बागलुङका सवारी चालक र सह-चालकलाई ट्राफिक प्रशिक्षण

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखराको सहयोगमा बागलुङका सवारी चालक र सहचालकलाई प्रशिक्षण दिइएको छ ।

ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दुर्घटना न्युनिकरणका लागि सवारी चालकका साथै सवारी धनी र यात्रुको समेत महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले जिल्लाको पश्चिम क्षेत्रमा दुर्घटना बढि भइरहेकाले त्यस क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले सवारी चालक र धनीले सवारी सञ्चालनका क्रममा त्यसको मेसिनरी अवस्थामा समेट अपडेट भएर अनावश्यक दबाब र तनाब रहित रुपमा काम गरे दुर्घटनामा कमी आउने बताउनुभयो ।

सोही अवसरमा जिल्लाका तीन असल चालकलाई सम्मान गरिएको थियो । बस तर्फ ना ४ ख १८७९ का चालक आनन्द श्रेष्ठ, जीप तर्फ ग १ ज २४८४ का चालक खड्कबहादुर सार्की र ट्याक्सी तर्फ ध १ ज ८७२ नम्बरका चालक श्याम नेपालीलाई सम्मान गरिएको थियो ।

बागलुङमा सञ्चालित प्रशिक्षण कार्यक्रममा जिल्लाका १५ बढि बस, जीप र ट्याक्सी चालक तथा सहचालकको सहभागी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले जानकारी दिनुभयो ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले मन्तव्य व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक टेकनारायण कार्कीले प्रदेशमै दुर्घटना न्युनिकरणका लागि कास्की र बागलुङमा चालक र सह–चालकलाई प्रशिक्षण दिइएको बताउनुभयो । अभियानका क्रममा गत पुस १९ देखि २५ गते सम्म तनहुँमा दुई पांग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण गरिएको थियो । जसबाट ३ सय बढि चालक लाभान्वित भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *