सिर्जना पन्त,बागलुङ
सके अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका । हुँदै भएन भने पनि साउदी, दुबई, कतार, मलेसिया लगायतका देश । नेपालका अधिकाशं युवाहरुको रोजाई, बाध्यता र नियती हो । घर परिवारका आवश्यकता पुरा गर्ने गरी रोजगारीका लागि मात्र होइन, पछिल्लो समय अध्ययनका लागि भन्दै विदेश जाने र रोजगारीको लागि भौतारिने जमात पनि कम छैन ।
बगलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले पनि सुखी र खुसी परिवार बनाउने सपना देखेर दुबई र मलेशियामा जीवनका महत्वपूर्ण उर्जाशील ६ वर्ष बिताउनुभयो । दुबईको एक कम्पनीमा ३ वर्ष र मलेशियाको डिपार्टमेन्टल स्टोर्समा ३ वर्ष बिताउँदै गर्दा आचार्यलाई अरुको गुलाम बनेर होइन, आफै मालिक बनेर आफ्नै देशमा कृषि गर्ने सोच पटक–पटक पलायो । आचार्यले मलेसियामा आफ्नै सोच सँग मिल्दाजुल्दा मालिक भेटाउनुभयो । मालिकले पनि आचार्यलाई पटक–पटक आफै स्वरोजगार बन्नका लागि उत्प्रेरणा प्रदान गरिरहे । ‘मेरो कम्पनीमा काम गरेर २ लाख कमाउलास्, आफ्नै देशमा १ लाख कमाइस् भने पनि त्यो तिम्रो परिवार र तिम्रो देशको सम्वृद्धिसँग जोडिने छ,’ आचार्यले मालिक र उनको भनाई सम्झदै भन्नुभयो ‘यो कुरा म कहिल्यै भुल्न सक्दिन ।’
आजभन्दा ७ वर्ष पहिले मलेशियाबाट फर्किदा आचार्यले व्यावसायिक रुपमा च्याउ र अलैची खेती गर्ने सोच सँगै बोकेर ल्याउनुभएको थियो । ७ वर्ष पहिले ९० हजार रुपैयाँमा अलैची र च्याउ खेती सुरु गरेका आचार्यको अहिले १८ लाख रुपैयाँ लगानी पुगेको छ । यो समयमा उहाँको लगानी मात्र बढेको होइन, व्यवसाय पनि बढेको छ । आचार्यले २०७४ सालमा वडा कार्यालयमा आचार्य जैविक कृषि फर्म दर्ता गर्नुभएको छ । च्याउ र अलैचीबाट सुरु भएको आचार्यको कृषि फर्ममा बागलुङको लागि नौलो व्यवसाय गड्यौला खेती पनि थपिएको छ ।
आचार्यले मलेशियामै हुँदा ‘गड्यौला खेती’ बारे अनलाइन मार्फत अध्ययन गर्नुभएको थियो । तीन वर्ष पहिले उहाँले कास्कीको हेम्जाबाट मल सहित १ केजी गड्यौला ल्याएर सुरु गरेको ‘गड्यौला खेती’ ले अहिले उत्पादन दिन शुरु गरिसकेको छ । आचार्यले अघिल्लो वर्ष १ लाख ५० हजार रुपैयाँमा १ क्विन्टल गड्यौला बिक्री गर्नुभयो । यो वर्ष भने बिक्री गर्ने समयमा कोरोनाको कारणले लकडाउन भयो र आचार्यले गड्यौला बिक्री गर्न पाउनुभएन । तर, घरमै पालेका कुखुरा र हाँसका लागि गड्यौला आहार बनाएको हुँदा घाटा भने नभएको उहाँको भनाई छ ।
आचार्यले २० रोपनी जमिनमा अलैची खेती गर्नुभएको छ । नर्सरीबाट बिरुवा ल्याएर रोपेको अलैचीले ढिलोमा चार वर्षमा उत्पादन दिन सुरु गर्छ भने गाँज फोरेर रोपेको अलैचीले २ वर्षमै उत्पादन दिन सुरु गर्छ । एउटा अलैचीको विरुवाले न्यूनतम पनि १९ वर्ष सम्म गुणस्तरिय उत्पादन दिने उहाँको भनाई छ । आचार्यको फर्ममा अहिले १ लाख अलैचीका बिरुवाले उत्पादन दिन्छन् । आचार्यले अलैची बिक्री गरेर मात्र वर्षमा न्यूनतम ३ देखि ५ लाख रुपैयाँ सम्म आम्दानी गर्दै आउनुभएको छ । मौसमको अनुकुलता, रोग, किरा र अन्य व्यवधानहरु नआउने हो भने उत्पादन र आम्दानी राम्रो हुने भए पनि हरेक वर्ष एकै प्रकारको आम्दानी नहुनेमा आचार्य ढुक्क हुनुहुन्छ ।
आचार्यले आफूले उत्पादन गरेको मात्र होइन । बागलुङको बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, गुल्मी जिल्ला सँगै बागलुङका विभिन्न स्थानमा अलैची खेती गर्ने किसानको अलैची संकलन गरी बिक्री समेत गर्नुभयो । ग्रेडिङ गरेको अलैची ५ सय रुपैयाँ देखि ६ सय रुपैयाँ प्रति केजी सम्म झापाको वृत्तामोड पु¥याएर बिक्री गरेको उहाँको भनाई छ । समुन्द्री सतह देखि १५ सय भन्दा माथिल्लो भू–भागमा राम शाही, गोल शाही प्रजातीको अलैची खेती गर्न उपर्युक्त हुने भन्दै आफूले सोही प्रजातीको अलैची खेती गरेको उहाँले बताउनुभयो । सिक्कीम, भुटानबाट अलैचीको बीउ ल्याएर खेती गरेको उहाँको भनाई छ ।
आचार्यले फर्ममा साग, टमाटर, आलु, अकबरे खुर्सानी, काउली, ब्रोकाउली, सिमी पनि उत्पादन गर्दै आउनुभएको छ । आचार्यका आमा बाबाले गाउँमै व्यापार गर्नुहुन्छ । उहाँहरुको आफ्नै पसल छ । आचार्यले उत्पादन गरेको च्याउ र तरकारीजन्य वस्तुहरु उहाँका बा आमाले आफ्नै पसलबाट बिक्री गर्नुहुन्छ । भाई, बहिनी र श्रीमतीले आचार्यलाई फर्मको काममा सघाउदै आउनुभएको छ । गाउँकै एक जना युवालाई मासिक पारिश्रमिक दिने गरी आचार्यले रोजगारी समेत दिनुभएको छ ।
आचार्यको फर्ममा किवी, सुन्तला, अलैचीका बिरुवा र चियाको नर्सरी पनि छ । यो वर्षबाट नर्सरीलाई वृद्धि गर्ने आचार्यको सोच छ । तरकारी, अलैची, कुखुरा, हाँस र ‘गड्यौला खेती’ गरेको देख्दा गाउँलेले आचार्यलाई सबै क्षेत्रमा हात हाल्दा असफल भइन्छ भनेर सचेत गराउने गरेका थिए । यो विषयमा भने आचार्यको फरक मत छ । किसान बहुआयामिक हुनुपर्ने एउटा मात्र वस्तुमा केन्द्रित हुन नहुने उहाँको भनाई छ । ‘थोरै लगानीमा धेरै गर्न खोज्नु राम्रो होइन,’ आचार्य भन्नुहुन्छ, ‘प्रयाप्त लगानी गरेर प्रयाप्त समय दिन सक्ने हो भने कुनै एकमा केन्द्रित भन्दा बहुआयामिक किसानले मुनाफा गर्न सक्छन् ।’
फर्म विस्तार, व्यवस्थापन गर्नका लागि आचार्यलाई भूमी व्यवस्था, कृषि सहकारी कार्यालय गण्डकी प्रदेशले समेत आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक सहयोग गरेको थियो । च्याउ, अलैची र तरकारीको मिश्रित व्यवसायको रुपमा आचार्यको फर्मलाई वर्गिकरण गरि ४ लाख ८५ हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो । स्थानीय सरकार, प्रदेश सरकार र कृषि ज्ञान केन्द्रबाट आफूले सहयोग मात्र नभएर सम्मान पनि प्राप्त गरेको आचार्यको भनाई छ । ‘सम्मान पत्रबाट सम्मान भएको होइन,’ आचार्य भन्नुहुन्छ ‘उहाँहरुले गर्ने व्यवहार, उहाँहरुको बोली र त्यहाँबाट प्राप्त गर्ने सिकाई मेरो लागि सम्मान बनेको छ ।’ वैदेशिक रोजगारीबाट फर्किएका आफू जस्ता युवाहरुलाई कृषिमा आकर्षण गर्नका लागि स्थानीय सरकार र कृषि कार्यालयबाट हुने व्यवहारले पनि सहयोग गर्ने उहाँको भनाई छ ।
पछिल्लो समय चर्चित बनेको जैमिनी नगरपालिकाको हाँडिकोट आचार्यको कृषि फर्म नजिकै पर्छ । गाउँमा फाटफुट देखिन थालेका आन्तरिक पर्यटकहरुले आचार्यको ‘एग्रो टुरिजम’को सपनालाई दरिलो साथ मिल्न थालेको छ । आफ्नो गाउँ ठाउँ र नगरलाई ‘एग्रो टुरिजम’को रुपम विकास गर्ने आचार्यको सपना छ । यति मात्र होइन, गाउँमै कृषि रिसोर्ट सञ्चालनमा ल्याउने उहाँको महत्वंकाक्षी योजना समेत छ । विदेशको भूमीमा काम गर्दा आफ्नै व्यवसायको मालिक बन्ने सपना अहिले पुरा भए जस्तै तत्काल सम्भव नभए पनि आफूले देखेको ‘एग्रो टुरिजम’कोे सपना विस्तारै साकार हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।