जैमिनीमा रेमिट्यान्सको नाममा ठगी गरेको आरोप

आदर्श अनलाइन, बागलुङ
जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीका नारायण अधिकारीले रेमिट्यान्स कारोबार मार्फत बढी शुल्क असुलेकाे आरोप छ ।

अधिकारीले बागलुङ र पर्वतका केही मनी ट्रान्सफर मार्फत कारोबार गर्दै आएको बुझिएको छ । उहाँले पैसा पठाउँदा र पठाएको पैसा आफन्तलाई बुझाउँदा अधिक शुल्क लिने गरेको स्थानीयको भनाई छ ।

मनी ट्रान्सफर मार्फत् पैसा पठाउँदा केही शुल्क लाग्ने गरे पनि आएको पैसा रिसिभ गर्दा भने शुल्क लाग्दैन । तर, अधिकारीले शुल्क लिने गरेको स्थानीय हिरा केसीले बताउनुभयो । बाहिरबाट आएको पैसामा प्रति १० हजारमा सय रुपैयाँभन्दा बढी शुल्क लिने गरेको भन्दै यसले सर्वसाधारण ठगिएको केसीको गुनासो छ ।

अधिकारीले यसरी गाउँ भरीका सोझा जनतालाई ठग्ने गरेको स्थानीयको आरोप छ । स्थानीय कुमार केसीले पठाउँदा शुल्क लिने स्वभाविक भए पनि आएको पैसा रिसिभ गर्दा काटिनु जनतालाई ठगेको बताउँछन् । उहाँ कुनै पनि मनिटान्सफरको एजेन्ट नभएको पाइएको छ । रेमिटको कारोवार गर्दा एजेन्ट आवश्यक हुन्छ ।

जहाँबाट पैसा पठाइन्छ उतैबाट रकम तिर्ने नियम रहेको मनिट्रान्सफर व्यवसायीहरु बताउछन् । बाहिरबाट आएको पैसामा कानून रकम लिन पाइदैन ।

केसीले केही समय अगाडी भारतबाट पठाएको ७८ हजार रुपैयाँ पाउनुपर्ने ४०० रुपैयाँ काटिएको गुनासो गर्नुभयो । उहाँले आफू जस्ता गाउँका धेरैलाई यही समस्या भएको बताउनुभयो । पैसा पठाउने र आएको पैसा वितरण गर्ने अधिकारी ग्लोबल आइएमइ बैंकको शाखा रहितको काम गर्ने जिम्मा पाउनुभएको छ ।

तर उहाँले रेमिट्यान्सको काम गर्न पाउनुहुदैन । उनले स्थानीयको खाता खौल्ने मात्रै काम गर्ने ग्लोबल आइएमइ बैंक कुश्मिसेरा शाखाका प्रबन्धक हरि शर्माले बताउनुभयो । अधिकारीले रेमिट्यान्सको काम गर्नु गैर कानुनी मानिन्छ । रेमिट्यान्स संचालनको लागि कुनै संस्थाले मान्यता दिनु पर्छ तर उनलाई कुनै पनि रेमिट्रान्स कम्पनीले अनुमति दिएको छैन ।

तर अधिकारीले भने जनताको सेवाको लागि काम गरेको बताउनुभयो । उहाँले घरमै गाउँलेहरु पैसा पठाउने र आफन्तले पठाएको पैसा लिनका लागि आफू कहाँ आउने हुँदा आफूले सेवा दिएको बताउनुभयो

‘पैसा पठाउन र कुनै ठाउँबाट आएको पैसा रिसिभ गर्नका लागि कुश्मिसेरा, बागलुङ र पर्वत जानु पर्छ, उहाँहरुले टाढा जाँदा बढी खर्च हुने भएपछि मलाई काम गर्न भन्नुहुन्छ,’ उहाँले भन्नुभयोे ‘मैले मसँग भएको पैसा दिएर केही मैले बागलुङ पर्वत पुगेर पैसा ल्याउने गरेको छु ।’

उहाँले कुनै अनुमति बिना यस्तो काम गरेको गल्ती स्वीकार गर्दै आफूसँग राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण भ्रम फैलाएको बताउनुभयो । उहाँले जनताको सेवाको लागि आफूले वरपर ऋण गरेरै बागलुङ पर्वत जाने झण्झट हटाइ दिएको भन्दै काम गरेकाले आफुखसी पैसा दिने गरेको बताउनुभयो ।

‘मेरो सानो पसल छ, म यही काम गर्छु, यहाँका बुढाबुढी र युवाहरु आएर टाढा जान समस्या भयो पैसा पठाइ दिनु पर्यो, झिक्नु पर्यो भन्छन्,’ उहाँले भन्नुभयो ‘उनीहरुले त्यसो भनेपछि मैले पसलकै पैसा दिएर, वरपर सरसापट गरेर उनीहरुको काम फुकाइ दिन्छु उल्टै मलाई यस्तो आरोप आउँछ ।’

यो पनि पढ्नुहोस्