शुभेच्छा पन्त
नेपाल लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको राष्ट्र हो । नेपालको सबैभन्दा ठूलो समस्या भनेको वर्तमान संसद हो । नेपाल सरकार आज विदेशीको खेलाउन बनेको छ । यसले गर्दा नेपाल र नेपालीको स्वतन्त्रता, अखण्डता, विकासमा गहिरो असर पारेको छ । नेपालको वर्तमान शासन प्रणाली र नेपालीले भोग्दै आएको राजनीतिक, सामाजिक, आर्थिक र मानवीय समस्याहरु हुने कारण केवल सुशासन र सदाचारको कमि हुनु हो ।
राष्ट्र भनेको जनता, सरकार तथा सार्वभौम सत्ता सम्पन्न भएको मुलुक हो । राष्ट्र निर्माण धेरै पहिचान भएका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने एक आधार हो । कुनै पनि मुलुकले आफ्नो राष्ट्रको इज्जत, मान, प्रतिष्ठासँगै मुलुकको संवेदन शिलतालाई महसुश गरी व्यक्तिलाई गर्व महशुस गर्न सक्ने अवस्थाको सृजना गर्नु नै राष्ट्र निर्माण गर्नु हो । सामाजिक समावेशीकरण, गुणवत्ता व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता, नवीनता, आर्थिक अवसरहरु, प्रशासनिक पूर्वाधार, सुशासन, सदाचार, शिक्षा आदि राष्ट्र निर्माणका आधारहरु हुन् ।
सुशासन भनेको सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हुन्छ । सुशासनले व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दछ । सदाचार भनेको असल चाल, चलन, र व्यवहारमा बस्नु हो । संयुक्त राष्ट्रका अनुसार सुशासनलाई सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहीता, सहमति अभिमुखीकरण, समानता र समावेशीकरण, प्रभावकारिता र दक्षता, र उत्तरदायित्वका आठ कारकहरूले मापन गर्छन् । शासनको अवधारणालाई विभिन्न व्यक्तिहरूले धेरै तरिकाले बुझ्दछन । सुशासन आदर्श समाजको परिकल्पना हो, जसमा सर्वसाधारणको इच्छा र आकांक्षाको सही प्रतिनिधित्व हुन्छ । सुशासन अनुसार हरेक राष्ट्र विकास निर्माणको खाका कोरिन्छ र यसलाई सफलताका साथ कार्यान्वयन गरिन्छ । सबैभन्दा राम्रो शासन नै सुशासन हो । विकसित राष्ट्र, विकासशिल राष्ट्र, विकासोन्मुख राष्ट्र तथा अल्पविकसित राष्ट्रमा सुशासनको अर्थ फरक फरक हुन्छ ।
सुशासनको अवधारणा मानव सभ्यता जत्तिकै पुरानो छ । शासन भनेको निर्णय लिने प्रक्रिया हो । मुलुकमा सुशासन कायम गर्न विधिको शासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासन, दण्डहीनताको अन्त्य, मानव अधिकारप्रतिको सम्मान, जनउत्तरदायी सरकार, आदि आवश्यक कुराहरु हुन । यो बहुआयामिक मान्यता र प्रक्रिया हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । सामाजिक मर्यादा र कानुन अनुकूलको चरित्र नै सदाचार हो । सदाचारको मापन देश, काल, परिस्थिति, समाज, धर्म, र सांस्कृतिक मूल्य मान्यतामा निर्भर हुन्छ । आफूलाई तोकिएको काम इमान्दारी र निष्ठावान साथ गर्नु नै सदाचार हो । सत्य कर्म, सत्य वचन, सादगी, असल रहनसहन, स्वस्थ खानपान, सहनशीलता नै सदाचारका गुण हुन । व्यक्तिगत लाभलाई सार्वजनिक सेवासँग जोड्न खोजियो भने सदाचारको अन्त्य हुन्छ ।
यो लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड होे । सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासन र सदाचार बिना सम्भव छैन । त्यसैले, सुशासन साधन र साध्य दुबै हो । सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार हो । सरकारले देखेको समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार गर्न सुशासन र सदाचार अपरिहार्य साधन हो । त्यसैले, सुशासन र सदाचारलाई समृद्धि, दिगो शान्ति र विकासको लागि प्रस्थान बिन्दु मानेर अघि बढ्नु पर्दछ र अन्ततः स्थापित सुशासित व्यवस्थामा पुगिनेछ । यस्तो समृद्धि हासिल गर्नका लागि अन्य पूर्व सर्तहरूका अलवा सुशासन र सदाचार अनिवार्य सर्त हो । कुनै एक समूहप्रति शक्तिको प्रयोग गर्नु र निर्णय क्षमताको प्रदर्शन गर्नु नै शासन गर्नु हो । शासन गर्ने व्यक्तिले विभिन्न माध्यमबाट त्यो अधिकार ग्रहण गरेको हुन्छ ।
अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनको लागि शिक्षित युवाको महत्व बढि हुन्छ । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट सदाचारको पालना गरेर चल्नु पर्छ । युवा शक्तिको प्रयोग गरी देश निर्माण गर्नु नै उज्ज्वल भविष्यको सुनिश्चित गर्नु हो । विकासको लागि मात्र नभई देशलाई सुधार्न पनि शिक्षित युवा, सदाचार र सुशासनको आवश्यक पर्छ । नेपालीहरु आज पनि विकासका सपना बुनेर समृद्धिको बाटो कुरेर बस्न विवश छन । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेका छैन । युवाका जोश, जाँगर, उत्साह, सिर्जनशिलता, सोच र विचारको कदर हुन सके मात्र हामीले परिकल्पना गरेको सम्बृद्ध राष्ट्र निर्माण हुन्छ । संसार परिवर्तन गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ । नेपाललाई के दिन सक्छु भन्ने नविन सोच र चिन्तन गरी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशिल, लगनशील, कर्तव्यनिष्ट भएर अगाडी बढ्नुपर्छ ।
नेपाल अझै पनि विकासन्मुख देशको रुपमा रहेको छ । यहाँ प्राकृतिक सौन्दर्य, स्रोत साधनको खानी छ यद्यपि सुशासन र सदाचारको कमिले गर्दा दिगो विकास हुन सकेको छैन । विकास सुस्त र कछुवा गतिमा भएको छ । यसको अर्थ राष्ट्र निर्माणका लागि स्रोत र साधन मात्र भएर हुदैन, त्यसको लागि सम्पूर्ण दिगो सरकार, लगनशीलता, निती नियमको पुर्ण कार्यान्वयन जस्ता कुराले प्रत्यक्ष एंव अप्रत्यक्ष सहयोग पु¥याएको हुन्छ । त्यसैले राष्ट्र निर्माणको लागि एक साधन मात्र भएर हुदैँन्, सबै कुराको मिलाएर काम गर्नु पर्छ । देश विकासको लागि तेरो र मेरो नभनि राष्ट्र निर्माणका लागि एकजुट भई लाग्नु पर्छ ।