१८ वर्षपछि अधुनिक बागलुङ बसपार्कले सार्थकता पाउँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्ष अघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क बागलुङ नगरपालिकालाई प्राप्त गरेको १८ वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको हो ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आए पछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहल पछि गति लिएको थियो । ठेक्का स्वीकृत भएको दुई वर्ष पछि बसपार्क निर्माण सकिन थालेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयले करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन ।

बागलुङ नगरपालिका वडा नं.४ दावगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जना जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

“बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रंगरोगन, बिद्युत जडान र पार्कीङ स्थलको कालोपत्रे गर्न बाँकी हो,”शर्माले भन्नुभयो । डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण केही ढिला गरी सम्पन्न हुन लागेको हो । दुई महिना भित्रै बसपार्क हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले अन्तिम रुप दिन थालेको उहाँको भनाई छ ।

२०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी ८ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिदाँ दुई पटक ६/६ महिना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगती र ७० प्रतिशत आर्थिक प्रगती भएको शर्माले जानकारी दिनुभयो ।

कोरोनाका कारण निर्माणमा केही ढिलाई भए पनि आगामी फागुन भित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिब्रता दिइएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो । “पार्कीङ र रंगरोगनको मात्रै काम बाँकी छ, अहिले पार्कीङ कालोपत्रेका लागि ग्राभेलको भाम भइरहेको छ ।” तिमिल्सिनाले भन्नभयो “कोरोनाका कारण सरकारले थपेको समय भित्रै बसपार्क हस्तान्तरण गरिनेछ ।”

नगरवासीको १८ वर्षदेखिको आधुनिक र व्यवस्थित बसपार्क निर्माणले सार्थकता पाएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । “१८ वर्ष पहिला करोडौं मूल्यको जग्गा नगरपालिकालाई दिइएको थियो, तर जनप्रतिनिधि बिहिन हुँदा काम हुन सकेको थिएन” नगर प्रमुख पौडेलले भन्नुभयो “हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौ,अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफल समेत भएको छ ।”

स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोवासका लागि एक सय २७ वटा घडेरी निर्माण गर्ने गरि नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा स्थानीय निराश थिए । ढिलै भए पनि बसपार्क बनेकोमा खुसी भएको जग्गादाता गुणनिधी शर्माले बताउनुभयो ।

धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १८ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिनुभयो । “नगरपालिकालाई जग्गा दिएपनि काम भएको थिएन, अहिलेका जनप्रतिनिधिले बसपार्क निर्माणलाई सार्थक तुल्याउने काम हुन लागेको छ” राजभण्डारीले भन्नुभयो “जग्गा दिएको वर्षौ पछि खुसी भएको छु, बसपार्क बाहेकको जग्गा व्यवस्थापन गरी घडेरी निर्माण गर्न नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ, अब ४२ रोपनी जग्गा व्यवस्थित रुपमा घडेरी बनाएर जग्गाधनीलाई फिर्ता गरिनेछ ।”

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० वटा ठूला बस, १० वटा माइक्रोबस एकैसाथ अटाउन सक्नेछन । टर्मिनल भवनको भुई तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो ।
व्यवस्थित बसपार्क नहुँदा बागलुङ बजार हुँदै जाने मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लगायत बागलुङ बजार मध्यविन्दुका रुपमा विकसित भएकाले बजारमा बढ्दो सवारी चाप नियन्त्रण गर्न समस्या हुँदै आएको छ । बागलुङमा व्यवस्थित बसपार्क निर्माण नहुँदा ट्राफिक समस्या झेलिरहेका बागलुङबासीलाई सहज हुने अपेक्षा गरिएको छ । अहिले बागलुङ बजारको चिप्लेटी बसपार्क प्रयोग गर्दै आए पनि साँघुरो भएकाले समस्या हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *