेन्डर विमोचन गरेको छ ।

साधारण सभाको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष रतन प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठको स्वागत तथा सचिव युक्तजंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *