अनलाइन र युट्युवको नियमनबारे

सम्पादकीय
पछिल्लो समय मिडिया र माध्यमका बिषयमा व्यापक बहस छ । समयक्रमसँगै प्रविधिको तिव्रतर विकास भइरहेको छ । प्रविधिको विकाससँगै पत्रकारिता र यसका माध्यमहरुमा पनि ठुलो बदलाव आएको छ । कुनै बेला निकै प्रभावकारी मानिएका छापा र बिद्युतिय सञ्चार माध्यम अहिले अरु विकसित वैकल्पिक डिजिटल माध्यमका कारण कम महत्व या ओझेलमा पर्न थालेका छन् । पछिल्लो समय वेभ पेज अलनाइन, युट्युव माध्यम मात्र नभएर प्रभावकारी मिडियाका रुपमा आउन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम प्रभावकारी माध्यम बनेका छन् । तर, यसको प्रभावकारिता मात्रै देखिएको छैन । फेक समाचार, सूचना र सन्देशहरुले नागरिकलाई आजित बनाउन थालेका छन् ।

अहिले सूचना र प्रविधिले देशमा निकै फड्को मारेको छ । अब पहिले जस्तो कुनै नयाँ सूचना र समाचारका लागि पत्रपत्रिका पढ्नुपर्दैन । रेडियो सुन्न र टेलिभिजन हेरिरहनु पर्दैन । मानिसहरुका हात हातमा रहेका मोवाइलमै हरेक पल नयाँ ताजा सूचना र समाचार आइपुग्छन् । यसरी सूचना प्रदान गर्नमा देशमा खुलिरहेका अनलाइन र युट्युवहरु प्रभावकारी देखिरहेका छन् । तर, यसको यो पाटो पनि गम्भीर छ कि फेक समाचार र सामग्रीले हाम्रो समाज र देशलाई कुन दिशा तर्फ लैजान्छ ? सोचनीय छ । अनलाइनका सतही रुपमा लेखिने सनसनीपूर्ण शीर्षक र समाचारले धेरैलाई आंतकित र भयभित मात्रै बनाएको छैन, डिप्रेश पनि बनाएको छ । युट्युवका शीर्षक र भयानक दृश्य सहितको समाचारले मिडिया र माध्यम प्रति उस्तै आक्रोश र अविश्वास जन्माइरहेको छ । नेपाली समाजमा परालको आगो भनिने श्रीमान श्रीमतिको सामान्य विवादलाई पनि सञ्चार माध्यममा सार्वजनिक गरेर कतिपय मानिसमा डलर कमाउने भूतले गर्दा समाजमा अहिले अनेकन समस्या देखिन थालेको छ ।

मनपरी खुलेका अनलाइन र युट्युवहरुका कारण सिंगो मिडिया र मिडियाकर्मी माथि गम्भीर प्रश्नहरु खडा भएका छन् । कुनै तथ्य बिना व्यक्तिगत र घरायसी भैmझगडाका विषय समेत देखाएर पत्रकारिताको पेशागत मर्यादा माथि प्रश्न उठाउने कार्य पछिल्लो समय डरलाग्दो छ । भीड र भाइरलमा रमाउन खोज्नेहरुका कारण अहिले समस्या बढ्दो छ । पत्रकार र पत्रकारिताको सामाजिक उत्तरदायित्व भन्दा पनि युट्युव, अनलाइनहरु पैसा कमाउने धन्दाको रुपमा अँगालिएका छन् । अतः नेपालमा विकृतिको रूपमा बढिरहेको युट्युब, अनलाइन र उनीहरूको कन्टेन्टलाई समयमै कानुनी दायरामा ल्याउन अपरिहार्य देखिन्छ । यो प्रवृत्ति कायमै रहे त्यसले समाजलाई गम्भीर दुर्घटना तर्फ लैजाने तर्फ सबै समयमै सचेत रहन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *