अब बागलुङका सबै स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बन्ने

डम्मर बुढा मगर, बागलुङ
जिल्लाका चार पालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा १५÷१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

भूगोल र जनसंख्याका आधारमा ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्ने नीति अनुसार अहिले चार पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा निर्माण हुने अस्पतालको लागि चालु आर्थिक वर्ष भित्रै विस्तृत गुरु योजना तयार गरिने मन्त्रालयले जनाएको छ ।

जिल्लाका छ पालिकामा यस अगाडिनै पालिका स्तरीय आधारभूत अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको थियो । अस्पताल निर्माणका लागि निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा गत मंसिर १५ मा शिलान्यास भएको थियो । एकै साथ अस्पताल शिलान्यास गर्ने भनिए पनि जग्गा व्यवस्थापन नहुँदा तमानखोला गाउँपालिकामा मंसिर २२ गते गरिएको थियो भने बागलुङ नगरपालिकाले अझै शिलान्यास गर्न सकेको छैन ।

बागलुङ नगरपालिकामा १५, निसीखोला गाउँपालिकामा १५, बडिगाड गाउँपालिमामा १५, तमानखोला गाउँपालिकामा ५, बरेङ गाउँपालिकामा १० र ताराखोला गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि बजेट यस अगाडी नै निकासा भइसकेको अधिकृत खड्काको भनाई छ ।

काठेखेलागा उँपालिकाका अध्यक्ष अमर थापाले वडा नम्बर ६ बिहुँमा निशुल्क जग्गा व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो । ‘स्थानीय साहुँखोला सामुदायिक वनले वडा नम्बर ६ सुल्डाडाँमा निशुल्क १०/१२ रोपनी जग्गा प्रदान गरेको छ,’ उहाँले भन्नुभयो ‘हामी छलफल गछौँ, छलफलपछि यही पनि निर्माण हुन सक्छ ।’

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन भइरहेको भन्दै यस विषयमा छलफल भइरहेको बताउनुभयो ।

जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्ने बताउनुभयो । रानाले उक्त स्थानमा जग्गा केही कम भएको हुँदा कार्यपालिकाको बैठक बसेर थप छलफल गरि काम अघि बढाइने बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले आधिकारिक रुपमा पत्र आउन बाँकी रहेको बताउनुभयो । यद्यपि १५ शैयाको अस्पताल बनाउनका लागि नगरपालिकाले अहिले रहेको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तरबृद्धि गर्ने योजना रहेको उहाँको भनाई छ ।

‘हामीले आधिकारीक रुपमा जानकारी प्राप्त गरेका छैनौँ, बाहिरबाट अनौपचारिक रुपमा सुनेका छौँ,’ उहाँले भन्न्नुभयो ‘जानकारी आयो भने छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढ्ने छौँ ।’

केन्द्र सरकारले यस अगाडी शिलान्यस भएका निसीखोला, बडिगाड, ताराखोला, बरेङ र बागलुङ नगरपालिकालाई ८५ लाख विनियोजन गरेको थियो भने तनमाखोला गाउँपालिकाको लागि ७० लाख रुपैयाँ छुट्याएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *