५० करोडको ठेक्का परेको भन्दै ३१ लाखको ठगी

आदर्श अनलाइन, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकका सुरेश बानियाँ आफ्नै हार्डवेयरमा थिए । उनले सञ्चालन गरेको ओम शान्ति ट्रेडर्स हार्डवेयरमा ५ अपरिचित व्यक्ति आए ।

दिउँसो साढे २ बजे कारमा आएर आफूहरु बाटो निर्माणका लागि ५० औं करोडको ठेक्का पाएको प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालि कम्पनीबाट आएको बताए ।

लमजुङ भोर्लेटारको बाटो बनाउन आफूहरुलाई ठूलो मात्रामा हार्डवेयरका सामान आवश्यक परेको बानियाँलाई सुनाए ।

ती ५ ले आफ्नो परिचय मानबहादुर रोक्का, गीता सुवेदी, प्रेम लामा, नरबहादुर श्रेष्ठ र विकास सिंजाली बताए । ठूलो मात्रामा व्यापार हुने आशमा बानियाँले उनीहरुको प्रस्ताव नकार्न सकेनन् ।

उनले चेक भुक्तानी लिएर ८ लाख १० हजार रुपैयाँ बराबरको फलामको छड पठाए । यो घटना २०७७ भदौ १७ गतेको हो ।

त्यही टोली भदौ १ गते जिरो किमीका सुरेशबाबु श्रेष्ठकहाँ पनि गएको थियो । श्रेष्ठसँग पनि ५ जनै गएर लमजुङमा ५० करोडको आयोजना रहेको र त्यसका लागि हार्डवेयर सामान आवश्यक परेको बताए ।

श्रेष्ठसँग २३ लाख ७१ हजार ७६८ रुपैयाँ बराबरको फलामको छड लगे । उनलाई ती ५ ले १ लाख ४ हजार ४ सय ६ रुपैयाँ हात लगाएका थिए ।

श्रेष्ठ र बानियाँबाट लिइएको सामान उनीहरुले एकैसाथ गाडीमा हालेर लगे । ठूलो परिणामको व्यापार भएकोमा मख्ख परेका यी दुई व्यापारीजब चेक साट्न बैंक पुगे तब छाँगाबाट खसे झैं भए ।

बैंकका कर्मचारीले खातामा पर्याप्त रकम नभएको भन्दै चेक साटिदिएनन् । बानियाँले प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालिकी सञ्चालकको सम्पर्क नम्बर खोजे । उनले कम्पनीको सञ्चालकलाई फोन गर्दा अप्रत्यासित उत्तर पाए ।

कम्पनीकी सञ्चालिका गीताकुमारी पुनले आफ्नो चेक हराएको र अरुले दुरुपयोग गरेको हुन सक्ने बताइन् । सञ्चालकबाट नसोचेको जवाफ पाएपछि बानियाँले प्रहरीकहाँ जाहेरी गरे । यस अघि नै जिरो किमीका श्रेष्ठले जाहेरी दिइसकेका थिए ।

प्रहरीले प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालिकी सञ्चालक पुनलाई खोज्यो । आफ्नो चेक हराएको र आफूले महानगरीय प्रहरी कार्यालय काठमाडौं र खातावाला बैंकमा निवेदन दिएको उनले बताइन्।

दुवै जाहेरीमा लेखिएको नाम गीता सुवेदी आफू नरहेकाले दोषारोपण गर्न नसकिने उनको जिकिर थियो । त्यसपछि मुद्दा जिल्ला अदालत कास्की पुग्यो ।

नाटकीय ढंगबाट ठगी गरेको यी मुद्दामा जिल्ला अदालतले दाङ स्थायी घर भई काठमाडौं बस्ने गीताकुमारी पुनसँग सुरेशबाबु श्रेष्ठको मुद्दामा २३ लाख ७१ हजार ७६८ र सुरेश बानियाँको मुद्दामा ८ लाख १० हजार रुपैयाँ धरौटी मागेको छ ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालिकी सञ्चालिका पुन निर्दोष नदेखिएको भन्दै उक्त रकम धरौटी राख्न बिहीबार आदेश दिएको हो । धरौटी बुझाउन नसकेपछि पुन कारागार चलान भएकी छन् ।

‘प्रतिवादी हालैको अवस्थामा निर्दोष रहेछन् भन्न सकिने अवस्था नदेखिई फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ को अवस्था विद्यमान देखिँदा प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेछ,’ न्यायाधीश भट्टराईको आदेश उद्धृत गर्दै अदालतका सूचना अधिकारी नील पनेरुले भने ।

खासमा भएको के रहेछ भने पोखराबाट लगेको छड गीतासमेतको टोलीले काभ्रेको गुरु गणेश हार्डवेयरमा पु¥याएको थियो । भोर्लेटार जाने बाटो राम्रो छैन डुम्रेबाट लैजाने भनी सुरुमा उनीहरुले काठमाडौं सोझ्याएका थिए ।

डुम्रे पुगेपछि गाडी चालक रामबहादुर थापालाईकाठमाडौं लैजान दबाब दिएको थापाकै अदालती बयान छ । भदौ १८ गते बिहान ७ बजे २८ हजार रुपैयाँ लिएर काभ्रे बनेपास्थित प्लटिङ गरिएको ठाउँमा छाडेको उनले बयान दिएका थिए ।

गीतासँगै ठगीमा संलग्न नरबहादुर श्रेष्ठ, मानबहादुर रोक्काले आफूहरुले ठगी नगरेको र हार्डवेयरका सञ्चालक सुरेश बानियाँलाई नचिनेको बयान दिएका थिए ।

तर उनीहरु दुवैको साथबाट महालक्ष्मी विकास बैंकको प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालिको नामको चेक र नगद २ लाख र १ कार फेला परेको थियो । यी सबैलाई पहिले नै धरौटीमा छाडिसकिएको छ । गीता भने फरार रहेकोमा अदालतमा उपस्थित भएपछि आदेश दिइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *