बागलुङमा १६७ कुकुरको बन्ध्याकरण

आदर्श अनलाइन, बागलुङ
सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि बागलुङमा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरिएको छ ।

सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनु परेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले बन्ध्याकरण गरी न्यूनिकरण गर्न बागलुङमा दुई दिने बन्धाकरण शिविर सम्पन्न भएको छ । शिविरमा १६७ कुकुरको बन्ध्याकरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख शम्भुराज पाण्डेयले जानकारी दिनुभयो । जसमध्ये बिहीबार ७९ कुकुर तथा शुक्रबार ८८ गरी जम्मा १६७ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । यस्तै २२८ कुकुरलाई रेबिज बिरुद्धको सुई लगाइएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बागलुङ्र, केन्द्रिय रिफरल अस्पताल काठमाण्डौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडा छोडिएका कुकुर तथा घरपालुवा कुकुरलाई समेत बन्ध्याकरणमा समावेश गरिएकोे छ । कुकुरकै टोकाईबाट कयौँ घाइते भएर पोखरा, काठमाण्डौँ सम्म उपचार गर्न जानुपर्ने समस्या समेत हुँदै आएको छ ।

बन्ध्याकरण शिविरमा रेबिज विरुद्धको खोप पनि लगाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । बरिष्ठ पशु चिकित्सक डा.शंकर पाण्डे, पशु चिकित्सक डा. अर्जुन अर्याल, डा. विकास गिरि, खितबहादुर श्रेष्ठ लगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजिकरण गरेका छन् ।

एउटा शिविर सञ्चालन गर्दा दुई सय कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताउनुभयो । “एउटा कुकुरले बर्षमा दुई पटक मात्रै ब्यायो भने पनि ६ वटा एउटाले पाउछ, यस्ता कयौँ कुकुर सडकमा छन्, त्यसैले कुकुरको न्यूनिकरण भएपछि रेबिज रोग पनि घट्ने भएकाले यो अभियान सुरु भएको हो ।” श्रेष्ठको भन्नुभयो “बन्धयाकरणले कुकुरको संख्या तत्कालै नघटेपनि विस्तारै कम भएर जानेछन् ।” भुसिया कुकुरलाई न्यूनिकरण गर्न तथा सन् २०३० सम्म रेबिज उन्मुलन गर्नका लागि बन्ध्याकरण थालिएको उहाँको भनाई रहेको छ ।

यस्तै पशु चिकित्सक डा.अर्जुन अर्यालले बन्ध्याकरण गर्दा कुकुरलाई केही समय पीडा हुने भएपनि लामो समय दुःखाई नहुने गरी औषधीदिने गरेको बताउनुभयो । उहाँले एक दिनमा ६० भन्दा बढी कुकुरको बन्ध्याकरण समेत गरेको बताउनुहुन्छ । कुकुरको बन्ध्याकरणको लागि यो समय उपयुक्त समेत भएको बताउँदै घाउ पाक्ने सम्भावना नरहेको अर्यालले बताउनुभयो ।

बागलुङमा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, केन्द्रिय रिफरल अस्पताल काठमाण्डौँ एवं बागलुङ नगरपालिकाको संयुक्त ५ लाख बिनियोजन गरेकाहुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन बागलुङ नगरपालिका–१३ पैयुँपाटाबाट आउनु भएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताउनुभयो ।

धेरै कुकुर पाल्न नसकिने र रेबिज विरुद्धको ईन्जेक्सन लगाउने भएकोले आफुले कुकुर लिएर आएको रिजालले बताउनुभयो । यसबाट कुकुरको संख्या नियन्त्रण हुने र टोकीहाले पनि रेबिज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको बताउनुभयो । बागलुङका विभिन्न ग्रामिण भेगहरुमा कुकुरले मानिस तथा पशु चौपायालाई समेत टोकेर घाइते बनाएका घटनाहरु पनि समय समयमा आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *