सिप सिकाउँदै, उद्यमी बनाउँदै घरेलु

आदर्श अनलाइन, बागलुङ
घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङले यस वर्ष १ सय २० महिला तथा पुरुषलाई उद्यमी बनाउन प्रयास थालेको छ ।

तालिम प्राप्त केहीले उद्यमनै शुरु गरिसकेका छन् भने केही तालिममै छन् । घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष तालिम दिने शैलीनै परिवर्तन गरेर सिप विकास तालिम दिन थालेपछि उद्यमी बनाउने अभियान प्रभावकारी बन्दै गएको छ ।

गत वर्ष महिला तथा पुरुषलाई सिधै तालिममा सहभागी गराउने हुनाले कतिपयले समय मात्रै खेर फाले त केही भत्ता प्रातिका लागि मात्रै तालिममा बस्ने गरेका थिए । तर, यसवर्ष घरेलुले तालिम मार्फत् उनीहरुको क्षमता पहिचान गर्दै उद्यमी बनाउने अभियान शुरु गरेको छ । यस आर्थिक वर्षमा १ सय २० जनालाई उद्यममा लगाउने कार्यालयको लक्ष्य अनुसार अहिले दोस्रो चरणको क्षमता पहिचान तालिम शुरु गरिएको छ ।

क्षमता पहिचान तालिमबाट सिलाई तथा कटाई उद्यमी बन्नका लागि दोस्रो चरणको तालिममा सहभागी बनेको रमुना नेपालीले बताउनुभयो । उहाँले तालिम पश्चात टेलरिङ व्यवसाय सञ्चालन गर्ने योजना सुनाउनुभयो । फेसन डिजाईनर तालिममा सहभागी उषा क्षत्री र ढाका बुनाई तालिममा सहभागी युवकला थापाले तालिम लगत्तै उद्यम सञ्चान गर्ने बताउनुभयो । पहिलो र दोस्रो चरणको तालिममा ७ जना पुरुषको सहभागिता छ ।

पहिलो चरणमा तालिम प्राप्त २५ जनाले आफ्नो क्षमता अनुसार विषयगत तालिम लिदै उद्यममा लाग्न थालिसकेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले बताउनुभयो । तालिममा सहभागीलाई १० दिनसम्म व्यवसायमा लाग्न उत्प्रेरणा दिने, अन्र्तनिहित क्षमता बाहिर ल्याउन सहयोग गर्ने र क्षमता अनुसार उद्यम बन्न सिकाउने गरिएको कार्यालय प्रमुख शर्माको भनाई छ ।

“दोस्रो चरणको १० दिने उद्यमशिलता विकास तालिम शुरु गरेका छौं, पहिलो चरणमा तालिममा सहभागीले आफ्नो क्षमता र ज्ञान अनुसार विषयगत तालिममा सहभागी भइरहेका छन्” शर्माले भन्नुभयो “गत वर्ष सोझै मोवाइल मर्मत, ढाका बुनाई, सिलाई कटाई तथा फेसन डिजाइनको तालिम दिइन्थ्यो, तर अहिले विषयगत तालिममा सहभागी पूर्व उनीहरुको क्षमता पहिचान गर्न १० दिने तालिम दिन थालिएको छ ।” क्षमता पहिचान गरी विषयगत तालिम दिदाँ उनीहरुको इच्छा, भावना, ज्ञान र क्षमता अनुसार हुने र उद्यमी बन्न महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको अपेक्षा छ ।

यस्तो तालिममा अहिलेसम्म ५० जना सहभागी भइसकेका छन् । जसमध्ये २५ जना विषयगत तालिममा र २५ जना क्षमता पहिचान तालिममा सहभागी रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । क्षमता पहिचान तालिम सके पछि केही महिलाहरु सिलाई बुनाई, कटिङ, फेसन डिजाइनर तथा ढाका बुनाईमा अभिप्रेरित भएका छन् भने पुरुषहरु मोवाइल मर्मत तालिममा सहभागी भइरहेका छन् ।

जर्बजस्ती तालिम सञ्चालन गर्दा औपचारिकतामा मात्रै सिमित भएका कारण क्षमता पहिचान पश्चात तालिम र उद्यमशीलतामा लगाउन थालिएको छ । क्षमता पहिचान पछि दोस्रो तालिममा सहभागी २१ जना महिला मध्ये केहीले फेसन डिजाइन, केहीलाई सिलाइ बुनाई तथा कटाई र केहीले ढाका बुनाई तर्फ अग्रसर गराइएको छ । उनीहरुको क्षमता, गर्न सक्ने लगानी लगायतका आधारमा उद्यम गर्न प्रेरित गरिनेछ ।

क्षमता पहिचान तालिम पछि विषयगत रुपमा सिप विकास तालिम दिएपछि उद्यमशिलता गर्न उनिहरुलाई कार्यालयले उत्प्रेरित गर्नेछ । तालिम प्राप्त महिला तथा पुरुषले सिकेको तालिम अनुसार उदम दर्तानै गरेर चलाउन थालेको खण्डमा औजार समेत अनुदानमा दिइनेछ ।

यो वर्ष घरेलु तथा साना उद्योग विकास कार्यालयमा क्षमता पहिचान तथा सीप विकास तालिम प्रदान गरी उद्यममा लगाउनका लागि रु. ७ लाख २० हजार बजेट रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । दोस्रो चरणको क्षमता पहिचान तालिमको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जनकराज पौडेलले आफ्नो भित्रि क्षमतालाई निरन्तर प्रयास पछि मात्रै सफल उद्यमी बन्न सकीने बताउनुभयो । तालिममा कार्यालय प्रमुख शर्मा, उद्यम विकास सहज कर्ता, बैकर्स तथा सफल व्यवसायहीहरुले तालिममा सहजीकरण गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *