पोखरा उवासंघ महाधिवेशनः चुनाव आज, ४ पदमा निर्विरोध

आदर्श अनलाइन, पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शनिबार चुनाव हुँदैछ । महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएको छ । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र विद्युतीय माध्यमबाटै गरिएको छ ।

त्यस्तै, चुनावी कार्यक्रम प्रदर्शनी केन्द्र, नयाँबजारमा हुनेछ । निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदाताको प्रत्यक्ष उपस्थितिमै मतदान व्यवस्था मिलाइएको छ । मतगणना भोलिपल्ट आइतबारबाट मात्र सुरु गरिने छ । आयोजकका अनुसार महाधिवेशनमा कोभिड–१९ बाट बच्न सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ ।

संघको २९ सदस्यीय कार्यसमितिका लागि ४ जना उम्मेदवार निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र ३ सदस्यमा निर्विरोध भएको निर्वाचन संयोजक तीर्थ श्रेष्ठले बताए । वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध भएका छन् । प्रजापति हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको प्यानलमा छन् । कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा निर्विरोध भए । औद्योगिक सदस्यमा हीरामणि पण्डित निर्विरोध भए ।

संघको अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला सुवेदी, उपाध्यक्ष उद्योग मा गोकर्ण कार्की र चिनुकुमारी गुरुङ तथा उपाध्यक्ष वाणिज्य मा अर्जुन पोखरेल र सोवित पौडेल चुनावी मैदानमा छन् । नारायण वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन् ।

महासचिवमा धनीराम बराल र सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौला भिड्दैछन् । कोषाध्यक्षमा तारानाथ ढुंगाना र बलराम आचार्य चुनावीमा मैदानमा छन् ।

साधारण सदस्यतर्फ उत्तममान बुद्धाचार्य, उत्तमसेवक कार्की, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र सापकोटा, देवेन्द्र केसी, भरत केसी, पवित्रादेवी गुरुङ, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानांग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।

वस्तुगत संघ सदस्यमा उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गोंगजु, रामबहादुर केसी र रुपनारायण भुजेलको उम्मेदवारी छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षबाहेक उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधानअनुसार १० जना साधारण सदस्यका तर्फबाट, ४ जना वस्तुगत, २ जना एसोसिएट र १ जनाले औद्योगिक सदस्यतर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्ने महासचिव अर्जुन पोखरेलले बताए ।

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै: अर्थमन्त्री किरण गुरुङ

महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो ।

‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्षित गरी हामीले यसको ( जीवन रक्षाकोषको ) कार्यविधि बनाएका छौँ’, कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने– हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भएपनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने बताए । देशले २–३ वर्षमा निर्वाचन धान्न सक्दैन भन्दै उनले चुनावमा कालोधनको प्रवेश तथा चुनावताका हुने भ्रष्टाचारले प्रश्रय पाउने आशंका पनि व्यक्त गरे । उनले संघीय संसद भंग भएसँगै प्रदेश सरकार विघटनको हल्ला चल्दा निजी क्षेत्रमाथि पिरलो थपिएको जनाए ।

‘संसद विघटन संवैधानिक÷असंवैधानिक हाम्रो चासोको विषय होइन’, उनले भने,‘के राजनीतिक दलहरुले आर्थिक विकासमा चासो नदेखाएकै हुन् त ? जनजिविकाको बाटो नहेरेकै हो त ?’

कार्यक्रममा भर्चुअल रुपमा जोडिएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले कोभिड–१९ ले जर्जर बनाएको अर्थतन्त्रलाई सबै मिलेर माथि उठाउनुपर्ने बताए । उनले कोभिड–१९ ले निजी क्षेत्र प्रताडित भएकाले कर्जाको ब्याज चुक्ता गर्ने समयसीमा बढाउन सरकारसँग आग्रह पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बल्याएको बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले छिमेकी देशमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रिया सुरु भएको स्मरण गर्दै छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न एवं नागरिकको जीवन रक्षाप्रति संवेदनशील बन्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिड–१९ ले जर्जर बनाएको उद्योग÷व्यवसाय उत्थानमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उत्कृष्ट व्यवसायी सम्मान

पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे । संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिको सिफारिसमा उनीहरु सम्मानित भएका हुन् ।

लक्ष्मी विद्यापदक वितरण

लक्ष्मी हाउसद्धारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष विविएतर्फ ला ग्राण्डी कलेजका डिक्सन लिम्बु र विविएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्र र मेडलसहित सम्मानित भए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *