बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा जिल्ला र सम्भवतः गण्डकी प्रदेशकै कान्छो गाउँपालिका अध्यक्ष हुनुहुन्छ । तमानको वडा नं. ३ सेर्माखोलामा २०४३ असार १२ मा जन्मिएका बुढा स्थानीय सरकारका बारेमा तिव्र असन्तुष्टि र गुनासो आइरहँदा पनि तुलनात्मक रुपमा राम्रो गर्नेमा पर्नुहुन्छ । २०७३ साल जेष्ठ १ गते स्थानीय सरकारको प्रमुख भएदेखि हालसम्मको अनुभव, कार्यसम्पादनका चुनौति, जटिलता, अवसर र सम्भावनाबारे बुर्तिबाङका क्रियाशिल पत्रकार राम सुवेदीले गाउँपालिका अध्यक्ष बुढासँग अन्तरंग गर्नुभएको छ । कुराकानीको सम्पादीत अशः
सामाजिक जीवनको अनुभव कस्तो रह्यो ?
मेरो विचार तथा विश्लेषणमा सामाजिक जिवन एउटा बलि रहेको मैन बत्तिको शिखा हो । किनकी मैनबत्तिले आँफु जलेर अरुलाई प्रकाश दिन्छ भने आँफु मुनी अध्यारो हुन्छ । त्यसैले वास्तविक सामाजिक कार्य वा जीवन पनि यही जस्तो लागेको छ ।
सामाजिक काम गर्नुपर्छ । यसका लागि राजनीतिमा सहभागिता र नेतृत्व लिन आवशयक छ भन्ने महुशुस कहिलेदेखि भयो ?
म स्कुले जीवन या बाल्यकाल देखी नै मेरो स्वाभाव सामाजिक कार्यमा आकर्षित थियो । खास गरि मेरो बुवा साविक तमान गाविसको वडानं. ३ को वडा अध्यक्ष भएको कारण पनि सामाजिक तथा राजनितिक प्रेरणाको स्रोत मेरो बुवा नै हुनुहुन्छ । सामाजिक जिम्मेवारी तथा काम भने संस्थागत रुपमा २०६२ तिरबाट क्याम्पसको विद्यार्थी जिवनबाट नै सुरु भएको हो । २०६४ सालमा म गाउ विकास समितिको परिषद्बाट ३५ हजारमा मेरो घर छेउको खोलामा झोलुङ्गे पुलको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी लिएर लगभग २० मिटर जतिको पुल निर्माण सम्पन्न गरि पश्चात खर्च सार्वजनिकरण गरि सवैलाई कुनै पनि योजनाको कार्यसम्पादन पश्चात खर्च सार्वजनिक गर्नुपर्छ भन्ने शिक्षा तथा उदाहरण दिएको सम्झना छ । त्यही समयबाट निरन्तर सामाजिक कार्यमा सक्रिय छु ।
राजनीति के रहेछ ?
यो राज्य वा देश संचालनको मुख्य मेरुदण्ड आधार हो ।
अहिलेको राजनैतिक जीवन संस्कार ठीक छन् ?
राजनीति र राजनैतिक जीवन वास्तवमै सुन्दर पक्ष हो तर अहिले नेपालको परिवेशमा राजनितिक प्रवृत्ति, संस्कार, व्यवहार गलत मात्र नभएर बद्नाम हुँदै गइरहेको छ ।
राजनैतिक संस्कार बदलिनुपर्छ भन्नेमा पहिला आफैबाट सुरु गर्ने होला नि ? कसरी गर्ने ?
हो, अहिले नेपालको परिवेशमा राजनैतिक संस्कार बदलिनुपर्छ सिस्टम, संस्कार, जिम्मेवार र उत्तरदायित्व जनता र राज्य प्रति हुनु पर्छ भन्ने कडा वकालत मैले गरिरहको छु । तर अहिले यो देशको भद्रगोल राजनितिक परिवेशमा हामी जस्तो सिस्टम, संस्कार, जिम्मेवार र उत्तरदायित्वको कुरा गर्ने त मुर्ख जस्तै हुदो रहेछ । किन की धेरै नराम्रा हरुको भिडमा थोरै राम्रा हरुको समुह मुर्ख नै हुन्छ । त्यसैले म मेरो मुर्खता लाई निरन्तरता दिइरहनेछु ।
तपाई स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष बढी भयो हैन ? अध्यक्ष बन्नु अघि तमानखोला गाउँपालिकाका के के थिएन ? अहिले के के थपिए ?
हो, म तमानखोला गाउपालिकाको अध्यक्षको पदमा निर्वाचित भएर जिम्मेवार सम्मालेको अहिले ठिक दुइ वर्ष पुरा भएर पनि तिन वर्षमा चलिरहेको छ । म अध्यक्षको जिम्मेवारी हुनु भन्दा पहिले र अहिलेमा तमानखोलाको आवश्यकता समस्याहरु त त्यति ठुला र राम्रा काम भएको त छैन । तर स्रोत र साधनले भ्याए सम्म न्यूनतम कामहरु भएकाछन । पहिले भौगोलिक विकतताका कारण पर्याप्त विद्यालयमा शिक्षक दरबन्दी नभएकोमा विद्यालय संचालन गर्न जनताले शुल्क उठाएर न्यून पारिश्रमिकमा शिक्षक राखेर आफ्नो छोराछोरीको सुनौलो भविष्यको लागी दुख परिश्रम गरिरहेका थिए तर अहिले ती समस्या गाउपालिकाले स्थानीय शिक्षकको रुपमा व्यवस्थापन गरि पारिश्रमिक दिइरहेकोछ ।
साथै आधारभुत शिक्षा हासिल गर्न बालबालिकाको अधिकार सुनिश्चित गर्न उदेश्यले विभिन्न स्थानमा बालकक्षा स्थापना, शैक्षिक गुणस्तर वृद्धिका प्रयास, विद्यालयको भौतिक पूर्वाधार निर्माणका काम हरु भईरहेको छ । ६ वटा वडा मध्ये २ वटा वडा २ र ४ मा स्वास्थ्य संस्था स्थापना गरिएको छ । बोंगादोभान स्वास्थ्य चौकीमा ल्याब र एक्स रे सेवा विस्तार साथै खुंखानी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको स्थापना गरिएको छ । ६ नं. वडामा मोटर बाटो थिएन अहिले वडा नं. ६ लगाएत धेरै जसो टोल टोलमा मोटरबाटो पु–याइएको छ । अधिकांश जनताको खानेपानीको समस्या समाधान गरिएकोछ । काठेपोलको ठाउमा फलामे पोल विस्तार गरिएकोछ । सामाजिक कुरिति विसंगतिको न्यूनिकरण गरिएको छ । जस्तै बालविवाह, जुवातास, जाँडरक्सी आदी । पर्यटन विकासको लागी आवश्यक पर्यटन क्षेत्र निर्धारण गरि पुर्वाधार विकासको काम भइरहेकोछ । जस्तै बहराताल मुठाचौरमा मन्दिर निर्माण, शोलेडाडामा सार्वजनिक शौचालय, खानेपानी निर्माण गरिएको छ । कृषि तथा पशुपालन गर्ने कृषकहरुलाई तालिम तथा विउविजन र औषधी वितरण गर्ने गरिएकोछ । खोलेसबाङमा फुलबारी (पार्क) निर्माण गरिएको छ ।
गाउँ गाउँमा शिंहदरबार आयो भनेर खुसी भएका जनतालाई । साँच्ची खुसी बनाए जस्तो लाग्छ ?
जनताको आवश्यकता, समस्या, अपेक्षा साँच्चिकै असिमित छन् । तर हामीसंग सिमित स्रोत साधन भएका कारण भने जसरी सन्तृष्टि दिलाउन त सकेका छैनौ तर हिजोका दिनमा जसरी जनताले विकासका काम गर्न धेरै तादा र झन्झटिलो हुने गर्दथ्यो त्यो समस्या भने पक्कै कम भएको छ ।
गाउँको सिंहदरबारमा समस्या के के रहेछ ?
मैले पहिले भन्ने र वकालत गर्ने गर्थे नेपालमा संघिय संरचना बनाउदा निश्चित अधिकार जस्तै परराष्टनिति, मुद्रानिति र सुरक्षानिति बाहेक सवै अधिकार सहितको संघिय संरचनाको आवयश्यता छ । स्वायत्तता सहितको संघियता चाहिन्छ भनेर अहिले त्यहि कुरा प्रमुख समस्या भइरहेको छ । नेपालको संविधानले तिन तहको सरकारको व्यवस्था गरेको छ । हामी निर्वाचित भएको यति लामो समय भइसकेको छ तर काम गर्ने टिम, कर्मचारी छैन गाउँपालिकाले नीति, योजना तथा कार्यक्रम बनाउछ । तर कार्यन्वयन गर्ने कर्मचारी छैन । कर्मचारी राख्ने अधिकार स्थानिय तहलाई छैन । संविधानले एकल अधिकार दिए पनि संघ र प्रदेशको कानुन संग हामीले बनाएको एन कानुन बाझिए स्वत निस्कृय हुने भनेको छ । स्थानीय तह संचालन गर्न तत्काल चाहिने नियम, कानुन संघले बनाएकै छैन । यदि संघ र प्रदेशले बनाएको कानुन हरु स्वात स्थानीय तह संग बाझिएर आएको हुन्छ । स्थानीय प्राकृतिक स्रोत (जल, जंगल, जमिन) माथीको स्थानीयको अधिकारबाट स्थानीय तह बञ्चित भएको छ । हामी संग प्रशस्तै काठ, ढुंगा त्यसै फालिएर गएका छन तर संघिय कानुनले ती काठ, ढुंगा, खानीहरु स्थानीय तहले छुन पनि नपाइने कानुनुहरु छन् अनि कसरी स्थानीय तह चल्छ ?
