गलकोटका निमोनिया र बाथरोग पीडित बिकलाई पाँच लाख सहयोग

आदर्श अनलाइन,बागलुङ

नियमोनिया र बाथ रोगबाट पीडित बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ ।

जापानमा कार्यरत बागलुङको गल्कोटवासी र नेपालका बिभिन्न ठाउँमा रहेका सहयोगी व्यक्तिहरुको सहयोगमा संकलित ५ लाख ६८ हजार ७ सय ८५ रुपैया राजेश बिकलाई हस्तान्तरण गरिएको हो । सेवा नै धर्म हो भन्ने नाराका साथ जापानको बिभिन्न ठाउँमा कार्यरत गल्कोटवासी र नेपालमा रहेका बिभिन्न जिल्लाका व्यक्तिहरुको सक्रियतामा संकलित उक्त रकम पिडित बिकको घरमै पुगेर हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा स्थानीय बिनोद कार्कीको नेतृत्वमा संकलित १४ हजार ९ सय ४६ र डायनामिक स्पोट क्लव झाझीस्थानबाट प्राप्त ४ हजार ५ सय रुपैयाँ पनि पीडित बिकलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित प्रदान गरिएको थियो ।

बाथ रोग र निमोनिया पीडित राजेश बिकलाई सहयोग हस्तान्तरणका क्रममा ।

बाथ रोग र निमोनिया कारण बिकको शरिर नचल्ने अवस्था भएपछि उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको अभियन्ता कमलबहादुर कार्कीले बताउनुभयो । उहाँले जापान लगाएत नेपालको चितवन, पोखरा, पर्वत म्याग्दी, बागलुङका व्यक्तिवाट पनि सहयोग प्राप्त भएको बताउनुभयो ।

उक्त रकम सहयोग संकलन अभियानमा सक्रिय जापानमा कार्यरत कमलबहादुर कार्कीको छोरा यामबहादुर कार्की, मिलन केसीको बुवा जगतबहादुर खत्री र गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले हस्तान्तरण गर्नु भएको थियो । जापानमा रहेर सहयोग संकलनका लागि कमल कार्की, मिलन केसी, निमबहादुर खड्का, तारा खत्री तेजु, मेघराज रिश्मेली, लक्षुमण कार्की, मिनबहादुर खत्री, नेत्र थापा, तारा केसी थापा, याम बिक र कृष्ण खत्रीले पहल गर्नु भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकीले एउटा जुझारु युवा राजेश बिकको समस्या सवैको समस्या भएकाले उनको स्वास्थ्य लाभको कामना गर्दै प्रदान गरिएको सहयोग रकमको सहि सदुपयोग हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रम सहयोगदाता एवँ धौलागिरि एफएम बागलुङका सम्पादक ताराप्रसाद शर्माले परोपकारी कार्यमा थोरै भए पनि सद्भाव र सहयोग गर्न पाउँदा सन्तोष मिलेको बताउनुभयो ।

पीडित बिकका बुवा मनबहादुर बिकले सहयोगदातालाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम स्थानीय मिलिजुली आमा समुहका अध्यक्ष हिरादेवी परियारको अध्यक्षता र चौराह माविका शिक्षक नरबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *