स्याबास ठेकेदार साप !

सम्पादकीय
ठेकेदार अर्थात् निर्माण व्यवसायी भन्न साथ अधिक नेपालीको दिमागमा नकरात्मक पात्र र परिदृश्य आउँदछ । कारण नेपाली समाजमा ठेकेदारहरुको कार्यशैली र भूुमिकाले जर्बजस्त त्यस्तै सोच्न बाध्य बनाउँदछ । यो केबल कुनै एक भूगोलमा मात्र सिमित छैन । देशभरका योजना, आयोजनाहरुको काम अलपत्र हुने, चरम लापरवाही र ढिलासुस्ती गर्ने, राज्य उनीहरुकै अगाडी निकम्मा देखिने परिपाटीले ठेकेदार भन्न साथ आम मानिसको मनमश्तिष्कमा नकरात्मक पात्र र परिदृश्य आउने मात्र होइन,तिब्र आक्रोश पनि उत्पन्न हुन्छ । एक दुई वर्षका योजना आयोजना पनि वर्षौसम्म नसकेर नागरिकले पाइरहेको सास्ती, राज्यको करोडौ बजेट माथिको अवैध दोहनको प्रवृत्ति निश्चय पनि आपत्तिजनक छ र त नागरिकको यस्ता पात्र र प्रवृत्ति प्रति सर्वत्र गुनासो र आक्रोश छ । यद्यपि, बागलुङ र पर्वतको एक साझा योजनामा भने ठेकेदार अर्थात् निर्माण कम्पनी र व्यवसायीले निर्धारित समय भन्दा १० महिना अगावै काम सकेर ७० हजार नगद पुरस्कार मात्रै पाएनन्, नागरिकका बीचमा वाहवाही नै प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल बनाउने सपना २०५८ सालको हो । त्यो सोच, आवश्यकता, कल्पना, सपना आज दुई दशक पछि विपनामा अनुवाद भएको छ । र करिब एक घण्टा पैदल यात्रामा लाग्ने बाटो अहिले १० मिनेटमै छोटिएको छ । असिन पसिन भएर उकाली ओराली गर्नुपर्ने, बल्लतल्ल पाइने सवारी साधनमा भाँडा तिरेर सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ । यो पुल अरु पुलहरु जस्तै केवल एक थान निर्माण भएर स्थानीयको सकस हट्ने मात्र होइन, धेरै फाइदा, सम्भावना र अवसर बोकेर आएको छ । कालीगण्डकी नदी माथि निर्माण गरिएको ५६७ मिटरको यो पुल सबै भन्दा लामो हो । यसअघि सिङ्गल स्पानमा नेपालमा ३ सय ६० मिटर भन्दा लामो थिएन । तर, बागलुङ पर्वत जोड्ने पुल निर्माणका लागि भित्राइएको चिनियाँ प्रविधि र यसक्रममा तयार नेपाली प्राविधिक जनशक्तिले अब देशभरमा यतिकै लामा पुल निर्माणमा मार्ग प्रशस्त गरेको छ । यस्तो नयाँ चूनौतीको पुल निर्माण गर्ने जिम्मा थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्सनले लिएको थियो । कम्पनीले कुल लागत रकममा २७ प्रतिशत छोडेर ६ करोड ९१ लाखमा ठेक्का लियो । यसले कम्पनीलाई आम्दानी हुनेमा धेरैले संशय प्रकट गर्छन्, स्वयम् निर्माण कम्पनीले दृढताका साथ काम गरेर सम्झौताको १० महिना अगावै काम सक्यो । र भन्यो– यस योजनाबाट लाखौ रकम घाटा बेहो¥यौ, तर पनि देशकै पहिलो पृथक काम भएकाले कम्पनी र आँफ्नो ‘गुडविल’का लागि काम गरेको बताइरहेको छ ।

जे होस्, त्यति कममा ठेक्का लिएर पनि निर्धारित समय अवधि भन्दा १० महिना अघि योजनाको काम सक्ने कार्य प्रशंसनीय हो । यसैकारण धौलागिरीवासीको वाहवाही त ठेकेदार कम्पनी र यसका नेतृत्वकर्ता नरहरी खड्काले पाइरहेकै थिए । उद्घाटन समारोहमा ७० हजार रुपैयाँको नगद पुरस्कार समेत प्राप्त गरेर ठेकेदार पनि पुरस्कृत हुँदारहेछन् भन्ने नेपाली समाजमा सन्देश पनि प्रवाह गरे । अरु ठेकेदारलाई पनि समयमै काम सके राज्य र यसका निकाय र नागरिकबाट स्याबासी पाइन्छ भन्ने मान्यता पनि स्थापित गरे । यो ठेकेदार व्यवसायको ठुलो पुँजी हो । यो नजिर, सत्प्रयास र उपलब्धिलाई भोलीका दिनमा पनि निरन्तरता दिन सकोस् । र राज्य या नागरिकले पनि ठेकेदार प्रतिको नकरात्मक धारणाहरु ठेकेदारहरुका कामले हट्ने बातावरण पैदा होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *