मंसिरमा टिप्नुपर्ने सुन्तला माघसम्म बोटमै

साधना पन्त, बागलुङ
मंसिर पुसमा टिप्नुपर्ने सुन्तला जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका अमृत सुवेदीको बगानका बोटमै लटरम्म छन् ।

अहिले सम्म बोटबाट टिपेर सक्नुपर्ने सुन्तला यो वर्ष कोरोना महामारीका कारण एक महिना बढि ढिलाई हुन पुगेको हो ।

सुवेदीको बगैँचामा १ हजार सुन्तलाका बोट छन् । ‘केही बोट सानै छन्, केहीले आगामी वर्ष मात्र उत्पादन दिन सुरु गर्नेछन्,’ सुवेदीले भन्नुभयो ‘४ सय १० वटा सुन्तलाका बोटले निरन्तर उत्पादन दिंदै आएका छन् ।’ मंसिर महिनामा टिपेर सक्ने गरी सुवेदीले नारायणघाटका व्यापारीलाई ५ लाख रुपैयाँमा चार सय बोटको सुन्तला ठेक्का दिनुभएको थियो । कोरोना महामारीको कारण ठेकेदारले तोकिएको समयमा सुन्तला टिप्न नसक्दा अहिले सम्म सुन्तला बोटमै रहे ।

यो वर्ष सुवेदीलाई कोरोनाले मात्र होइन, सुन्तला फुल्ने समयमा परेको भारी वर्षाले पनि मारमा पा¥यो । सेतै फुलेका सुन्तलाका बोटबाट असार देखी साउन महिना सम्म निरन्तर परेको झरीले आदि भन्दा बढी सुन्तला फुलमै झरे । अघिल्लो वर्ष सुवेदीले ८ लाख रुपैयाँको सुन्तला बिक्री गर्नुभएको थियो । यो वर्ष ठ्याक्कै ३ लाख रुपैयाँ घाटा भयो ।

सुन्तला टिप्नुपर्ने समयमा टिप्न नसकेका कारण सुवेदीले यो वर्ष मात्र होइन । अर्काे वर्ष पनि घाटा बेहोर्नु पर्छ । समयमा बोटबाट सुन्तला नटिप्दा अर्काे वर्ष सुन्तलाको बोटले कम उत्पादन दिने कृषि कार्यालय बागलुङका प्रमुख भानु भट्टराई बताउँनुहुन्छ । पर्यटकीय गाउँहरुमा फागुन महिना सम्म पनि बोटमै सुन्तला राख्ने गरेको पाइन्छ,’ भट्टराईले भन्नुभयो, ‘समयमा सुन्तला नटिप्दा आगामी वर्ष हुने उत्पादनमा असर पर्न जान्छ । यो वर्ष गुणस्तरीय सुन्तला फलेको छैन, अत्याधिक वर्षातका कारण अमिलो, सुन्तलाको दाना सानो छ ।’

कोरोनाका कारणले कृषकहरु मारमा परेका छन् । समयमै सुन्तला टिप्ने, मल नराख्ने र औषधी नछर्ने हो भने आगामी वर्ष सुन्तलाको उत्पादनमा कमी आउने कृषि विज्ञ बताउँछन् । पाकेको सुन्तला टिप्दै जाने, सुन्तलामा गुणस्तर नभएको, पानी धेरै परेका कारण गुलियो नभएको, फलले राम्रोसँग गति लिन नपाएको र जराको तलको खाद्य तत्व बगेर जाँदा राम्रो सुन्तला उत्पादन नभएको कार्यालय प्रमुख भट्टराई बताउनुहुन्छ ।

कोरोना भाइरस र खराब मौसमका कारण सुवेदीसँग जैमिनी नगरपालिकाका अन्य सुन्तला कृषकले पनि घाटा व्यहोर्नु परेको छ ।

जैमिनी नगरपालिकाका सुन्तला कृषकले अघिल्लो वर्ष ४५ टन सुन्तला बिक्री गरेका थिए । हुर्कदै गरेका सुन्तलाका बोटबाट फल्ने सुन्तलालाई ध्यानमा राखेर यो वर्ष ६० टन सुन्तला बिक्री गर्ने जैमिनीका सुन्तला कृषकको लक्ष्य थियो । यो वर्ष खराब मौसम र कोरोनाका कारणले जैमिनी नगरपालिकाबाट ५० टन मात्र सुन्तला बिक्री गरिएको जैमिनी सुन्तला ब्लकका अध्यक्ष खगेश्वर शर्मा सुवेदी बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *