साधना पन्त, बागलुङ
बागलुङको गलकोट नगरपालिका–५ का ५५ वर्षीय बेग श्रीषले ९ वर्ष पहिले आफ्ना एक मात्र छोराको विवाह गरिदिनुभयो । छोराको विवाह भएको २ वर्षमा बुहारीले नाती जन्माइन् । नातीको जन्म भएसँगै श्रीस परिवारमा खुसी छाएको छ । सुत्केरी खान माइत गएकी बुहारी घर फर्कदा दुई वटा बाख्रा लिएर आएकी थिइन् । श्रीसले विगत सम्झदै जागरणसँग भन्नुभयो–‘सम्धिनीले नातीको नाममा पाल्न भन्दै बुहारीलाई दिएका २ वटा बाख्राले अहिले हामी सबैको जीवन र दैनिकी बदलिएको छ ।’
७ वर्ष पहिले बुहारीले माइतीबाट डोहो¥याएर ल्याएका दुई बाख्राबाट आज श्रीसको गोठ भरिएको छ । आफैले किनेर ल्याएका बाख्राले श्रीसलाई ‘कोल’ दिएका रहेनछन् । बाख्रा पाल्ने रहर भएपनि आफुले ल्याएका बाख्रा थारै रहने, फाप्दै नफाप्ने भएपछि बुहारीले माइतीबाट ल्याएका बाख्रा नातीको नाममा पालेर हेरौ भनेर पालेको र त्यसपछि पछाडि फर्केर हेर्नु नपरेको श्रीस बताउनुहुन्छ ।
माइतीले पाल्न दिएको बाख्राले परिवारलाई व्यावसायिक बनाएको बताउनुभयो । ‘माइतीले पाल्नका लागि दिएको चिनो बाख्रोले अहिले व्यावसायिक बनायो’ उहाँले भन्नुभयो ‘घरखर्च चलाउन र छोरा छोरीको पालन पोषण गर्न कसै संग पैसा माग्न परेको छैन ।’
दुई वर्ष पहिले गलकोट नगरपालिकामा उहाँले कालिलेक भेडा बाख्रा फर्म समेत दर्ता गर्नुभएको छ । व्यावसायिक बनाउनका लागि उहाँले फर्म दर्ता गरेर अगाडि बढेको उहाँको भनाई छ । दुई बाख्राबाट सुरु भएको बाख्रा पालनले अहिले श्रीसको गोठमा ४६ वटा बाख्रा पुगेका छन् । जसमध्ये २२ वटा बाख्रा ब्याउने छन् । ११ वटा बेच्नलाई तयार बोका छन्, १३ वटा पाठापाठी हुर्कदैछन् ।
श्रीसले हरेक महिना थोरैमा पनि २२ हजार रुपैयाँ बाख्रा बेचेर कमाउनुहुन्छ । ‘२/४ हजार आवश्यक पर्दा पनि अरुसँग हात थाप्नुपथ्र्याे,’ श्रीस भन्नुहुन्छ ‘७ वर्ष भयो,कसैको दैलामा ऋण खोज्न जानु परेको छैन ।’ बाख्रा बेचेर श्रीसको घर परिवार चलेको छ, उहाँका २ वटा नाती छन्, बाख्रा बेचेरै उनीहरुलाई पनि बोर्डिङ स्कुल पढाउनुभएको छ ।
बोका बाख्रा बेच्नका लागि श्रीसलाई अहिले सम्म बजार खोज्नु परेको छैन । अधिकाशं बोका गाउँमै मासुका लागि बिक्री हुन्छ । कहिले–कहिले व्यापारीहरु हटिया बजारदेखि पनि बोका बाख्रा खोज्दै श्रीसको फार्ममै पुग्छन् ।
जिउँदो बोका केजीको ५ सय रुपैयाँ, बाख्री ४ सय, खसी ७ सय रुपैयाँका दरले बेच्दै आएको उहाँले बताउनुभयो । पोहोर साल मात्र श्रीसलाई गलकोट नगरपालिकाले खोर सुधारका लागि ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।
कागजी रुपमा ५० हजार भनिए पनि हात पर्ने बेलामा ४० हजार रुपैयाँ मात्र परेको श्रीसको गुनासो छ । ‘नगरपालिकामा दर्ता गरे सहयोग हुन्छ, बाख्राको बीमा हुन्छ, समय समयमा अनुगमनका लागि आएर सल्लाह सुझाव दिन्छन् भनेर फार्म दर्ता गरेको हुँ,’ श्रीसले भन्नुभयो, ‘५० हजारमा २ हजार काटेर आउँछ भनेको १० हजार काट्यो, अहिले सम्म एकपटक अनुगमनको लागि आएका छैनन् ।’
स्थानीय सरकारले घर–घरमा रोजगारीको नारा लगाए पनि हौसला र उत्प्रेरणाको लागि कुनै पनि सहयोग नगरेको उहाँको गुनासो छ ।