समस्यासँगै समाधान पनि हुन्छ भन्छन् नी ? उपाय भेटाउनु भएको छैन ?
समस्या समाधानको उपाय भनेको संविधानको सहि व्याख्या, परिभाषा र कार्यन्वयन हुनु नै हो ।
तपाइको कार्यकाल त मध्य भयो हैन ? अव के के गर्न बाँकी छ ?
होे, अब तीन वर्षमात्र बाँकी छ । मुख्य काम तमानखोला गाउँपालिकाको हरेक नागरिकलाई शिक्षित, स्वस्थ र सचेत गराउने लगायत धेरै काम गर्न बाँकी छ । यो अभियान म मेरो कार्यकाल पछि पदमा नरहे पनि निरन्तर लाग्ने छु ।
यो—यो बनाउनुछ भन्ने हिजो तपाइको परिकल्पना र आज गर्दै गर्दा अपुरो हुने जस्ता केही छन् ?
शिक्षित, असल, सक्षम, योग्य नागरिक र सभ्य, समुन्नत समाज, सम्बृद्ध तमानखोला बनाउने लक्ष्य छ । यसलाइ जसरी पनी पुरा गर्नु पर्छ तर समय लाग्न सक्छ ।
जनता ठूलो कि जनप्रतिनिधि ?
जनता ।
अहिलेको परिवेशले त खासमा ठूलो त जनप्रतिनिधि हो जस्तो छ नि ? होईन र ?
होइन । लोकतान्त्रिक पद्धतिमा जनता नै मालिक हुन् । जनप्रतिनिधि त जनताको सेवक हो ।
जनता औषधि पाउँदैनन्, गतिलो लुगा लगाउन पाउँदैनन्, खानेकुरा शरिर चाहिंदो पाएको देखिदैन, गतिलो सडकमा हिँड्न पनि पाउँदैनन् । अभावमा भएकालाई राज्यले हेरेकै छैन, दुःखमा पर्दा सहायता पाउने कमै मान्छे हुन्छन् । तर जनप्रतिनिधिको जीवनशैली त गतिलै देखिन्छ त ? जनताको भन्दा कमी के–के मा हुँदोरहेछ ?
हो, तपाईले भनेको नै अहिले व्यवहारमा वास्तविकता छ । जनप्रतिनिधि एक थोक बोल्छ, व्यवहारमा अर्कै गर्छ । तर, जनता चेतना र विचारमा ठुलो छ । अहिले यस्तो व्यवहार गर्ने जनप्रतिनिधिलाई सके तत्काल नत्र अर्को चुनावमा भए पनि जनताले त्यसको यथोचित मुल्यांकन गरेर उपर्युक्त नतिजा दिनेमा म बिश्वस्त छु । यस्तो प्रवृत्ति, आरोप र गुनासाबाट सके सम्म बच्ने गरि कार्यशैली अपनाउने प्रयास गरेको छु र अबका दिनमा पनि गर्छु ।
के हामी अझै जनताको शासन चलाउन सक्दा रहेनछौं हैन ? समस्या छ कि संस्कार यस्तो बनाइराखेको होला ?
लोकतान्त्रिक पद्धतिमा जनता नै सर्वेसर्वा हो । जनताले, जनताद्धारा, जनताको लागी गरिने शासन प्रणाली नै लोकतन्त्र हो । तर जनप्रतिनिधि, कर्मचारी र जनता हामी सबैको स्वार्थ र नियतमा समस्या छ ।
गाउँको सरकार तपाइहरु चलाइ रहनु भएको छ । यसलाई सिंहदरबार पनि के भनि राखौं, जनताको दरबार कहिलेसम्म बनाउन सकिन्छ ?
स्वार्थ, नियत, प्रभाव र दवाबबाट मुक्त हुने हो भने अहिलेनै सम्भव छ ।
जनप्रतिनिधि कस्तो हुनुपर्ने रहेछ ?
व्यक्तिगत स्वार्थबाट माथी उठि दुरदर्शि सोच राख्न सक्ने क्षमता भएको हुनुपर्छ ।
जनता कस्ता देख्नुभयो ? कस्तो हुनुपर्छ ?
कता कता जनता पनि आफनो स्वार्थ वा रोजीरोतीको लागी जे पनि गर्ने छन । सामाजिक भावना भएको हुनुपर्छ ।
अन्त्यमा, केही भन्न मन लागेको केही छ की ?
परिवर्तन हाम्रै पाला सम्भव छ । तर नेता, कर्मचारी र जनता सबै इमान्दार र परिश्रमी हुनुपर्छ ।