घरबासको आर्कषण कोदोको सेल रोटी

आदर्श अनलाइन, बागलुङ
अलि पहिल्यै गाउँ घरमा प्रचलित कथन थियो– ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिदै आएको अन्न कोदोका परिकार प्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरबासमा पुगेका पर्यटकहरुले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरबास सञ्चालक कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।

सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रुपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले स्थित बेलढुंगा सामुदायिक घरबास (होमस्टे) मा भने कोदोको सेल रोटी प्रमुख आर्कषणका रुपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेल रोटी होम स्टेको विशेष आर्कषणको रुपमा राखिएको छ । घरबास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरबास सञ्चालक बताउँछन् ।

कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरबास सञ्चालक माया घर्तिले बताउनुभयो ।

उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका बिभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव गोपाल श्रीसले जानकारी दिनुभयो । ‘आगन्तुक पर्यटक र पाहुनालाई उनीहरुको इच्छा अनुसार खुवाउने चलन भए पनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ’ श्रीसले भन्नुभयो, ‘आलु र कोदोको परिकारलाईनै मुख्य आर्कषण बनाएका छौं, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रुपमा लिइएको छ ।’

सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाहरुले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रुपमा घरबासमा आएका पाहुनाहरुले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको होमस्टे पुग्नुभएका बागलुङ बजारका मनकुमारी केसीले बताउनुभयो । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरबासको तुलनामा बेलढुङ्गा घरबासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दिपक गौतमले बताउनुभयो ।

घरबासमा दोस्रो पटक आउने पाहुनाले सिधै आलु र कोदोको सेल रोज्ने गरेको घरबासका सञ्चालिका माया श्रीसले बताउनुभयो । घरबासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीय स्तरमा उत्पादित खानाका परिकारलाई विशेष रुपमा प्रर्वद्धन गर्ने स्थानीयको योजना छ । गाउँकै मुख्य बालीको रुपमा उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायिकरण र अन्य उत्पादनलाई समेत प्रर्वद्धन गर्न अब गाउँलाई अर्गानिक भिलेजकोे रुपमा स्थापित गर्ने योजना समेत बनाइएको घरबासका सञ्चालक श्रीसको भनाई छ ।

कोदोको सेल रोटी र आलुको परिकार संगै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, बाँकाको सिन्की लगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । हाल एक रातमा ५० जना आरामदायी रुपमा बस्न मिल्ने गरी १२ घरमा घरबास व्यवस्थित गरिएको छ घरबास सञ्चालक उमा श्रीसले जानकारी दिनुभयो ।

बागलुङको धम्जा ओखले र म्याग्दीको भकिम्लीको सिमामा अवस्थित २६०० मिटर उचाईमा रहेको पर्यटकीय स्थाल बेलढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएपछि दुई वर्ष अघिदेखि घरबास सञ्चालनमा ल्याइएको जिथयो । बेलढुङ्गामा सूर्योदय, हिमाल र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।

घरबासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको १० लाख र काठेखोला गाउँपालिकाको एक लाख सहयोगमा २ सय क्षमताको सामुदायिक भवन समेत निर्माण गरिएको छ । जसमा पाहुनालाई सामुहिक रुपमा नाँचगान सहित स्वागत सत्कार गरिनेछ । त्यसपछि खाना र आवासका लागि घर–घरमा व्यवस्था छ । गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, सालैजो, ठाडोभाका, यानीमाया लगायतका मौलीक गीत संगित र नाँच देखाउने गरिन्छ । पछिल्लो समय घरबासलाई समेत प्रर्वद्धन गर्ने गरि बागलुङ नगरपालिकाको पञ्चकोटदेखि संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धौलागिरी हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा समेत पर्ने बेलढुंगा चढ्ने गरि पदमार्ग निर्माण समेत थालनी गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *