एनआरएनए, गिर्दो शाख र नयाँ नेतृत्व

सम्पादकीय
मुलुकको राजधानीमा गैरआवासीय नेपाली सघं (एनआरएनए)कर्मीको जमघट छ । बिश्वभर छरिएर रहेका नेपाली प्रवासीहरुको बृहत पुर्नमिलन । बर्षौसम्म आँफ्ना रोजगार, पेशा, व्यवासयमा केन्द्रित भएकाहरुको उपस्थिति । गैरआवासीय नेपालीको मात्र होइन, यो भेटघाट, जमघट र पुर्नमिलन सहितको सम्मेलनमा सिंगो आवासीय नेपालीको समेत ध्यान आकर्षित छ । यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने, कसैलाई नेता बनाउने मात्र होइन, गहनतम अर्थ राख्नेछ । जहाँबाट बिश्वभर रहेका तमाम नेपाली माझमा अनेकन सकरात्मक सन्देश प्रवाह हुनेछ । यस्तो खालको अपेक्षा, बिश्वास र भरोसा राख्नेहरु देश भित्र र बाहिर अधिक थिए । तर, उपस्थिति, परिस्थिति, परिवेश, एक पछि अर्को खराब घटनाक्रम र दृश्यले संसारभर नकरात्मक सन्देशको तरंग फैलावट छ ।

गैरआवासीय नेपाली सघं जतिबेला यो स्थापना भयो । त्यो बेलाको सघंको आवश्यकता, औचित्यता पुष्टि गर्दै आजको दिन सम्मको एनआरएनएको यात्रा सम्भव भएको हो । १७ बर्ष अगाडी स्थापनाको आवश्यकता, मर्म र भावना अहिले नै कदापी बिर्सन हुँदैन । सुरुमा आर्थिक लगानीको मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको गैरआवासीय नेपाली संघ पछिल्लो समय दोहोरो नागरिकता, मताधिकार, राजनीतिक अधिकार जस्ता मुद्दामा केन्द्रित छ । नेपालमै रोजगारी सिर्जना गरेर एनआरएन घटाउने सघंको उद्घोष छ । तर, एनआरएनए र सरकारको उद्घोष एकै छ । अहिले पनि बिदेश जाने क्रममा गिरावट छैन, अझ बढ्ने क्रममा छ । अहिले बिदेश गएकाहरु र लामो समयदेखि त्यहाँ भएकाहरु सामाजिक सञ्जाल मार्फत नेपालका नेता, मन्त्री, कर्मचारी र नागरिकलाई तथानाम गाली र गुनासो गर्छन् । नेपाल भित्रको बेथिति र अनुशासनहीनताबारे उत्तिकै आक्रोश पनि । व्यवस्था, प्रणाली, अनुशासन, नागरिक दायित्वका बिषयमा घण्टौ बिदेशका गफ पनि दिन्छन् । तर, तिनै सम्पन्नताको मुलुकमा बस्ने नेपालीहरुले बिदेशको प्रणाली भित्र बसेर काम मात्र गरे की केही सिके पनि ? राजधानीको होटल हायातमा भएको सघंको नवौ सम्मेलनमा एनआरएनएका प्रतिनिधिले गरेको हुलदंगा, नारा जुलुस, तोडफोड, बिमानस्थल बितण्डा, फोहोरी चुनाव प्रचार र तमासा सहितको अनेक हर्कतले नेपाली आचरण प्रष्ट झल्काएको छ ।

हुन त कुनै पनि संघ, संस्था, समूह, क्षेत्र राजनीति खराब पात्र र प्रवृत्तिबाट अछुतो छैन । त्यसमा एनआरएनएमा मात्र हामीले शुद्धता खोज्न थाल्नु मुर्खता हुन सक्छ । तर, तुलनात्मक रुपमा विकसित मुलुक, त्यहाँका अनेक व्यवस्थित सिस्टम भित्र बसेका गैरआवासीयहरुले राम्रै अभ्यास गर्लान् र हामी अविकसित मुलुकमा बस्ने नागरिकलाई राम्रो पाठ र सन्देश देलान् भन्ने अपेक्षा धेरैको थियो । चुनावी गतिविधि र घटनाक्रमले एनआरएनएको अनुहार नांगो मात्र होइन, उदांगो बनाई दिएको छ । अरुलाई गाली र गुनासो गर्न जति सजिलो छ, बिभिन्न आरोह अवरोह पार गरेर अघि बढ्न उत्तिकै कठिन छ । अहिले एनआरएनए सम्मेलनमा चुनावका क्रममा जे भएको छ, जे देखिएको छ । त्यसले बिदेशमा बस्ने गैरआवासीय नेपालीलाई बढी लज्जाबोध गराएको छ । केही व्यक्ति र प्रवृत्तिका कारण सिंगो गैर आवासीय नेपाली बदनाम हुने तर्फ सबै सचेत हुनुपर्छ । अब निर्वाचित टिमले गिर्दो साखलाई बचाएर नेपालीपन र नेपालीमनलाई एकतावद्ध गर्न सफल रहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *