काकाकुल पात्लेवासीको घर–घरमा धारो

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका १० पात्ले गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्याबाट गुज्रिएका थिए । तर, अहिले सबैको घर–घरमा खानेपानीको धारो निर्माण भएको छ ।

लामो समयसम्म घण्टौ लगाएर एक गाग्री पानी भर्न पालो पाउने गरेका स्थानीय अहिले सबैको घर घरको धारोमा पानी आउन थालेपछि दंग परेका छन् ।

भौगोलिक विकटता र खानेपानीको मुहान बस्ती भन्दा धेरै टाढा हुँदा पोखरी, कुवाको धमिलो पानी प्रयोग गर्न बाध्य थिए । अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घर–घरमा धारो निर्माण गरिदिए पछि स्थानीय उपभोक्ता यो समस्याबाट मुक्त भएका छन् ।

गाउँ भन्दा नजिक खानेपानीको मुहान नहुँदा वर्षौ देखि पोखरी र कुवाको फोहोर पानीलाई छानेर खानेपानी प्रयोग गर्दै आएको स्थानीय ८० वर्षीय मेहरसिंह थापाले बताउनुभयो । उहाँले एक गाग्री पानी ल्याउनका लागि दुई घण्टाको यात्रा गरेको अनुभव सुनाउनुभयो ।

‘यहाँ वरपर खानेपानीको मुहाननै छैन, बेस्सरी समस्या थियो, २/३ घण्टा लगाएर एक गाग्री पानी ल्याउन जानु पथ्र्यो,’ उहाँले भन्नुभयो ‘कहिले त पोखरी कुवाको धमिलो पानी रुमालले छानेर पनि खायौँ, अहिले त घरमा धारो बन्यो, अब त्यो समस्या नहोला ।’

दुई घण्टा लगाएर दर्लिङखोला पुगेर पानी बोक्नु पर्ने समस्या अब सदाका लागि हट्ने अपेक्षा स्थानीयको छ । ‘हामीले पिउने पानीको जोहोका लागि धेरै दुःख पायौँ,सानैदेखि घण्टौँको यात्रा गरेर पानी बोकेर जिवन धान्यौ,’ थापाले भन्नुभयो, ‘कतिसँग झै–झगडा पनि भयो, अब दुःखदका दिन फिरेको अनुभूति भएको छ, घर–घरमा धारा बने, अब सुविस्ता होला ।’

अर्का स्थानीय ८५ वर्षीय दलबहादुर रास्कोटीले वर्षौदेखिको खानेपानीको समस्या हटेकोमा खुसी व्यक्त गर्नुभयो । बारम्बार सम्बन्धित निकायमा माग गर्दा समेत सम्बोधन नभए पनि अहिले ढिलै भए पनि गाउँमा खानेपानी योजना परेको उहाँको भनाई छ ।

‘गाउँमा खानेपानीको समस्या भए पछि धेरै ठाउँ बिन्ती बिसायौँ तर पानी आउन सकेन, अहिले बल्ल घरमा धारोबाट पानी आउन लागेको छ,’ रास्कोटीले भन्नुभयो ‘अब पहिलेका दुःख कष्ट भोग्न पर्दैन की भन्ने आशा जागेको छ ।’

घण्टौ लागेर खाली खुट्टा पानी बोक्दा बिरामी समेत हुने गरेको र एक गाग्री पानीका लागि २/३ घण्टा भन्दा बढी लाइनमा पालो कुर्नु परेको उहाँको अनुभव छ ।

‘खाली खुट्टा पानी बोक्दा खुट्टा पाटेर बर्बाद, पोखरीको पानीमा भएको भ्यागुताहरु, हिलोहरु पन्छाएर पानी भर्नेे गथ्र्यौ,’ उहाँले भन्नुभयो ‘पानी सानो आउँथ्यो तैपनि पशुलाई चार मान खुवाएर पाल्थ्यौ, के गर्ने पानी थिएन, उता गुल्मी तिर जाँदा पनि पानी पाइएन, बडो मुश्किल थियो ।’

गाउँमा पानीको अभाव हुँदा रातको समयमा पनि पानी बोकेर उपभोग गरेको स्थानीय चन्द्रकला रास्कोटी सम्झनुहुन्छ । खानेपानी ल्याउने स्थान धेरै टाढा भएको र जंगल छिचोलेर जानु पर्ने हुँदा महिलाहरुलाई अझ बढी समस्या र सकस हुने गरेको उहाँले बताउनुभयो ।

‘खानेपानी ल्याउने ठाउँ टाढा थियो, जंगलको बाटो भएर जानु पथ्र्यो, दिन रात नभनी पानी बोक्नु पथ्र्यो, जंगलाको बाटो, आइमाई मान्छे धेरै गाह्रो हुन्थ्यो, त्यसरी पनि पानी बोकेर गुजारा चलाइयो,’ चन्द्रकला भन्नुहुन्छ ‘थुप्रै लाइन लागेर बिहान सबेरै उठेर जानथ्यौँ, लाइनमा बसेर घर आउनँदा १२ बज्थ्यो ।’

पानीको सहज पहुँच नहुँदा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने, सरसफाई गर्न र पशुचौपायलाई खुवान समेत मुस्किल हुने गरेको स्थानीयले गुनासो गर्दै आएका थिए ।

बडिगाड गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष बिरेन्द्र बुढा मगरले पात्ले गाउँसँगै यो वडाभरनै खानेपानीको समस्या भएको र क्रमशः परिपूर्ति गर्दै आइरहेको बताउनुभयो । लामो समयको प्रयास पछि पात्ले गाउँमा खानेपानी घर–घरमा पुगेको भन्दै अब वडाभर नै खानेपानीको पहुँच पु¥याउने अभियानमा रहेको उहाँको भनाई छ ।

‘खानेपानी नहुँदा यहाँका स्थानीयले धेरै समस्या भोगे, अब त्यो समस्या बिस्तारै हल हुँदैछ, गाउँमा पानी आयो, स्थानीय व्यवसयासँग जोडिनु पर्छ,’ उहाँले भन्नुभयो ‘यो गाउँ जस्तै अन्य गाउँमा पनि खानेपानीको समस्या छ, ति सबै गाउँमा समाधानको लागि हामीहरु लागि परेका छौँ ।’

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक बिनोद कोइरालाले यो ठाउँमा धेरै वर्षदेखि खानेपानीको चरम अभाव रहेकाले पालिका र वडाबाट माग गरिरहेकाले प्राथमिकतामा राखेर योजना सम्पन्न गरेको बताउनुभयो ।

२०७६ साउनदेखि सुरु भएको योजना ०७७ साउन महिनामै सम्पन्न भएको थियो । लकडाउनका कारण केही काम बाँकी रहेको हुँदा हालै मात्र उद्घाटन गरिएको छ ।

‘यो गाउँमा पानीको निकै समस्या रहेछ, वडा पालिकाबाट खानेपानीको माग भइराखेको थियो र हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर काम ग¥यौँ, एक वर्षमै स्थानीयको घर–घरमा धारो बनेको छ,’ उहाँले भन्नुभयो ‘अब पहिले जति दुःख भोग्नु परेको थियो, अब त्यस्तो सकस बेहोर्नु पर्ने छैन ।’

नेवाले निर्माण सुरु गरेको पात्ले झाँक्रीस्थान खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत गाउँमा २१ वटा धारा निर्माण भएका छन् । जसबाट पात्लेगाउँका २९ घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

यो योजनामा करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । आयोजनामा नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा) को साढे ३१ लाख, बडिगाड गाउँपालिकाको ३ लाख ८३ हजार र र स्थानीयको सवा १० लाख जनश्रमदान रहेको छ । पात्ले गाउँमा वडा नम्बर १० निगलपानीको मुहानबाट पानी ल्याएको हो । गाउँबाट आयोजनाको मुहान ६ किलोमिटर टाढा रहेको स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *