ढल शुद्धिकरणका लागि एक अर्बको योजना थालनी

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको ढल शुद्धिकरणका लागि झण्डै एक अर्ब रुपैयाँको आयोजनाको काम थालनी गरिएको छ । दुई वर्षदेखि डीपीआर निर्माण थालिएको बागलुङ बजार ढल व्यवस्थापन तथा शुद्धिकरण आयोजनाको बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भई निर्माणको चरणमा पुगेको छ ।

बजार क्षेत्रबाट उत्पादन भएको ढल तथा फोहोर ट्रिटमेन्ट प्लान्ट मार्फत प्रशोधन गरी शुद्ध बनाएर नदीमा मिसाउने योजना अनुसार काम शुरु गर्न लागिएको हो । डीपीआर तयार गरी ठेक्का प्रक्रियामा जानु अघि संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग पोखरा तथा बागलुङ नगरपालिकाका प्राविधिकद्वारा आयोजनाको ट्रिटमेन्ट प्लान्ट तथा ढल निकास गर्ने मुख्य स्थलको पुर्नअवलोकन समेत गरी सकिएको छ ।

बागलुङ बजार क्षेत्रमा रहेको अव्यवस्थित ढल, सेफ्टी ट्यांकी तथा उद्योगबाट निस्कने फोहोरलाई व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदुषणलाई रोक्नका लागि अर्ब लागतको डीपीआर तयार गरी आयोजना निर्माण थालिएको खानेपानी तथा ढल निकास विभागले जनाएको छ ।

तीन वर्षमा सक्ने गरी शुरु गर्न लागिएको आयोजनाका लागि चालु आर्थिक वर्षमा रु.१२ करोड बजेट बिनियोजन गरिएको छ । बागलुङ बजारको ढल, बर्खाको भेल र उद्योगबाट निस्कने फोहोर अव्यवस्थित रुपमा नालीमा जम्ने, बागलुङ बजार जलमग्न हुनुका साथै प्रदुषण हुने भएकाले सडकमुनी पाइप बिछ्याएर सिधै प्लान्टमा लगिने र प्रशोधन पश्चात नदीमा मिसाइने खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत ढल निकास तथा प्रशोधन कार्यक्रमका सिनियर डिभिजन इञ्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो । “डीपीआर पश्चात ठेक्का प्रकृयाका लागि अगाडि बढेको छ” श्रेष्ठले भन्नुभयो “अब ठेक्का खोले पछि ठेकदारसँग सम्झौता भएपछि निर्माणको काम शुरु हुनेछ ।” श्रेष्ठका अनुसार आयोजनाको डीपीआर तयार गर्नका लागि नै दुई वर्ष लागेको थियो ।

नाली मार्फत व्यवस्थित ढल नभएका कारण पानी पर्दा साथ जलमग्न हुने, होटल, भान्साघरबाट निस्केको फोहोर तथा शौचालय समेत ढलमा मिसाइदा नदी प्रदुषित भएका कारण व्यवस्थित ढल निर्माणका लागि डीपीआर तयार गरे अनुसार पहिलो चरणमा बजेट बिनियोजन भएर आएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका डिभिजन इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो । यस्तो आयोजनाले वातवरणीय रुपमा समेत निकै सकरात्मक प्रभाव पर्ने केसीको भनाई छ ।

ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजार क्षेत्रका सबै घरलाई समेट्ने गरी बागलुङ नगरपालिकाले डीपीआर गर्नुपूर्व नै पटक–पटक सर्वपक्षीय छलफल पश्चात आयोजना अगाडी बढेको बागलुङ नगरपालिकाका इञ्जिनियर गौरब शर्माले जानकारी दिनुभयो । “सुन्दर नगर बनाउन यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्छ” शर्माले भन्नुभयो “बजारको सडक बीचमा झण्डै ६ फिट गहिरो पाइप बिछ्याएर दुई स्थानमा लगेर प्रशोधन गरिनेछ ।”

सर्वपक्षिय छलफलका आधारमा नगरबासीको सुझाव सहित डीपीआर तयार भएको र सोही अनुसार चालु आर्थिक वर्षमा काम शुरु गर्न १२ करोड रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । नेपाल सरकार मार्फत विनियोजन भएको बजेटमा बागलुङ नगरपालिकाको समेत केही प्रतिशत सह–लगानी रहनेछ ।

ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुई वटा मेन लाइन मार्फत ढल प्रशोधन गरेर मात्रै नदीमा मिसाइनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल निरयघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भू–भागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ । यस आयोजना निर्माणका क्रममा भत्किएका सबै संरचना निर्माण सहित कालोपत्रेको काम समेत सोही आयोजनाले गर्ने डीपीआरमा उल्लेख छ ।

बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । ढल निकासका आयोजनामा प्रमुख पाइप लाइन, शाखा लाइन, घर–घरमा च्याम्बर र ट्रिटमेन्ट प्लान्ट समेत निर्माण हुनेछन् । “व्यवस्थित ढल निर्माणले बागलुङ बजार मात्र सुन्दर देखिदैन, धार्मिक तथा वातवरणीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिएको कालिगण्डकी नदि प्रदुषित हुनबाट जोगिनेछ ।” हिन्दु धर्मावलम्बीले शालिग्राम पाइने नदीको रुपमा पुज्ने कालिगण्डकी नदिमा शुद्धिकरण गरेको पानी मिसाउदा बातावरणमा समेत सकरात्मक असर पु¥याउनेछ भने प्रशोधन ट्रिटमेन्ट प्लान्टबाट कम्पोष्ट मल समेत उत्पादन हुनेछ ।

बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकासका लागि निर्वाचित भए देखिनै प्रयास रहे पनि अहिले आएर सार्थकता पाउने गरी काम थालिएको हो । बागलुङ बजार मध्यपहाडी लोकमार्गको ट्रान्जिट पोइन्ट र कालिगण्डकी करिडोरले छोएर जाने भएकाले नगरलाई सुन्दर र समृद्ध बनाउनका लागि ढल निकास आवश्यक रहेकाले व्यवस्थित ढल निर्माण गगर्ने योजना अनुसार झण्डै एक अर्ब लगानी गर्न थालिएको छ ।

ढल निकासको प्रमुख पाइप लाइनसँग बागलुङ नगरपालिका वडा नम्बर १,२,३ र ४ का बजार क्षेत्रका सबै घरमा उत्पादन भएको ढल तथा शौचालयको फोहोरलाई जमिन मूनिको पाइप लाइन मार्फत शुद्धिकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ । शुरुमा ७० करोडमा आयोजना निर्माण हुने भए पनि नगरवासीको सुझाव अनुसार डीपीआर परिवर्तन गर्दा झण्डै एक अर्ब लागत पुगेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *