उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम : अध्यक्ष थापा

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबै भन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको हो ।

बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।
सहकारी क्षेत्रले पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो–अब सहकारीमा केन्द्रीत भएको पूँजिलाई उत्पादनमा परिचालन गर्नु पर्छ ।

उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । राज्यले सहकारीमार्फत उत्पादन बढाउनका लागि योजना ल्याउनु पर्ने र त्यसका लागि सहयोगको वातावरण आवश्यक रहेको जिसीको भनाइ थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा, वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेल र बागलुङ दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ओमनाथ सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष बालानन्द कंडेलको स्वागत र सचिव लाल बहादुर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा दिपक गौतम, उपाध्यक्षमा बालानन्द कंडेल, सचिवमा लाल बहादुर खनाल, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्षमा राम बहादुर हमाल तथा सदस्यहरुमा बालकृष्ण कंडेल, लक्ष्मण प्रसाद शर्मा, जगन्नाथ कंडेल र कान्तालाल जैसी रहनु भएको छ ।

लेखा समितिको संयोजकमा शिवलाल कंडेल तथा सदस्यहरुमा पहलमान थापा र राजकुमार पौडेल चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *