जनगायक, जीवन र संकट

सम्पादकीय
जीवन शर्मा । सादा जीवन, उच्च बिचारका जिवन्त उदाहरण र प्रर्वतक हुन् । ३० को दशकदेखि हाल सम्म अर्थात ३६ बर्षको अन्तरालमा उनको दैनिकी, साधारण जीवनशैलीमा ठुलो फेरबदल केही देखिन्न । यद्यपी यो देशमा व्यवस्था धेरै बदलिएका छन् । व्यवस्थासँगै अरु धेरैको जीवनमा बदलाव आएको छ । पछिल्लो चार दशकको परिवर्तन, जागरणमा गायक शर्माको योगदान अमुल्य छ । देशमा जे जस्तो परिवर्तित व्यवस्था आए पनि जनवादी गायक जीवन शर्माको जीवन उस्तै छ । व्यवस्था बदल्न गाउँ घर, कुना कन्दरा पुगेर जनताका गीत गाउने गायक शर्मालाई आँफु नबदलिएकोमा कुनै गुनासो पनि छैन । तर, अहिले परिवारमा आएको एउटा गम्भिर समस्याले शर्मा तनावग्रस्त अवस्थामा पुगेका छन् ।

जीवनभर जनताका दुःख र पीडाका गित गाउने, जनतामा जागरण ल्याउने र एउटा साधारण तर आदर्श जीवन बाँच्ने गायक शर्माको अभिष्ट देखिन्छ । अहिलेको पुजीबादी दुनियाँमा यो एकादेशको कथा जस्तो लागे पनि जीवन शर्मा यस्ता दुर्लभ पात्र हुन् । जसमा धनदौलत, सत्ता, शक्ति, भौतिक विलासिताको कुनै मोह देखिदैन । उहाँले बाँचेको दुनियाँका लागि अजिब लागिरहेको छ । तर, अहिले प्रिय जनगायकलाई यो दशैं दशा बनेर आयो । दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नलि छेडेर सिकिस्त बने । प्रारम्भिक अप्रेशन गरिएको छ । अवस्था गम्भिर छ । अहिले मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ । जीवनभर आर्थिक लोभ लालसा नगरी जनताको गीत गाउँदै हिंड्ने जीवन शर्मालाई यतिखेर छोराको उपचारले निकै कठिन क्षणको सामना गर्न बाध्य बनाएको छ । उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको देखिन्छ । आँफ्ना अगाडी अस्पतालमा छोराको छटपटाहट हेरिरहेका छन् र कुनै पनि हालतमा बचाउनु पर्ने सम्भावित उपचार विकल्प र दायित्व सम्झिरहेका छन् । तर, गायक शर्मा आँफुसँग पैसा नभएकाले पटक पटक झस्किरहन्छन् । यद्यपी, स्वतस्फुर्त हार्दिकता पूर्वक आउने सहयोग बाहेक उनले हात फैलाउन नजाने अडानमा छन् ।

जीवन शर्मा एउटा व्यक्ति मात्र होइनन् । यो समाजमा आदर्श जीवन बाँच्न चाहने र खोज्नेहरुका लागि उदाहरण हुन्, प्रेरणा हुन्, उर्जा हुन्, उत्प्रेरक हुन् । उनी अहिले यो आदर्श जीवनको कठिन परिक्षामा छन् । यो बेला उनलाई स्वार्थ, सत्ता, शक्तिको आडमा धन सम्पति नकमाएकोमा पश्चाताप र ग्लानीको कुनै पनि हिसावले महुशुस नगराउनु नेपाली समाजको अहिलेको सबै भन्दा चुनौति र दायित्वको बिषय हो । यसर्थ, सबै जागरण, कला, परिवर्तनका पक्षधर सबैले जनवादी गायक शर्माका छोराको उपचारमा जति सकिन्छ सहयोग गरौ । त्यो दया, माया र करुणाका हिसावले होइन, नितान्त परोपकारी, सामाजिक दायित्व सहितको भावनाले जहाँ छौ, त्यहीबाट क्षमता अनुसारको सद्भाव जनाऔं । यदी यसो गर्न सकियो भने एउटा आदर्श सदैव बाँचिरहनेछ । अरु थुप्रैलाई आदर्श जीवन बाँच्न प्रेरित गरिरहनेछ । र गाइरहनेछन् सिमली छायामा बसी । गुञ्जीरहनेछ चाहिदैन मलाई शिसाको महल ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *