ढुङ्गाखानीबाट गाउँमै मनग्य आम्दानी

साधना पन्त, बागलुङ
गल्कोट नगरपालिका–६ भुजुङेका ४० वर्षीय खगेन्द्र श्रीस अहिले आफ्नै ढुङ्गाखानीमा व्यस्त हुनुहुन्छ । दुई वर्ष अघि रोजगारका लागि जापान जाने मनसाय बनाएर भीसा अप्लाई गर्नुभएका श्रीसको उक्त प्रयास विफल भए पछि केही निराश पनि हुनुभयो । तर, निराशामै बस्ने र बाँच्ने की जीवनका अरु नयाँ विकल्प र व्यवसायबारे सोँच्ने ? श्रीसको अन्र्तमनको लामो सोच विचार, चिन्तन मनन पछि आफ्ना बाउबाजेको पुख्यौली काम ढुङ्गाखानीलाई थप व्यवस्थित र व्यावसायिक बनाएर अघि बढ्ने निर्णयमा पुग्नुभयो । अहिले सोही निर्णयले जीवन सफलता, सन्तोषको बाटोमा लागेको अनुभूति भएको श्रीस बताउनुहुन्छ ।

No description available.

श्रीसले नै पहिलोपटक विसं २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्राएर ढुङ्गाखानी सञ्चालनमा ल्याउनुभएको थियो । खानीबाट मासिक ५० हजारदेखि एकल लाख रुपैयाँ सम्म कमाई हुने गरेको श्रीसको भनाई छ । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘आठ वर्ष सम्म साउदीमा काम गरे अनि स्वदेश फर्किए तर फेरि विदेशनै जाने मन पलायो’ श्रीसले भन्नुभयो,‘तर, प्रयास सफल भएन ।’ अहिले सम्म गाउँमै ढुङ्गाको व्यापार राम्रो भएकाले बाहिर बजार खोज्न नपरेको श्रीसको भनाई छ ।

No description available.

मजदूरले एउटा स्लेट ढुङ्गा ‘कटपिस टायल’ काटेको तीन रुपैयाँ पाउँछन् । एक जनाले दिनमा चार÷पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५/४० हजारसम्म कमाउँछन् । घर छाउनका लागि, जमिनमा विछ्याउनका लागि, घरको भित्तामा टायलमा प्रयोग हुने ढुङ्गा अहिले नेपालभर माग छ । तर, यहाँको सडक र कानुनी जटिलताका कारण बाहिर पठाउन नपाएको श्रीस बताउनु हुन्छ । भुजुङ्गे गाउँलाई स्टोन भिलेजको रुपमा समेत चिनिन्छ । स्टोन भिलेजकै नामबाट यहाँको होम स्टेको पनि नामाकरण गरिएको छ । ‘अब ढुङ्गाखानी दर्ता गर्ने तयारीमा छौ तर हामीले पनि नगरपालिकासँग सडकको सहज पहुँच, फोर फेजको बिद्युतको व्यवस्था पहिले गरिदिनुस्’,उहाँले भन्नुभयो, ‘अनि मात्र हामीले दर्ता गरेर कर तिर्छौ भनेर सर्त राखेका छौ ।’

No description available.

आठ वर्ष सम्म साउदीमै काम गरेर स्वदेश फर्किएर ढुङ्गाखानीमा काम गर्दै आउनुभएका तुलबहादुर परियार भन्नुहुन्छ–‘आफ्नै देशमा, आफ्नै गाउँमा काम गर्न पाउदा निकै खुसी छु ।’ आफ्ना बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिदै गर्दा र आफ्नै ठाउँमा काम गरेर पैसा कमाउदा आनन्दको अनुभूति भएको परियारको भनाई छ ।

No description available.

खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् । खानीमा ढुङ्गा बोक्ने ३६ वर्षीया कुमारी श्रीसले आफ्नो घरको काम सकेर फुर्सदको समयमा ढुङगा बोकेर पनि परिवारको जिविकोपार्जनमा ठुलो टेवा पुगेको बताउनुहुन्छ । ‘एक वटा कटपिस ढुङ्गाको २ रुपैयाँ पाईन्छ । एक खेपमा १ सय ५० वटा बोक्न सक्छौ’, श्रीसले भन्नुभयो, ‘गाउँमा ढुङ्गाखानी भएर फुर्सदको समयमा ढुङ्गा बोकेर घर खर्च चलाउन पाउँदा खुसी नै छु ।’ ढुङ्गा निकाल्ने, स्लेट तयार पार्ने काम पुरुषले गर्छन् तर ढुङ्गा बोकेर सडक सम्म ल्याउने काम महिलाले गर्ने गरेका छन् ।
खानीमा स्लेट ढुङ्गा दिनमै पाँच सय सम्म तयार गरेको खानीमा काम गर्दै आउनुभएका भबिन्द्र श्रीस बताउनु हुन्छ । ढुङ्गा राम्रो सँग निस्केमा महिनाको ३० देखि ४० हजार सम्म कमाई हुने उहाँको भनाई छ । ‘हाम्रा बाउबाजेले नेपालमा सम्पति चिन्यो या जान्यो भने जेबाट पनि पैसा कमाउन सकिन्छ । ढुङ्गा, माटो, पानी जे बेचे पनि पैसा आउँछ भन्नुहुन्थ्यो,’ भविन्द्र थप्नुहुन्छ–‘त्यो आज साँचो रहेछ भन्ने प्रमाणित भएको छ ।’

No description available.

स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने केही वर्ष मात्रै भएको छ । स्टोन भिलेजको रुपमा अहिले परिचित भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । पहिले पनि ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थाले पछि व्यावसायिक रुपमा पनि यहाँको माग र सम्भावना उच्च छ । तर, ढुङ्गाखानीलाई तीन तहको सरकारले व्यवस्थित गर्नुपर्ने माग स्थानीयको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् ।

No description available.

गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले पालिका भित्रका सबै ढुङ्गाखानीलाई व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो । ‘यहाँ ढुंगाखानीको राम्रो सम्भावना र अवसर हामीलाई छ, तर यसलाई बैधानिक रुपमा कानुनी दायरामा ल्याउन सकिरहहेका छैनौ, जसका कारण नगरपालिकाले कर पनि यथेष्ट संकलन गर्न सकिरहेको छैन,’ भण्डारीले भन्नुभयो,‘ऐन, नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालनको व्यवस्था गरेर स्थानीय व्यवसायीलाई पनि सहज र सरकारलाई पनि कर आउने वातावरण हामी बनाउनेछौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *